ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), साउन २० गते । पवित्र कालीगण्डकी र रघुगङ्गा नदीको किनारमा विशाल चक्रशिलामाथि अवस्थित गलेश्वरधाम पछिल्लो एक दशकयता धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । बेनी नगरपालिका अन्तर्गत नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि शिवालय मन्दिर, स्वयम्भू ज्योर्तिलिङ्ग शालिग्राम, जलवराह कुण्डको दर्शन र अवलोकन गर्न सकिने भएकाले गलेश्वरधाम धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको हो ।
साउन महिनाको प्रत्येक सोमबार, बालचर्तुदशी र महाशिवरात्रिका दिनमा गलेश्वर शिवालयको दर्शन गर्ने भक्तजनको भिड लाग्ने गर्दछ । अन्य दिनमा पनि दर्शनका लागि यहाँ उल्लेख्य मात्रामा भक्तजन आउने गर्छन् । साउन महिनाको प्रत्येक सोमबार भक्तजनको भिड लाग्ने गरेको छ । विभिन्न स्थानबाट भजनकीर्तनसहित भक्तजन पूजाआराधनाका लागि गलेश्वर शिवालयमा आउने गरेका छन् ।
साउन महिनाभरिका हरेक सोमबार हजारौँ भक्तजनले गलेश्वर शिवालयको दर्शन गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । साउन महिनाको प्रत्येक सोमबारका दिन यहाँ गलेश्वर शिवालय र तातोपानी कुण्ड व्यवस्थापनको सहयोगमा दिव्य आरती पूजासमेत हुने गरेको छ ।
गलेश्वरधामस्थित शिवालय मन्दिरको दर्शन र पूजाआजाका लागि भारतीय धार्मिक पर्यटकको समेत पछिल्लो समय वृद्धि हुन थालेको हो । मुक्तिनाथ दर्शनका लागि आएका भारतीय भक्तजन अधिकांशले गलेश्वरको दर्शन र पूजाआजा गर्ने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले बताउनुभयो । गलेश्वरमा १०८ शिवलिङ्ग र ऋषिमुनिले तपस्या गरेको गुफा पनि गलेश्वरको अर्को आकर्षण हो ।