रवीन्द्र उप्रेती
बर्दीबास, साउन १९ गते । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबासले ठुलो परिमाणमा त्यारी गाँजासहित ट्रक र यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा ब्युरो प्रमुख प्रनानी सरोज अधिकारीको कमाण्डमा खटि गएको टोलीले बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको ना.६ ख २९१९ नम्बरको ट्रकलाई रामगोपालपुर ५ स्थित बजार चौकमा आइतबार साँझपख चेकजाँच गर्दा ४६५ किलो गाँजा बरामद भएको हो ।
बर्दिबास जलेश्वर सडक खण्ड आसपासका क्षेत्रमा गाँजा तस्करको चलखेल बढेको सूचनाको आधारमा रामगोपालपुर प्रहरीको सहयोगमा तलासी लिँदा ट्रकभित्र सेतो बोरा र रातो प्लास्टिकमा बेरेर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको ब्युरो प्रमुख अधिकारीले जनाउनुभयो ।
गाँजासाहित पक्राउ परेका मकवानपुर राक्सिराङ गाउँपालिका ५ का २६ वर्षीय ट्रक चालक मानबहादुर मुक्तानलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको बर्दीबासस्थित ब्युरोले जनाएको छ ।