• २० साउन २०८२, मङ्गलबार

अवरुद्ध कर्णाली कोरिडोर खुल्यो

blog

अवरुद्ध कर्णाली कोरिडोर हुम्लाको खच्चा खण्ड सञ्चालनमा आएपछि सिमकोटतर्फ जाँदै नेपालगन्जबाट आएका मालवाहक ट्रक । तस्बिर : मोहनसिंह बुढा

चङ्खेली समाचारदाता

हुम्ला, साउन २० गते । अविरल वर्षाका कारण अवरुद्ध हुम्लाको सर्केगाड गाउँपालिका–१ अन्तर्गत कर्णाली कोरिडोरको खच्चा सडक सञ्चालनमा आएको छ । खच्चा सडकमा माथिबाट खसेको पहिरो एक्साभेटरले फालेपछि सञ्चालनमा आएको हो ।

पहिरो खसेर अवरुद्ध भएको खच्चामा एक्साभेटर तयारी अवस्थामा राखिएकाले समयमै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले बताउनुभयो । अवरुद्ध खच्चा सडकखण्ड सञ्चालनमा आएपछि दुवैतर्फका सवारीसाधन आउजाउ गर्न पाएका छन् । आइतबारदेखि अवरुद्ध भएको सडक डोजर ल्याएर पहिरो पन्छाएपछि नेपालगन्ज सुर्खेतबाट आएका र सिमकोटबाट आएका सवारीसाधनसँगै यात्रु सोमबार गन्तव्यमा लागेका छन् । वर्षाले सडक अवरुद्ध हुँदा जिल्लाबाहिरबाट सदरमुकाम सिमकोटसहित आसपासमा भित्रिने तथा बाहिरिने मालवाहक ट्रक, बोलेरो जिपलगायत अन्य सवारीसाधन रोकिएका थिए । सोमबार दिउँसो सडकखण्ड सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ ।

सो सडक अवरुद्ध भएको खच्चामा एक मात्र होटेल भएकाले यात्रुलाई आइतबार निकै सास्ती भोग्नु परेको स्थानीय जैरका राजबहादुर बुमीले बताउनुभयो । सो क्षेत्रमा सवारीसाधन र मानिस बसिरहँदा माथिबाट पहिरो खस्ने होकी भन्ने चिन्ताले आफूलाई सताएको थियो सडक सञ्चालनमा आएपछि निर्धक्क भएर यात्रा गर्न पाउँदा आफूहरू खुसी भएको बताउनुभयो । 

खच्चा सडकखण्ड क्षेत्रमा हरेक वर्ष वर्षायाममा पहिरो जाने र हिउँदयाममा सुक्खा पहिरो गइरहने गरेको छ । वर्षाको समयबाहेक पनि सुक्खा पहिरोले सडक अवरुद्ध हुने गरेको छ । यसले गर्दा सवारीसाधन आउजाउमा समेत समस्या हुने गरेको छ । हरेक वर्ष अवरुद्ध हुँदै आएको सडक मर्मतमा बेवास्ता हुँदा हुम्ला, मुगु र बाजुरा गरी तीन जिल्लाका यात्रु मर्कामा पर्ने गरेका छन् । जमुनाह–हिल्सा जोड्ने कर्णाली कोरिडोर अन्तर्गतको खच्चा सडकखण्डको वैकल्पिक सडक नहुँदा सवारीसाधन मात्रै नभएर यात्रुलेसमेत यस खण्डमा समस्या झल्दै आउनु परेको यात्रुको भनाइ छ ।