• ११ वैशाख २०८१, मङ्गलबार

धनगढीको नीति तथा कार्यक्रम

‘हाम्रो धनगढी हामी बनाउँछौं’

blog

अविनाश चौधरी

धनगढी, असार ८ गते । धनगढी उपमहानगरपालिकाले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने नीति अवलम्बन गर्नेभएको छ । सो उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० बाट ‘हाम्रो धनगढी हामी बनाउँछौं’, नीतिलाई अभियानकै रुपमा अगाडि बढाउने नीति अवलम्बन गर्न लागिएको हो । 

धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै नगरप्रमुख गोपाल हमालले हाम्रो धनगढी हामी बनाउँछौं नीतिलाई महान अभियानकै रुपमा अगाडि बढाउने बताउनुभयो । 

धनगढी उपमहानगरपालिकाले नगरको एकीकृत, सन्तुलित, दिगो एवम् योजनाबद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैङ्गिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थानीयकरणसहितको पहिलो पञ्चवर्षीय योजना तजुर्मा गरी कार्यान्वयन गर्ने भएको छ । 

जनस्वास्थ्य, सरसफाई तथा मानव सामथ्र्य विस्तार, कृषि तथा पशुपंक्षीको उत्पादन र उत्पादकत्वमा वृद्धि, बजारीकरण र व्यवसायीकरण गर्ने कार्यलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

यसैगरी, गुणस्तीय शिक्षा, खेलकुद तथा रोजगारी, फलदायी दिगो र सन्तुलित विकास, सुशासन, भाषा, कला, सँस्कृति संरक्षण र स्वरोजगारलगायत कार्यलाई धनगढी उपमहानगरपालिकाले अगाडि बढाने निर्णय गरेको छ । 

आगामी आर्थिक वर्षबाट नगरमा पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगर क्षेत्रभित्रका सडकलगायतका पूर्वाधारको नियमित मर्मत सम्भार तथा स्तरोन्नतिका लागि मर्मतसम्भार एकाइको गठन गरी पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने नगरप्रमुख हमालले बताउनुभयो । 

धनगढी उपमहानगरपालिकाभित्र अबको आर्थिक वर्षबाट बन्ने रणनीतिक सडकलाई ट्राफिक चाप धान्न सक्ने र साइकल ट्रयाकसहितको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी नगरका मुख्य चोकहरुमा आधुनिक ट्राफिकलाइट जडान गरिने व्यवस्था गरिएको छ । 

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षबाट कालोपत्रे सडकको काम उपभोक्ता समितिमार्फत गराउने व्यवस्थालाई खारेज गरेको छ । सडक कालोपत्रेको काम ठेक्कामार्फत मात्रै गरिने नीति अवलम्बन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

यसैगरी, उपमहानगरपालिकाभित्र सरकारी, सार्वजनिक तथा पर्ती जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाइ सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिइने जनाइएको छ । सार्वजनिक जग्गामा सार्वजनिक शौचालय, हरियालीसहितको क्याफ्टेरिया, पार्किङस्थल, बालमैत्री उद्यान, योगपार्क, ध्यान केन्द्र तथा ज्येष्ठ नागरिकमैत्री पार्कहरु निर्माण गरिने नीति तथा कार्यक्रममा चर्चा गरिएको छ । 

एडीबी लगायत विकास निर्माण साझेदार निकायको साझेदारीमा विकास आयोजना सञ्चालन गरिने जनाइएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिकाको सन्तुलित, दिगो र समतामूलक विकासका लागि नविनतम् उपायको खोज, अन्वेषण गर्ने अभिप्रायले शोध तथा अनुसन्धान कार्यलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । 

योजनावद्धरुपमा अगाडि बढ्न वैज्ञानिक, अर्थशास्त्री, समाजशास्त्री, मानवशास्त्री तथा भाषिक प्राज्ञसहितको विज्ञ समूह गठन गरिने नीति तथा कार्यक्रममा व्यवस्था छ । नगरप्रमुख हमालले नगर सभामा प्रस्तुत गर्नुभएको सो नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।