गोविन्द शर्मा
बाँके, साउन १९ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट डुडुवा गाउँपालिका जोड्ने राप्ती नदीको पिप्रहवाघाटमा स्थानीय बासिन्दाले तत्कालै पुल निर्माणको काम सुरु हुन्छ भन्ने आश्वासन पाएको पाँच दशक बितिसकेको छ ।
सरकारका मन्त्री, सांसद र राजनीतिक नेतृत्वबाट पाएको आश्वासन अहिलेसम्म पनि पुरा हुन सकेको छैन । स्थानीय बासिन्दाहरु दैनिक डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
उमेरले ६ दशक पुग्न लाग्नुभएका राप्तीसोनारी ७ का दुर्गाप्रसाद पाण्डेले राप्ती नदीको पिप्रहवाघाटमा पुल निर्माणका लागि आश्वासन पाउन थालेको पाँच दशक पुग्न थाल्यो । यो बिचमा पटक–पटक डुङ्गा दुर्घटना भई स्थानीयले ज्यान गुमाएको घटना आफ्नै अगाडी देख्नुभएको छ ।
पाण्डेका अनुसार पिप्रहवाघाटमा करिब चार दशकअघि धेरैजनाको ज्यान जाने गरि डुङ्गा दुर्घटना भएको थियो । करिब एकसयजना सवार डुङ्गा दुर्घटनामा परेकोमा धेरैजनाको निधन तथा बेपत्ता भएको पाण्डेले स्मरण गर्नुभयो ।
नजिकै पुल नभएपछि ज्यान जोखिममा भएपनि डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको छ , स्थानीयबासिन्दा पाण्डेले भन्नुभयो, ‘ सरकारबाट अहिलेसम्म आश्वासन बाहेक अरु केही पाउन सकेका छैनौं । ’
यो ठाउँमा २०५० सालतिर पनि डुङ्गा दुर्घटना भएको धेरैले सम्झेका छन् । गत वर्ष शुक्रबारे मेलामा जानेक्रममा डुङ्गा दुर्घटना भएपनि नदीमा पानी कम भएकाले मानवीय क्षति हुन नपाएको राप्तीसोनारी ७ का रसुद महमुद साईले बताउनुभयो ।
राप्तीनदीमा पुल भएको स्थान सिधनियाबाट भन्दा दक्षिणतर्फ पिप्रहवासहित बालोपुरवा र सत्तीघाटमा समेत डुङ्गामार्फत आवागमन हुने गरेको छ । राप्तीसोनारी र नरैनापुरका किसानको डुडुवातर्फ खेती भएकाले अधिकाँशले नदी पार गर्नुपर्ने हुन्छ । अर्कोतर्फ सीमापारी भारतीय बजार र सदरमुकाम नेपालगञ्ज पुग्न छिटो हुने भएकाले मानिसहरु डुङ्गको प्रयोग गर्ने गरेका छन् ।
बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य सुर्य ढकालले सो स्थानमा पक्कि पुलको आवश्यकता भएको भन्दै पुल निर्माणका लागि सम्वद्ध मन्त्रालयमा पहल गरिरहेको बताउनुभयो ।