साझा प्रकाशनबाट प्रकाशित ‘अंग्रेजी नेपाली साझा संक्षिप्तकोश’ (विसं २०६७, आठौँ संस्करण) मा नरेन्द्रमणि आचार्य दीक्षितले पाठकलाई आचार्य, उपाचार्य, पढैया, पढन्ते, वाचक, संशोधक वा अध्यापकको श्रेणी आदि भनेर पाठक मस्तिष्कको ‘न्यारेटिभ’ तयार गर्नुभएको छ । भाषाशास्त्री महानन्द सापकोटाले पनि आफ्नो व्युत्पत्तिमूलक कृति ‘नेपाली शब्द परिचय’ (२०३४) मा पाठकबारे वाचक, पाठकनी आदि विशेषण गरेको देखिन्छ ।
साहित्य, संस्कृति, इतिहास, अन्वेषण, ज्ञान–विज्ञान वा अन्य जुनसुकै बौद्धिक विषयका पाठक छन्; हाम्रो समाजमा । चाहे तिनले कविताको सुदूर अर्थ परख गरून् वा अन्य कुनै विषयवस्तुमाथि आफ्नो सूक्ष्म ‘अब्जर्भर’ को चेत उद्घाटन किन नगरून् । बुद्धिवादी चिन्तनको धरातलमा पाठकसत्ताको अपरिहार्य उपस्थिति रहेको देखिन्छ ।
भारतीय नेपाली साहित्यका प्रखर आलोचक प्राध्यापक कृष्णराज घतानीले सन् २०१५ मा प्रकाशित आफ्नो कृति ‘आधार अनि अवधारणा’ मा पाठकबारे गर्नुभएको टिप्पणी सान्दर्भिक लागेर यहाँ प्रस्तुत गरिएको छ ।
“कसैले लेखेका कविता ‘कविता’ हो ? वा कसले लेखेको कविता ‘कविता’ होइन भन्ने साँचो न्यायाधीश कविताका साँचो सहृदयी पाठक हुन्, आजको सन्दर्भमा कवितानुरागी पाठकले नै कवितालाई बुझ्ने हुन् । कवितालाई परख गर्ने कविताका साँचो पाठक उनै हुन्; जसले कविमनका कुरालाई सर्वदृष्टिबाट पर्गेल्ने क्षमता राखेको हुन्छ । कवि र कविताभन्दा बलियो भएर अग्रसर हुनुपर्ने आजको युगमा कविता–पाठकको अपेक्षा बढी छ । कविताको साँचो समालोचक कविता–पाठक नै हो भन्नमा कुनै संशय छैन ।”
यो नीतिगतता कविताका सन्दर्भमा मात्र लागु हुने होइन; अन्य विधा, विषय र क्षेत्रहरूमा पनि उठाउन सकिन्छ । पाठकले पाठकीय चेतको एक आदर्श मर्यादा कुशलतापूर्वक निर्वाह गर्नु पर्छ; कुनै शक्तिशाली सर्जकले जस्तै । सन् १९५१ ताका दार्जिलिङबाट प्रकाशित हुने गरेको ‘भारती’ मा रूपनारायण सिन्हा र पारसमणि प्रधानले पाठकचेतना र तिनका जिज्ञासामाथि अभिरुचिपूर्वक ‘नोटिस’ गरिएका प्रसङ्गहरू दोहो¥याउनुभएको सन्दर्भ स्मरणीय छ । यी विराट् स्रष्टाले पाठक तहलाई ‘रेस्पोन्स’ गरिएका ‘डिस्कोर्स’ हरू कम रोचक छैनन् ।
पाठकलाई कुनै ‘आग्रही मान्यता’ राख्ने छुट हुँदैन । पाठक निर्वहणको दायित्व ‘सर्फेसियल अब्जर्भेसन’ को ‘पर्फर्म’ मात्र होइन; त्यसो कदाचित् हुनु हुँदैन पनि । नरेन्द्रमणि आचार्य दीक्षितले ठहर गरे जस्तै यो पाठक भनेको एक ‘महान् आचार्य’ हो, एक ‘अद्वितीय अध्यापक’ । त्यसैले उपर्युक्त प्रकारका यी विशिष्ट जिम्मेवारी वहन गर्ने पाठक वर्गलाई ‘मधुपर्क’ जस्तो प्रतिष्ठित संस्थाले लरतरो खुराक पस्किनु न्यायोचित हुँदैन ।
ज्याक डेरिडाले त्यसै भनेका होइनन्, लेखकको अन्त्य भएपछि पाठकको उदय हुन्छ । त्यो कस्तो पाठक हो; जसको उदयमा एउटा बृहत्तर लेखक समुदाय गौरव गर्छ । कुनै समय साहित्यका विविध खुराकहरूको अवलोकन, परीक्षण र अन्तश्चेतमा प्रवेश गर्न, सँगसँगै पाठकीय चेत बोध गर्न डा. ईश्वर बराल, रामकृष्ण शर्मा, यदुनाथ खनाल, केशवप्रसाद उपाध्याय, डा. ताना शर्मा, कृष्णचन्द्रसिंह प्रधान, वल्लभमणि दाहाल, बालकृष्ण पोखरेल, चूडामणि वन्धु, कमल दीक्षित जस्ता निरीक्षक चरित्रताहरूको क्षमताबाट ‘यो पाठकचेत’ तीव्र रूपमा विकास हुन थालेको हो भन्नु पर्दा कुनै अतिशयोक्ति हुने छैन ।
इन्द्रबहादुर राईका ‘ध्वनिहरू’ को गम्भीर अवलोकनबाट घतानीजीले पनि भन्नु परेको हो । “हामी इन्द्रबहादुर राईका युगमा बाँचेका छौँ, प्रकारान्तर धेरै बौद्धिक चिन्तनहरूमा । त्यस्तो बौद्धिक तीव्रचिन्तन, त्यस्तो पारदर्शी दृष्टिकोण; जसले जीवन र जगत्, मनोलोक र समयलीला सबै बुझेका छन्; तिनका पारदर्शी अन्तर्दृष्टिले । लाग्छ– इन्द्रबहादुर राई आफ्ना युगका साहित्यिक साक्षी पनि हुन् । नवीन नवीन दिशादृष्टि, प्रयोग र मान्यताका मौलिक हस्ती पनि ।” (आधार अनि अवधारणा पृष्ठ–९) ।
नेपालबाहिरबाट ‘सुन्दरी’ (विसं १९६३), ‘माधवी’ (विसं १९६५), ‘चन्द्र र चन्द्रिका’ (विसं १९७४), ‘जन्मभूमि’ (विसं १९७९), ‘गोर्खा सन्सार’ (विसं १९८३), ‘तरुण गोर्खा’ (विसं १९८५) र ‘नेपाली साहित्य सम्मेलन पत्रिका’ (विसं १९८८) प्रकाशन भइसकेका थिए । नेपालमा चाहिँ विसं १९९१ माघदेखि ‘शारदा’ को प्रकाशन आरम्भ हुन्छ । यसै ‘शारदा’ को पाठक हुन पाएकोमा २०२२–२०२३ तिर त्रिभुवन विश्वविद्यालयको छात्रावासमा रहेका बेला कृष्ण गौतमले गर्नुभएको गर्वबोध कम उत्साहजनक छैन । ‘शारदा’ ले पस्केका त्यसकालका खुराकहरू खुबै लाभदायक रहेको स्विकारिन्छ पनि । ‘शारदा’ पछि देखा परेका ‘रत्नश्री’, ‘रूपरेखा’, ‘मुकुट’, ‘भानु’, ‘रचना’, ‘अभिव्यक्ति’, ‘धर्ती’, ‘प्रगति’ आदिले लेखकको प्रवर्धन गर्न झनै ठुलो भूमिका निर्वाह गरेका छन् ।
गोरखापत्र संस्थानबाट उदय भएको ‘मधुपर्क’ ले सबै ती निजी प्रयासबाट निस्कने गरेका साहित्यिक पत्रिकाहरूको बोझ थाम्ने चेष्टा गरेको छ । सुब्बा ऋद्धिबहादुर मल्लले ‘शारदा’ प्रारम्भ गर्दाताका ६५० को सङ्ख्यामा रहेका स्रष्टा सर्जकहरूलाई धान्नुपर्ने स्थिति थियो भने अहिले छ हजारभन्दा बढीलाई यसै ‘मधुपर्क’ ले धान्नुपर्ने स्थिति छ । अझ नेपालबाहिर जानुपर्दा त्यो सङ्ख्या वृद्धि हुने निश्चित छ । दार्जिलिङबाट पारसमणि प्रधानको सम्पादनमा विसं २००६ असारदेखि विसं २०१७ जेठसम्म प्रकाशित भएको ‘भारती’ ले भारतीय नेपाली साहित्यकारका अतिरिक्त नेपालभित्र रहेका नेपाली साहित्यकारहरूलाई पनि उत्तिकै प्रकाशन प्रवर्धन गरेको देखिन्छ ।
यसरी ‘मधुपर्क’ एक्लैले हजारौँहजार स्रष्टा र ठुलो सङ्ख्यामा फैलिएका पाठकलाई समेत धान्नुपर्ने स्थिति कम चुनौतीपूर्ण छैन । नेपाली साहित्यको उन्नयन र प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याएका ‘धर्ती’, ‘प्रगति’, ‘रत्नश्री’, ‘रूपरेखा’, ‘जुही’, ‘भानु’, ‘मुकुट’, ‘हाम्रो पुरुषार्थ’ (गुल्मी), ‘प्राङ्कण’ (पोखरा), ‘कल्पना’ (धरान), आदि बन्द भइसकेका छन् । ‘रचना’, ‘अभिव्यक्ति’, ‘हिमाली सौगात’ अझै नियमित छन् । यिनै पङ्क्तिमा रहेका ‘दायित्व’, ‘आलेख’, ‘वैजयन्ती’, ‘शब्दसंयोजन’, ‘कल्पतरू’, ‘जनमत’, ‘सुलेख’, ‘तन्नेरी’ जस्ता साहित्यिक पत्रिकाहरूले आफ्नो श्वासप्रश्वासको धड्कन देखाउने कार्य जारी राखेकै छन् । नेपाल राष्ट्र बैङ्कबाट निस्किने गरेको ‘मिर्मिरे’, कृषि विकास बैङ्कबाट निस्किने गरेको ‘समष्टि’, राष्ट्रिय वाणिज्य बैङ्कबाट निस्किने गरेको ‘उपहार’ र साझा प्रकाशनबाट निस्किने गरेको ‘गरिमा’ समेत लेखक÷पाठकबाट ओझेल हुन थालेको सन्दर्भ कम दुःखलाग्दो छैन । यस्तो स्थितिमा गोरखापत्र संस्थानको आफ्नो स्रोत र साधनबाट प्रकाशनमा आइरहेको ‘मधुपर्क’ माथि मन बिसाउनुपर्ने हुन्छ ।
लेखक सार्वजनिक भइरहँदै गर्दा पाठक पाश्र्वमै रहेको हुन सक्छ । लेखक र पाठकका बिच प्रत्यक्ष संवाद नहुँदा पनि परस्पर सुषुप्त तहमा अन्योन्याश्रित नाता गाँसिएको देखिन्छ । पाठक अनेक चरणमा रहेको हुन्छ । ख्यातिप्राप्त सर्जकभित्र रहेको कुनै पाठकमनलाई कविवर माधव घिमिरेको निम्न टिप्पणीले प्रतिनिधित्व गरेको छ; जसलाई मनन गर्ने हो भने ‘साइलेन्ट पाठक’ यसरी जागेको देखिन्छ ।
“त्यो बेला साहित्यको आराधना गर्नु पनि शासकवर्गप्रति अपराध गर्नु जस्तो मानिन्थ्यो । यस्तो बेलामा पनि सुब्बा ऋद्धिबहादुर मल्लले साहित्यको उन्नतिका निम्ति मुख्य रूपले दुई काम गरे । एक त स्वयम् नै साधनारत रहेर बङ्ला साहित्यबाट उत्तम उपन्यासहरूको अनुवाद गरे । यसबाट पाठक र लेखकमा पनि साहित्यप्रति उत्तम सुरुचि उत्पन्न गरे । दोस्रो काम उनले शारदा पत्रिका प्रकाशन गरे । शुद्ध भाषा र विशुद्ध साहित्य–सामग्री यसका विशेषता रहे । यस साहित्यिक पत्रिकाले कवि लेखकहरूका निम्ति आफू फुल्ने फल्ने फूलबारीको काम ग¥यो । नेपाली साहित्यका आधुनिक कालका र खास गरी सात सालपूर्वका जम्मैजसो कवि–लेखकहरू यही फूलबारीबाटै बाहिर प्रकट भए । त्यसैले नेपाली साहित्यको एक कालखण्डलाई ‘शारदाकाल’ भनिन्छ । यस्तो ऐतिहासिक कार्यका प्रेरक ऋद्धिलाई म त नेपाली साहित्यको समृद्धिका प्रतीक मान्दछु ।” (उनलाई ऋद्धि भनूँ कि नेपाली साहित्यको समृद्धि भनूँः, माधव घिमिरे ‘उन्नयन’ २०५४ श्रावण–पौष, अङ्क २५ पृष्ठ ३३३) ।
माधव घिमिरेले शारदाको प्रकाशन, औचित्य, आँट र सुब्बा ऋद्धिबहादुर मल्लले देखाएको साहित्यिक सांस्कृतिक निष्ठामाथि जुन पाठक चेतनाको दृष्टान्त प्रकट गर्नुभएको छ; इतिहास निर्माणमा यसलाई सामान्य घटना मान्न सकिन्न । त्यसै गरी डा. माधवप्रसाद पोखरेलले ‘शारदा’ को पहिलो सम्पादकीयमा गर्नुभएको पाठकचेत सुब्बा ऋद्धिबहादुर मल्लकै भाषाप्रेमको गहिरो अनुरागवरिपरि केन्द्रित छ ।
सुब्बा ऋद्धिबहादुर मल्लले ‘शारदा’ प्रकाशन गर्ने क्रमसँगसँगै विचार (मन्तव्य) पक्षमाथि जोड दिँदै भाषिक शुद्धता, शैली, शिल्प र स्तर कायम राख्न उत्तिकै सजगता राख्नुपर्ने उहाँको ठहर वर्तमान युगभन्दा बढी वैज्ञानिक थियो । घिमिरे र पोखरेलका यी प्रसङ्गको जिकिर किन गर्नु परेको हो भने दुवै, यी कवि र भाषाविद्को सूक्ष्मचेतमा रहेको पाठकबोध, ‘मधुपर्क’ को सञ्चेतनाले बोध वा महसुस गर्नु पर्छ भन्ने हो ।
‘मधुपर्क’ नेपाल राष्ट्रका नेपाली साहित्यिकीको मात्र ‘बौद्धिक खुराक’ नभई भारतीय नेपाली साहित्यिकी वा एनआरएन साहित्यिकीको समेत ‘अध्ययन सामग्री’ हो । ‘मधुपर्क’ को ‘सम्पादकीय टिम’ कति बलियो छ; टिमका सदस्यहरू कति स्वायत्त छन्; सीमा र दायित्वको बन्धन कस्तो छ– ती सबैमा भर गर्छ ‘मधुपर्क’ लाई मधुपर्क बनाउन । ‘शारदा’, ‘रूपरेखा’, ‘रचना’, ‘अभिव्यक्ति’, ‘रत्नश्री’ र दार्जिलिङको ‘भारती’ ले लेखक जमात जन्माए जस्तै ‘मधुपर्क’ ले असङ्ख्य लेखक–पाठक जन्माएको हुँदा यसप्रति राखिने अपेक्षा र त्यहाँबाट निर्वाह गरिनुपर्ने दायित्व अत्यन्त संवेदनशील रहेको स्विकार्नै पर्छ ।
लेखक कमजोर देखिँदा पाठकबोध कमजोर हुन्छ, हुनै पर्छ भन्ने छैन । पाठकसित एक भिन्न अर्जुनदृष्टि रहेको हुन्छ, त्यसैले ऊ शक्तिशाली सचेतक मानिन्छ । उसभित्र रहेको तीव्र दृष्टिले सर्जककृत्यमाथि अनुसन्धान गर्छ, पाठकस्वरूपताको ‘स्वान्त रहस्य’ प्रकट गर्छ । त्यसैले ऊ सर्जक सञ्चारसित ‘पाठकमैत्री’ को हकदार पनि हो ।
साहित्यिक सङ्घ संस्था, पत्रिका समूह र विशेष सर्जकव्यष्टिबाट ‘पाठक’ लाई ‘न्यून तह’ आकलन गर्न मिल्दैन । यो पाठक प्रायः सधैँ मौन रहन्छ । उसको मौनता ‘भुसको आगो’ सरह हुन्छ ।
यसबेला बजारमा सार्वजनिकी हुने गरेका पत्रपत्रिकाले प्रायः ‘सम्पादकीय चेत नहुनुको रुग्ण पार्थिव स्वरूपता’ मात्र पस्कने गरेका छन् । वजनदार सम्पादकीयको झन्डै खडेरी पर्न थालेको देखिन्छ । अझ कतिपयले सम्पादकीय (सम्पादकीय मन्तव्य ?) बिना पत्रिका प्रकाशन गरेका छन् । जो सम्पादक हुनुको ओज र गरिमाले युक्त छन्; तिनलाई मैले यहाँ मानमर्दन गर्ने धृष्टता गरेको होइन । धेरै जसो कथित सम्पादकका कुर्सीमा बसेकाहरू ‘रचना सङ्कलक’ भएर रहेको बोध गरेको छु । सम्पादकलाई न्यायाधीशका आसनमा राखेर हेरिने हुँदा लेखक र पाठक दुवैतर्फ न्याय सञ्चार गर्नुपर्ने हुन्छ, यी महोदयले ।
भनिन्छ, लेखक ‘अराजक आकृति’ हो । उसको अराजकताले शासन र सत्ताको ताबेदारी गर्दैन । शासकले थोपरेको कठोरभन्दा कठोर परिस्थिति र समाजमा व्याप्त विसङ्गतिविरुद्ध ‘जेहाद’ छेड्ने ‘नायक पात्र’ त्यही अराजक भनिएको लेखक हो; उसको क्रान्तिकारी सार हो । यो अराजक निःसृत ‘आदमफल’ उत्कृष्ट हुँदैन भन्ने होइन । र यो फलाहार गर्ने पाठक पनि अराजक हुन्छ, विप्लवी हुन्छ । उसको विप्लवी चेतनामा ‘रचना सत्ता’ कति दीर्घायु हुन पाउँछ, त्यो चाहिँ महत्वपूर्ण सवाल हो ।
लेखकले जस्तै सम्पादकले कुनै नवीन सन्देश ‘ऐलान’ गर्ने क्षमता राखेको हुन्छ । लेखक आफ्नो कृति रचनामा आफूलाई अभिव्यक्तीकरण गर्न सहज हुन्छ । सम्पादक चाहिँ सङ्गठक पनि भएको हुँदा उसको विशेष सन्देश ‘सम्पादकीय कुनो’ ले प्रवाह गर्छ । त्यो ‘सम्पादकीय कुनो’ उसको नीति, योजना, कार्यक्रम, विचार, दर्शन वा सैद्धान्तिकी प्रक्षेपण गर्ने थलो हो । त्यसैले जुनसुकै पत्रिका वा पत्रमञ्च कति वजनदार छ भन्ने कुरा त्यहाँ प्रयुक्त ‘वैचारिकी’ बाट स्पष्ट हुन्छ ।
प्रसंगवश संस्थागत साहित्यिक सांस्कृतिक मञ्चको कुनै मन्तव्यमाथि केन्द्रित हुने हो भने त्यहाँ प्रकटित एउटा रचना शालीनताले तरङ्गित नगर्ला भन्न सकिन्न । भर्खरै प्रकाशित सर्जक ‘सम्पादकीय चेत’ को एक ‘ऐलान’ ‘नागार्जुन वाङ्मय प्रतिष्ठान’ अन्तर्गत रहेको सम्पादकीय टिमले प्रस्तुत गरेको छ । त्यो टिमका अध्यक्ष दिल पौडेल हुनुहुन्छ । अध्यक्षको साबिकको कलम यसरी प्रकट गर्छ आफूलाई ।
“साबिकको नागार्जुन साहित्यिक प्रतिष्ठानले झन्डै तीन दशकको उहापोह छिचोलेको छ । कहिले सडकमा प्लेकार्ड बोकेर निरङ्कुशतन्त्रको झाँको झारेको छ त कहिले सर्जकहरूलाई उत्कृष्ट सिर्जना गर्न सहजीकरण गर्दै हौस्याएको छ । कहिले स्रष्टाहरूलाई सखारै आमन्त्रित गरी उनीहरूका रचना प्रस्तुतिको मञ्च प्रदान गरेको छ त कहिले प्रकाशित कृतिहरूमाथि मन्थन गरेर त्यसका सबल पक्ष र सीमाबारे साहित्यकार एवम् साहित्यानुरागीहरूलाई सुसूचित गरेको छ । आफ्नै बुताले भ्याएसम्मका साहित्यिक अभिभारा निर्वाह गर्ने प्रण गर्न अलिकति पनि पछि हट्दैन यो ।” (वाङ्मय सौरभ २०८१ वैशाख) ।
‘मधुपर्क’ लाई साहित्यिक सांस्कृतिक पक्षधरहरूको एक पवित्र–साझा मञ्च मान्ने हो भने यसको प्रकाशनगृह जति सचेत हुनुपर्छ; त्यसरी नै स्रष्टा, पाठक, अध्येताले पनि यसको उन्नयन र समृद्धितर्फ विशेष चिन्तन गर्न अपरिहार्य भइसकेको छ । विद्वत् वर्गका एक प्रतिनिधिकारक सर्जक कुलचन्द्र वाग्लेजीले स्वीकार गर्नुभए जस्तै हामी सबैको ‘अर्को पाठशाला’ हो कि होइन मधुपर्क ?
कुनै बेला एउटा नवीन सर्जक ‘मधुपर्क’ मा छापिएपछि ऊ स्थापित हुने युग थियो, अहिले त्यो स्थितिमा कति दम छ । कतिले विचार गरेका छन् यसलाई ।
मधुपर्क ‘सङ्कलन कार्य’ मात्र होइन; अनुसन्धान हो, सम्पादन संस्था पनि हो । नत्र नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशन हुँदै आएको ‘कविता’ र ‘समकालीन’ ले जस्तै यसले पनि ‘पाठकमैत्री’ को धरातलबाट टाढिनु नपर्ला भन्न सकिन्न ।
लेखक वरिष्ठ साहित्यकार हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘पाठकका दृष्टिमा ‘मधुपर्क’ ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।