देशको आय वैदेशिक रोजगारमा जाने नेपालीको रगत पसिनाले धानिएको तथ्याङ्कले नै देखाउँछ । गत आर्थिक वर्षको ११ महिनामा विदेशमा काम गर्न गएका नेपालीले पठाएको विप्रेषण १५ खर्ब ३२ अर्ब रुपियाँ रहेको छ । यो विप्रेषण अघिल्लो आवभन्दा १७.२ प्रतिशतले बढेको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीले पठाएको विप्रेषणका कारण विदेशी मुद्राको भण्डारण बढेको छ । न्यून निर्यात र उच्च आयात नेपाली अर्थतन्त्रको चरित्र नै छ । उच्च आयातका निम्ति वैदेशिक मुद्रा चाहिन्छ । विप्रेषण आयबाटै उच्च आयात धान्ने विदेशी मुद्रा प्राप्त हुँदै छ । विप्रेषण बढेसँगै विदेशमा काम गर्न जाने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको आव २०८१/८२ मा आठ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारीका निम्ति श्रम स्वीकृति लिएका थिए । दैनिक औसतमा दुई हजार २०३ जना श्रम स्वीकृति लिएर गएका छन् । अघिल्लो आव २०८०/८१ मा सात लाख ४३ हजार ५९५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । यसले पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढिरहेको स्पष्ट छ । यो त औपचारिक तथ्याङ्क मात्र हो । अनौपचारिक रूपमा पनि विदेश जाने नेपालीको सङ्ख्या बढिरहेकै छ । यात्रा अनुमतिपत्र अर्थात् भिजिट भिसामा विदेश गएर उतै काम गर्ने नेपालीको सङ्ख्यासमेत कम छैन तर विदेशमा गएर काम गर्ने नेपालीमध्ये कतिपयको ज्यान जाने गरेको छ ।
विदेशमा काम गर्न जाने नेपालीमध्ये दैनिक जसो औसतमा चार वटा शव काठको बन्द बाकसमा आउँछन् । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा यो दारुण्य दृश्य दैनिक देखिन्छ । वैदेशिक रोजगार बोर्डका अनुसार आव २०८१/८२ मा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका एक हजार ५१७ जनाको मृत्यु भएको छ । यो सङ्ख्या कम होइन । घरपरिवारको आवश्यकता पूरा गर्न विदेश जाने नेपालीको पीडा, कथा र व्यथा व्यापक छ । बोर्डको आँकडामा देखिने मृतक सङ्ख्या श्रम स्वीकृति लिएर गई ज्यान गुमाएका मृतकका परिवारको मात्र हो । श्रम स्वीकृति लिई गएका नेपालीको कामका सिलसिलामा विदेशमा मृत्यु भएमा मृतकका परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता पाउने गरेका छन् । श्रम स्वीकृति नलिई विदेश गएका नेपालीको परिवारले विदेशमा कामको सिलसिलामा नै मृत्य भए पनि कुनै आर्थिक सहयोग पाउँदैनन् । श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउनेको सङ्ख्यासमेत जोड्दा बर्सेनि अझ धेरै नेपालीको ज्यान जाने गरेको छ । त्यसको यकिन तथ्याङ्क सरकारसँग छैन । मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन, रोमानिया, दक्षिण कोरियालगायत मुलुकमा काम गर्न गएका नेपालीलेविभिन्न कारणले ज्यान गुमाएको पाइन्छ । पर्याप्त सिप तथा तालिम नहुनु र श्रम गन्तव्य मुलुकमा सुरक्षाको सुनिश्चितताबिना काममा लगाइनुलगायत कारण पनि ठुलो सङ्ख्यामा नेपालीले ज्यान गुमाउने गरेका छन् । परिवारको आँसु र पीडा समग्र नेपालीकै पीडा हो ।
नेपाल सरकार वैदेशिक रोजगारीमा गएका नेपालीप्रति संवेदनशील देखिए पनि अझै पर्याप्त ध्यान पुग्न सकेको छैन । अनौपचारिक तवरले विदेशमा काम गर्न जानेको सङ्ख्या कम भएको छैन । महिला श्रमिकलाई कतिपय देशमा काम गर्न जाने अनुमति नहुँदा अनौपचारिक बाटो अपनाउन बाध्य छन् । वैदेशिक रोजगार बोर्डले गत आवमा मात्र वैदेशिक रोजगारीका क्रममा बिरामी, अङ्गभङ्ग भएका ८६७ जनालाई आर्थिक सहायतास्वरूप २४ करोड ९९ लाख रुपियाँ उपलब्ध गराएको छ । अघिल्लो आवमा ६५३ जनालाई आर्थिक सहायता स्वरूप १९ करोड ४६ लाख ८५ हजार रुपियाँ उपलब्ध गराइएको थियो । त्यस्तै आव २०७९÷८० मा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा गम्भीर बिरामी भएका ३८९ जनालाई नौ करोड ९७ लाख आठ हजार रुपियाँ आर्थिक सहायता प्रदान गरिएको थियो । मृतक श्रमिकका परिवारलाई १० लाख रुपियाँ दिने गरिएको छ । यस्तो आर्थिक सहायता स्थानीय तहमा निवेदन दिएर अनलाइनमार्फत कागजात परीक्षण गरी सहयोग गर्ने गरिएको छ । श्रम स्वीकृतिको अवधिमा कामको सिलसिलामा मृत्यु हुँदा परिवारले १० लाख रुपियाँ पाउने व्यवस्थाले परिवारको दुःखमा थोरै भए पनि मलम लगाउने गरेको देखिएको छ । यी अनेक पीडाले नेपालभित्रै रोजगारीको व्यवस्था मिलाउन सरकार र निजी क्षेत्र गम्भीर भएर लाग्नुपर्ने आवश्यकता छ ।