• १२ असोज २०८१, शनिबार

‘अबको तयारी मिस वर्ल्डको’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ८ गते । मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियङ्का रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ । केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटल ¥याडिसनमा बस्दै आउनुभएकी उहाँलाई परिवार र आफन्तले बाजागाजासहित काठमाडौँ वडा नम्बर २९ मा रहेको अनामनगरस्थित जन्मघरमा स्वागत गरेका हुन् । 

सेतो रङको गाडीमा राष्ट्रिय झन्डा फहराउँदै गृह प्रवेश गर्नुअघि वडा नम्बर २९ का वडाध्यक्षले उहाँको स्वागत गर्नुभएको थियो । त्यसपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै प्रियङ्काले मिस नेपाल जिताउन आफूलाई भोट गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा आफूले मिस नेपालले गर्नुपर्ने कार्य कुशलतापूर्वक निर्वाह गर्ने पनि बताउनुभयो ।

“म हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै प्रयास बाँकी राख्ने छैन,” उहाँले आफ्नो भविष्यको योजनाबारे पनि प्रस्ट पार्नुभयो, “अबको तयारी मिस वर्ल्डको छ । यसका लागि जुटेरै लागिपर्नेछु र मिस वर्ल्डको ताज नेपाल ल्याउन एकदमै कोसिस गर्नेछु ।”