• ७ जेठ २०८१, सोमबार

बेहुलाले साइकलमै चढाएर भित्राए बेहुली

blog

अमरराज नहर्की 

तनहुँ, असार ७ गते । झट्ट सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ बेहुलाले साइकलमा सवारी मात्रै नभई बेहुलीलाई समेत साईकलमै राखेर घर भित्राउनु भएको छ भन्दा । 

सामाजिक सन्देश प्रवाह गर्नका लागि मङ्गलबार तनहुँमा सवारीको लागि साइकलको प्रयोग गरी विवाह गरिएको छ । व्यास नगरपालिका–१० का २६ वर्षिय विनोद सापकोटाले साइकलमा चढेर गएर साइकलमा नै राखेर बेहुलीलाई घरमा भित्राउनु भएको छ । 

मितव्ययी तरिकाले विवाह गर्नुपर्छ भन्ने सन्देस प्रवाह गर्न र प्रेट्रोलियम प्रदार्थको खपत घटाउन सन्देश दिने मुख्य उद्देश्यले साइकलको सवारी प्रयोग गरेको बेहुला सापकोटाले बताउनुभयो । ‘भड्किलो तरिकाले विवाह गर्ने प्रचलनको अन्त्यको लागि पहल गर्नुपर्छ भनेर साईकल प्रयोग गरेको हुँ, बेहुला सापकोटाले भन्नुभयो । 

बेहुला सापकोटा बेहुली सङ्गीता भुजेल लिन साइकलमा ४ किलो मिटर दुरी पार गरी सदरमुकाम दमौलीमा पुग्नु भएको थियो । साइकलमा बेहुलीलाई अगाडि राखेर चलाउँदा देख्नेहरु दङ्ग परेका थिए । बेहुलासँगै जन्ती पनि साइकलमै गएका थिए । 

सिङगार पटार गरेका बेहुलो र बेहुलीलाई साइकलमा सवार गरेको देखेर देखेपछि रोक्दै टिकटक बनाउने, सेल्फी खिच्ने भेटिए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले दाईजोको पनि माग नभएको र खर्च धेरै नर्गन बेहुलाको पक्षले अनुरोध गरेको जानकारी दिनुभयो । 

‘यस्तो विवाहले विवाहको लागि ऋण खोज्नु पर्दैन भन्ने सन्देश दिएको छ’ भुजेलले भन्नुभयो । बेहुला सापकोटा साईकलका खेलाडी हुनुहुन्छ । उहाँले ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गर्नु भएको थियो । 

यस्तो विवाहले सन्देश प्रवाह गरेकाले खुसी लागेको पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा बेहुलाका भिनाजु रामदत्त पौडेलले बताउनुभयो । ‘इन्धन बचाउने मात्रै नभई मानिसलाई निरोगी पनि बनाउने भएकोले प्रयोग बढाउनु पर्ने यसरी गरिएको विवाहले साइकलको महत्व बढ्ने भएकोले खुसी लागेको छ’ प्रधानाध्यापक पौडेलले भन्नुभयो । 

सापकोटा दिदी मनु सापकोटा समाजलाई सन्देश प्रवाह गर्ने भएकालेले साईकलमा सवारी गर्न भाइको आग्रहलाई परिवार तथा आफन्त सबैले मानेको बताउनुभयो । ‘भाइले विवाह भड्किलो बनाउन हुँदैन साईकलको सवारी प्रयोग गर्छुले भने हामीले पनि सहमती जनायौं’ मनुले भन्नुभयो ।