अर्जुन कार्की
काठेखोला (बागलुङ), साउन १४ गते । बागलुङको जैमिनी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । जैमिनीका किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
नगरपालिकाले गतआर्थिक वर्ष २०८१-८२ मा संघीय सरकारको २५ लाख र नगरपालिकाको २५ लाख गरि कुल ५० लाख रुपियाँ बजेटमा एम्बुलेन्स खरिद गरेको छ । ‘सङ्घीय सरकारको कृषि मन्त्रालय र नगरपालिकाको साझेदारीमा ५० लाख बजेटमा एम्बुलेन्स खरिद गरिसकेका छौं,’ उपप्रमुख शर्माले भन्नुभयो, ‘एम्बुलेन्स सञ्चालनको लागि कार्यविधि निर्माण गर्न कृषि समुह र सरोकारवालाहरुसँग छलफल गरिरहेका छौं । केन्द्रीय कार्यविधिलाई हेरेर केही समयमा स्थानीय कार्यविधि बनाएर सञ्चालनमा ल्याउनेछौं ।’
नगरपालिकाभित्रका किसानले उत्पादन गरेको कृषि उजको विक्रीका लागि बजारसम्म पुर्याउन सहज होस् भनेर कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको उपप्रमुख शर्माको भनाइ छ । ‘कृषि एम्बुलेन्सले पालिकाका विभिन्न वडामा पुगेर किसानले उत्पादन गरेको कृषि उपजको ढुवानी गर्छ,’ उहाँले भन्नुभयो ।
कृषि एम्बुलेन्सले पालिकाका विभिन्न वडामा पुगेर किसानले उत्पादन गरेको कृषि उपजको ढुवानी गर्ने उहाँले बताउनुभयो । व्यावसायिक किसानले उत्पादिन कृषि उपज सिधै बजारमा विक्री गर्ने गरे पनि गाउँमा कृषि गरिरहेका र बजारसँग सम्बन्ध नभएपछि विक्री गर्न नसकिने भएका साना किसानहरुलाई कृषि एम्बुलेन्सले सहजता प्रदान गर्नेछ । एम्बुलेन्स सञ्चालनपछि घरको लागि मात्र कृषि गरिरहेका कृषकहरुलाई व्यवसायीक कृषितर्फ आकर्षित गर्न सकिने उपप्रमुख शर्माले बताउनुभयो । ‘पहिलो कुरा कृषिका उत्पादनहरु तत्काल बजार पुर्याउने नीति अनुरुप काम गरिनेछ,’ उपप्रमुख शर्माले भन्नुभयो,‘एम्बुेन्सले नगरभरि छरिएर रहेका उत्पादनहरुको सङ्कलन गर्नेछ । व्यवसायीक नभएका तर कृषि कर्ममा रहेकाहरुले उत्पादन गरेका कृषि सामग्री खरिदविक्री र नागरिकलाई कृषिमा जोडिनेछ ।’
नगरपालिकाले किसानका उत्पादित कृषि उपज विक्रीको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँग साझेदारीमा नगरपालिकाको केन्द्र कुश्मीशेरा बजारमा कृषि सङ्कलन केन्द्र निर्माण गरेको छ । यस्तै वडा नम्बर ३ उपल्लो दमेकमा चिस्यान केन्द्र निर्माण र वडा नम्बर ४ सर्कुवामा रहेको चिस्यान केन्द्रलाई मर्मत गरेको छ ।
कृषि एम्बुलेन्सले किसानले उत्पादन गरेको दुध, ताजा तरकारी, आलु, सुन्तलालगायतका कृषि उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने उपप्रमुख शर्माले बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकाको दुर्गम भेगमा किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा त्यसै खेर जाने अवस्था छ । कृषि उपजको बजारीकरण गरी किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवर्धनमा टेवा पुर्याउन पालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेका हौँ ।’
कृषि एम्बुलेन्स सञ्चालन हुने भएपछि जैमिनीका किसानहरु उत्साहित भएका छन् । वडा नम्बर ३ दमेकका कृषक गोपाल थापाले उत्पादिन कृषि उपजहरु बजार पठाउन समस्या हुने गरेकोमा नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेपछि सहज हुने आशा गरेको बताउनुभयो । उहाँले कृषि उपजहरु बजार पठाउनको लागि व्यवसायीहरुसँग सिधै सम्पर्क हुन नसक्ने र सम्पर्क हुँदा मूल्य घट्ने तथा कृषि उपजहरु बजार पठाउँदा सवारी साधनको समस्याले गाउँमै खेर जाने अवस्था रहेको बताउँदै नगरपालिकाले कृषि सङ्कलन केन्द्र र कृषि एम्बुलेन्स सञ्चालन गर्न लागेको थाहा पाउँदा खुसी लागेको बताउनुभयो।
अरु सवारी साधनभन्दा कृषि एम्बुलेन्सले न्यून भाडादरमा बजारीकरणमा कृषकलाई सहयोग पुर्याउने उपप्रमुख शर्माले बताउनुभयो । एम्बुलेन्स नगरपालिका वा कृषि समूहमार्फत सञ्चालन गर्ने भन्नेमा छलफल भइरहेको बताउनुभयो । ‘कृषि एम्बुलेन्स नगरपालिकाले आफैँ सञ्चालन गर्ने कि कृषि समूहलाई हस्तान्तरण गरेर समूहमार्फत सञ्चालन गर्ने भन्नेमा छलफल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘नगरपालिका वा समूहले सञ्चालन गरे पनि भाडादर नगरपालिकाले आफै तोक्नेछ ।