• ७ जेठ २०८१, सोमबार

जयपृथ्वीबहादुर सिंहलाई सरकारले गर्‍यो राष्ट्रिय विभूति घोषणा

blog

गोरखापत्र संस्थानको कार्यालय परिसरमा रहेको जयपृथ्वीबहादुर सिंहको अर्ध कदकाे सालिक ।

काठमाडौं, असार ७ गते। सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मानवतावादी राजाको रुपमा परिचित बझाङ्गी राजा सिंहलाई राष्ट्रिय विभूति घोषित गरेको हो। 

नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याउनुभएको योगदानको कदर स्वरुप सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। 

सिंहले नेपालको शिक्षा, न्यायिक तथा प्रशासनिक सुधारमा ठूलो योगदान पुर्‍याउनुभएको छ। उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न लामो समयदेखि माग हुँदै आएको थियो। 

को हुन् जयपृथ्वी ?

जयपृथ्वीबहादुर गोरखापत्रका संस्थापक हुनुहुन्छ। शिक्षा र सामाजिक क्षेत्रको सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ। 

१९३४ भदौ ५ गते बझाङमा जन्मिएर पनि जंगबहादुर राणाका भान्जा भएकोले उहाँको बाल्यकाल र शिक्षादीक्षा काठमाडौंको थापाथली दरबारमा भयो। 

जयपृथ्वीको विवाह चन्द्रशमशेरकी छोरीसँग भएको थियो। सिंहले लेख्नुभएका किताबसमेत गोरखापत्र छापाखानाबाट प्रकाशित थिए। सिंहकै पहलमा १९६३ सालमा काठमाडौंको नक्सालमा रहेको दरबारमा सत्यवादी पाठशाला खुलेको थियो। उहाँले नेपाली सञ्चार, भाषा, साहित्य, शिक्षा, स्वास्थ्य र अन्य सुधारको क्षेत्रमा महत्त्वपूर्ण काम गर्नुभएको छ। सिंहको निधन १९९७ साल असोज १ गते भारतमा भएको थियो।