• १५ साउन २०८२, बिहिबार

अपिमा पर्यटक पुर्‍याउन पदमार्ग

blog

खलङ्गा समाचारदाता 

दार्चुला, साउन १४ गते । सूदूरपश्चिम प्रदेशको सबैभन्दा उँचो हिमालका रूपमा रहेको अपि हिमालमा पर्यटक पुर्‍याउन सङ्घीय सरकारले दार्चुलाको अपि हिमाल गाउँपालिकाको विभिन्न स्थानमा पर्यटकीय पदमार्ग निर्माण गरेको छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागमार्फत आर्थिक वर्ष २०७९/८० देखि हालसम्म २१ किलोमिटर पर्यटकीय पदमार्ग निर्माण गरेको हो । 

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण र गन्तव्यका रूपमा परिचित अपि हिमालको बेस क्याम्पसम्म सहज यात्रा गराउन पर्यटकीय पदमार्ग निर्माण गरिएको पर्यटन विभागका सिनियर डिभिजन इन्जिनियर सचिन्द्रकुमार यादवले जानकारी दिनुभयो । विभागबाट आव २०७९/८० मा अपि हिमाल गाउँपालिकाको खाइकोटदेखि बेस क्याम्पसम्म १६ किलोमिटर पदमार्ग निर्माण गरेको उहाँले बताउनुभयो । पाँच करोड २८ लाखमा सिँढी, सोलिङ, पिसिसी ढलान र रेलिङ निर्माण गरिएको बताइएको छ । 

यस्तै गत आव २०८१/८२ मा ५.५ किलोमिटर नयाँ पदमार्ग निर्माण गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको धनबोरादेखि घुसा, खाइकोटदेखि थुम्ती र छेतीदेखि भिरफाटासम्म पदमार्ग निर्माण गरिएको उहाँले बताउनुभयो । गत आवमा पदमार्ग निर्माणमा तीन करोड दुई लाख रुपियाँ खर्च भएको बताइएको छ । यसअघि आठ हजार २८२ खुड्किलासहितको सिद्ध मकरीकोट पदमार्ग निर्माण भइसकेको छ । सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो सात हजार १३२ मिटर उचाइको अपि हिमाल दार्चुलामा पर्दछ । अपि हिमाल बेसक्याम्प घुम्न आउने र अपि नाम्पा संरक्षण क्षेत्रभित्रको प्राकृतिक आनन्द लिन आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दो रहेको पाइएको छ । अपि हिमाल गाउँपालिकाका पर्यटन एकाइ प्रमुख बिसनसिंह बुढाथोकीका अनुसार गत आव २०८१/८२ मा १०३ जना विदेशी तथा दुई हजार ७३३ जना स्वदेशी पर्यटकले अपि हिमाल भ्रमण गर्नुभएको छ । 

अपि हिमालको प्रचारप्रसारलाई तीव्र बनाई थप विदेशी पर्यटक भित्र्याउन गाउँपालिकाले अपि भ्रमण वर्ष–२०८० सञ्चालन गरेको थियो भने अतिथि सत्कारका लागि ६१ जना महिला र पाँच जना पुरुषलाई होमस्टे सञ्चालनको तालिम प्रदान गरेको छ । साथै ट्रेकिङ गाइडसम्बन्धी तालिम प्रदान गरी ट्रेकिङ गाइड उत्पादन गरेको छ । अपिनाम्पा संरक्षण क्षेत्रमा हिउँचितुवा, हाब्रे (रेड पान्डा), मृग, रतुवा, घोरल, नाउर, झारल, कालो भालु, दुम्सी, थारलगायत वन्यजन्तु तथा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरालगायत दुई सयभन्दा बढी प्रजातिका चरा पाइन्छन् । जैविक विविधताले भरिपूर्ण यस संरक्षण क्षेत्रभित्र अपि हिमाल र नाम्पा हिमाल पर्दछन् ।