बोमलाल गिरी
नवलपुर, साउन १४ गते । नारायणी नदीमा एकै दिन दुई जना हाम फालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिका–५ कुसमुघाट निवासी १५ वर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वडा नम्बर १ स्थायी घर भएका ५९ वर्षीय मिठा गिरी नदीमा हाम फालेर बेपत्ता हुनुभएको हो ।
श्रेष्ठले मङ्गलबार बिहान र गिरीले मङ्गलबार राति नारायणघाट र गैँडाकोट जोड्ने नारायणी नदीको गैडाकोट २ तर्फको पुलबाट हाम फालेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपलले जानकारी दिनुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुबैको खोजी कार्य जारी राखेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । श्रेष्ठले साइकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेको प्रहरीको भनाइ छ ।
कक्षा ९ मा अध्ययनरत १५ वर्षीय आदेशले बिहानै घरबाट कसैलाई केही नभनी निस्केका परिवारलई उदृत गर्दै प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो । उहाँका बुबा, आमा र दाजु जापानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।