• १५ साउन २०८२, बिहिबार

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

blog

जमुना वर्षा शर्मा

पोखरा,  साउन १४ गते । 

रुढीवाढी यो समाजको अग्लो पर्खाल नाघेर 

महिला हामी एक भई उठौँ जागेर ...

गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्नुहुन्छ उहाँ । उहाँका तीज गीतमा पनि महिलाका दुःख, पीडा, बेदना, सङ्घर्षका कथाका साथै हक र अधिकारका विषय उठान गरिएको पाइन्छ ।

नारीहरुको महान् पर्व तीज नजिकिँदै गर्दा उहाँले जस्तै बजारमा तीजका गीत ल्याउने क्रम सुरु भइसकेको छ । केही गीतमा मौलिकता झल्किन्छ भने केही गीत आधुनिक शैलीका छन् । पछिल्लो समय तीजका गीतमा आधुनिकता हावी हुँदा यसको मौलिकता हराउने पो हो कि भन्नेमा गायिका कोइराला चिन्ता व्यक्त गर्नुहुन्छ । त्यसै सिलसिलामा उहाँले यस पटक पनि ‘उठाँै जागेर’ बोलको तीज गीत ल्याउनुभएको छ । 

कोइरालाको आफ्नै स्वर, शब्द र लयमा सजिएको यस गीत तीजको मर्म र महिलामाथि भइरहेको प्रहारविरुद्धलाई उठान गरिएको छ । गीतमार्फत महिलालाई अधिकार र सम्मानका लागि एकजुट हुन आह्वान गरिएको छ ।  

तीज गीतमा बढ्दो विकृतिप्रति चिन्तित कोइरालाले हरेक वर्ष मौलिक भाकाका गीतहरू सिर्जना गर्दै आफ्नो कर्मलाई निरन्तरता दिँदै आउनुुभएको छ । यो वर्षको ‘उठाँै जागेर’ उहाँको पहिलो प्रस्तुति हो । बाँकी तीन गीतको रेकर्डिङ सकिएको र छिट्टै बजारमा आउने तयारीमा रहेको उहाँको भनाइ छ । “मैले यसपटक राम–सीताको गाथा जस्ता धार्मिक प्रसङ्ग, छोरीको इच्छाविपरीत विवाह गरिदिने सामाजिक पीडा, माइतीको सम्झनालाई गीतमा उतारेकी छु”, उहाँले भन्नुभयो, “तीजका गीत महिलाका सुख, दुःख, बेदना र सामाजिक चेतना बोल्ने सशक्त माध्यम हुन्, तर आजभोलि बजारमा आउने अधिकांश गीत महिलाको अस्मितामाथि धावा बोल्दै वस्तुकरण गर्न खोजेको जस्तो देखिन्छ ।”

उहाँले आफू तीज संस्कृति र सङ्गीतको संरक्षणमा आफू एक्लै भए पनि निरन्तर लागिरहने बताउनुभयो । “लोक संस्कृति जोगाउनु केवल पुराना गीत संरक्षण मात्र होइन, यो हाम्रो सामूहिक पहिचान र अस्तित्वको आधार हो । यसले हामीलाई आफ्नो इतिहास र पुर्खाको ज्ञानसँग जोड्दै सामाजिक एकतालाई बलियो बनाउँछ । हाम्रो मौलिक कला, ज्ञान र जीवनशैलीलाई बलियो पार्दै भावी पुस्तालाई मौलिक चिनारी हस्तान्तरण गर्न लोक संस्कृतिको संरक्षण अपरिहार्य छ”, उहाँले भन्नुभयो । 

कोइरालाको मौलिकताको खोज केवल शब्द र सन्देशमा मात्र सीमित छैनन्,  परम्परागत मौलिक घर, चौतारी, कुवा पँधेरो, गोठ, खेतबारीको मौलिकपन पनि भेटिन्छ  । समय बदलिए पनि महिलाका लागि आज समाज सुरक्षित हुन नसकेको र महिलामाथि शोसन दमन र विभेद उस्तै रहेको अनुभव सुनाउँदै उहाँले मौलिकताभित्र सशक्तीकरण र विद्रोहका गीत गाएर सामाजिक जागरण ल्याउन सकिने विचार राख्नुभयो । 

तीजको सन्दर्भ, परिवेश र विषयवस्तुभन्दा बाहिर गएर केवल चर्चाका लागि गीत बनाउने प्रवृत्ति हावी भएकाले यसलाई निरुत्साहित गर्न सर्जक मात्र नभइ सञ्चारमाध्यम र सरोकारवाला निकायले विशेष भूमिका खेल्नु आवश्यक रहेको उहाँको भनाइ छ । “अहिले तीज गीतमा छाडापन बढ्नुको मुख्य कारण नै भाइरल हुने होड र व्यापारीकरण हो, टिकटक र युट्युबमा छिटो चर्चा पाउनकै लागि सर्जकहरूले तीजको मौलिक मर्म बिर्सेर अपाच्य शब्द र भड्किलो नाचलाई प्राथमिकता दिएका छन्, यो गलत हो”, उहाँले भन्नुभयो । पहिले चेलीको दुःख पोख्ने माध्यम बनेको तीज गीत, अहिले सतही मनोरञ्जन र पैसा कमाउने साधनमा सीमित बन्नु दुर्भाग्यपूर्ण भएको उहाँको बुुझाइ छ ।

विसं २०१५ चैत १७ गते कास्कीमा जन्मनुभएकी कोइराला नेपाली लोक सङ्गीत र साहित्यकी एक अग्रणी साधक बनेर मौलिक सङ्गीतमा रमाउनुभएको छ । विसं २०४५ देखि निरन्तर नेपाली गीत सङ्गीतमा सक्रिय उहाँले हालसम्म आठ सयभन्दा बढी गीत सक्नुभएको छ भने ८० भन्दा बढी एल्बम रेकर्ड गराउनुभएको छ । उहाँले हम्काइलो, ऐना हेरेर, पाइन खबर, फूलको बास्ना जस्ता कैयौँ कालजयी गीत गाइसक्नुभएको छ । 

उहाँको विशेषता भनेको गीतमा सामाजिक र राष्ट्रिय महत्वका विषयलाई उठाउनु हो । उहाँका सिर्जनामा दरबार हत्याकाण्ड, भूकम्प, कोरोना महामारी, हवाई दुर्घटना जस्ता राष्ट्रिय एवं प्राकृतिक विपत्तिदेखि लिएर बढ्दो राजनीतिक विकृति, दाइजो प्रथा, पारिवारिक कलह, जुवातासको असर र छोरीहरूले भोग्नुपरेका पीडा जस्ता सामाजिक मुद्दाहरू उठान हुने गर्दछन् । उहाँका गीत केवल मनोरञ्जनका लागि होइनन्, समाजलाई झक्झकाउने र सकारात्मक परिवर्तनको सन्देश दिने ऐना रुपमा लिन सकिन्छ । रासस