अर्जुन कार्की
काठेखोला (बागलुङ), साउन १३ गते । बागलुङमा ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर सञ्चालन हुँदै आए पनि सवारी दुर्घटनाबाट वर्षेनी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको हो ।
आर्थिक वर्ष २०७९/८० जिल्लामा भएको ३२ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने आव २०८०/०८१ मा १९ वटा सवारी दुर्घटनामा १६ जनाको ज्यान गएको छ । तर गत आव २०८१/८२ मा २८ वटा सवारी दुर्घटना हुँदा २३ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायब निरीक्षक गङ्गाराम विकले बताउनुभयो । उहाँले गतआवमा दुर्घटनाबाट २८ जना गम्भीर घाइते र ४२ जना साधारण घाइते भएको बताउनुभयो ।
ट्राफिक नियम नमान्नु, मापदक पदार्थ खाएर र तीव्र गतिले सवारी चलाउँदा दुर्घटना बढ्दो रहेको विकको भनाइ छ । ‘‘सवारी चालकको लापरवाहीका कारण दुर्घटना बढेको देखिन्छ,’’ उहाँले भन्नुभयो, ‘‘ग्रामीण सडकको मर्मत नहुनु र सवारीको क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गर्नु दुर्घटनाका कारण हुन् ।’’
उहाँले ट्राफिक प्रहरी कार्यालयले सवारी चालक, यात्रु, विद्यार्थी र सरोकारवालाहरुलाई ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि आफुहरुले सक्दो सवारी जाँच र कारबाहीको प्रक्रिया अघि बढाएको प्रमुख विकले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरणका लागि सवारी जाँच र कारबाहीको प्रक्रिया बढाएको छ । प्रमुख विकले गतआर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने १५ हजारभन्दा बढी सवारी साधनलाई कारबाही गरिएको बताउनुभयो ।
उहाँले गत आव २०८१/८२ मा १५ हजार आठ सय ५३ वटा सवारी साधनलाई कारबाही गरी एक करोड ३१ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरिएको बताउनुभयो ।
गतआवमा सबैभन्दा बढी ६ हजार तीन सय १३ वटा जीप र कारलाई कारबाही गरी ५२ लाख २५ हजार रुपियाँ, ६ हजार ६१ वटा मोटरसाइकललाई कारबाही गरी ५० लाख ६८ हजार रुपियाँ र एक हजार पाँच सय ९४ वटा ट्रक र टिप्परलाई कारबाही गरि १३ लाख ९३ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरिएको छ । यस्तै नौ सय ६७ वटा टेक्टरलाई कारबाही गरी सात लाख १४ हजार पाँच सय रुपियाँ, सात सय १३ वटा बसलाई कारबाही गरी पाँच लाख ९४ हजार पाँच सय रुपियाँ र दुई सय पाँच वटा अन्य सवारीलाई कारबाही गरी एक लाख ६४ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरिएको प्रमुख विकले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०७९/०८० मा १५ हजार ६ सय ५० सवारी साधनलाई कारबाही गरी एक करोड १८ लाख १० हजार रुपियाँ राजस्व उठाइएको थियो भने ०८०/०८१ मा १६ हजार तीन सय ७८ सवारी साधनलाई कारबाही गरी एक करोड २१ लाख ७१ हजार पाँच सय रुपियाँ राजस्व असुली गरिएको थियो ।