• १५ साउन २०८२, बिहिबार

सामाजिक सुरक्षा कोषलाई वैज्ञानिक बनाउन सुझाव

blog

बुटवल समाचारदाता

बुटवल, साउन १४ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको मात्रै नभई उद्योगी व्यवसायीको समेत हितमा रहेकाले यसलाई अझै वैज्ञानिक बनाउनु आवश्यक रहेको औँल्याइएको छ । 

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको आयोजनामा सङ्घमा आबद्ध उद्योगी व्यवसायीका लागि गरिएको अभिमुखीकरण कार्यक्रमका वक्ताहरूले अझै पनि सामाजिक सुरक्षा कोषको विषयमा आमजनमानसमा अनभिज्ञता रहेको भन्दै थप स्पष्ट पार्नु आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले दक्षिण एसियाको कुल गार्हस्थ उत्पादनका आधारमा नेपालमा श्रमिकलाई दिइने न्यूनतम पारिश्रमिक एकदमै राम्रो रहेको बताउँदै तर नेपालको सन्दर्भमा महँगीलगायतका आधारमा ज्यादै न्यून रहेकाले यी दुईबिचको तारतम्य नमिल्दा युवा विदेश पलायन भइरहेको बताउनुभयो । 

उहाँले सामाजिक सुरक्षा कोष श्रमिकको मात्रै नभई उद्योगी व्यवसायीको समेत हितमा रहेको बताउँदै यसलाई अझै वैज्ञानिक बनाउन आवश्यक रहेको भनाइ राख्नुभयो ।  सामाजिक सुरक्षा कोष बुटवल शाखाका कार्यालय प्रमुख केदार पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोष, यसको स्थापना, उद्देश्य, सञ्चालन, योगदानकर्ता, योजना, आबद्ध हुने प्रक्रिया, प्राप्त हुने लाभ र आश्रित परिवारले पाउने सेवा सुविधालगायतका विषयमा जानकारी गराउनुभएको थियो । 

उहाँका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको जीवनभरको सुरक्षाका लागि श्रमिक तथा रोजगारदाताले संयुक्त रूपमा योगदान गर्ने सरकारी योजना हो । उहाँले सामाजिक सुरक्षा कोषमा योगदानकर्ता कामदारको नाममा मासिक तलबको ३१ प्रतिशतका दरले रकम जम्मा हुने र त्यसमध्ये कामदारको तलबबाट ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत योगदान गर्नुपर्ने बताउनुभयो । 

त्यसबापत कोषले दुर्घटना बिमा, स्वास्थ्योपचार, मातृत्व भत्ता, शिशु स्याहार भत्ता, घातक रोग उपचार खर्च, दीर्घकालीन पेन्सनलगायतका सेवा प्रदान गर्छ ।