• १४ साउन २०८२, बुधबार

पशुमा हर्मोन प्रयोग गर्नु दण्डनीय

blog

प्रतीकात्मक तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १४ गते । कुकुरले बच्चा नजन्माओस् भनेर सङ्गिनी सुई (डिपो) लगाउने मात्र हैन, खसीबोका र बङ्गुरमा पनि लगाउने गरेको पाइएको भन्दै नेपाल पशु चिकित्सा परिषद्ले त्यसमा ध्यानाकर्षण भएको जनाएको छ । 

खसी दुब्लायो भने नाम्ले र जुकाको औषधी खुवाउनुको सट्टा डिपो लगाउनेक्रम बढेको जानकारी आएको भन्दै त्यस्तो काम कसुर हुने भएकाले कारबाही गर्न सक्ने परिषद्का उपाध्यक्ष मनोज शाहीले बताउनुभयो । 

नेपालका कानुनले अनावश्यक रूपमा पशुमा हर्मोन प्रयोग गर्नु दण्डनीय कार्य भएको उल्लेख गरेको छ । गोरखापत्र दैनिकमा कुकुरलाई सङ्गिनी सुई लगाउने कार्य हुँदै आएको समाचार प्रकाशन भएको थियो । उहाँले यस्ता काम भएको देखिएमा नेपाल पशु चिकित्सा परिषद्मा उजुरी गर्न आग्रह गर्नुभयो ।  

हर्मोनल थेरापी आवश्यक परेको अवस्थामा विज्ञको परामर्श वा निगरानीमा गर्न सकिने भए पनि पशुको तौल बढाउन, गर्भ बस्न नदिन प्रयोग गरेको पाइएमा परिषद्मा उजुरी दिन अनुरोध गरेको हो ।