गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १४ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादीनिकट अखिल क्रान्तिकारीको अवरोधका कारण त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) प्राडा खड्ग केसी र कुलसचिव (रजिस्ट्रार) प्राडा केदारप्रसाद रिजाल दुई महिनादेखि कार्यकक्ष प्रवेश गर्न पाउनु भएको छैन ।
पदाधिकारी कार्यकक्ष प्रवेश गर्न नपाउँदा विभिन्न शैक्षिक, प्रशासनिक तथा आर्थिक विषयसँग सम्बन्धित काम रोकिएका छन् । सबैभन्दा ठुलो मार समकक्षता लिन आउने विद्यार्थीलाई परेको छ । क्रान्तिकारीसँग वार्ताका लागि विश्वविद्यालयले विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख प्राडा पशुपति अधिकारीको संयोजकत्वमा समिति बनाए पनि समस्या भने सल्टिएको छैन ।
विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखेर क्रान्तिकारीले सुरुमा जेठ १४ गते विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको कार्यकक्षमा ताला लगाएको थियो । तालाविरुद्धमा मुद्दा परेपछि सर्वोच्च अदालतले असार १८ गते तत्काल ताला खोल्न आदेश दिएको थियो ।
सोही आदेशबमोजिम सबै पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खुलाइएको थियो । तर क्रान्तिकारीले शिक्षाध्यक्ष र कुलसचिवलाई कार्यकक्षमा जान भने दिएनन् । भर्खर नियुक्त उपकुलपतिलाई भने क्रान्तिकारीले कार्यकक्ष जान दिएका थिए ।
क्रान्तिकारीले फास्ट ट्र्याकबाट उपप्राध्यापक नियुक्त गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय सच्याउनुपर्ने तथा मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतका विभिन्न विभागले विद्यार्थीसँग लिँदै आएको शुल्क घटाउनुपर्नेलगायतको माग राखेको छ । सोही माग सम्बन्धमा छलफल गर्न त्रिविले विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । समितिले पहिलो चरणमा क्रान्तिकारीसँग छलफल गरेको छ ।
त्रिविले यसअघि कार्यक्रम अन्तर्गत सञ्चालन भएको तर हाल विभागमा रूपान्तरण गरिएको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, शान्ति, द्वन्द्व र विकास विभाग, लैङ्गिक अध्ययन विभाग र सामाजिक कार्य विभागले विद्यार्थीबाट लिइरहेको शुल्क घटाउने विषयमा छलफल भइरहेको वार्ता समितिका संयोजक अधिकारीले बताउनुभयो ।
त्रिविले यी विषयलाई यसअघि कार्यक्रमका रूपमा सञ्चालन गरेको थियो । त्यतिबेला विद्यार्थीबाट लिइने शुल्कबाटै प्रशासनिक, शैक्षिक तथा आर्थिक व्यवस्थापन भइरहेको थियो । जसकारण अन्य विभागको तुलनामा यी कार्यक्रममा पढ्ने विद्यार्थीको शुल्क केही धेरै थियो । तर नियमित खर्च आफैँले बेहोर्ने गरी त्रिविले यी कार्यक्रमलाई विभागमा रूपान्तरण गरे पनि शुल्क भने पहिलेझैँ उठाएपछि क्रान्तिकारीले असन्तुष्टि जनाएको हो । चार सेमेस्टरको स्नातकोत्तर तहमा यी कार्यक्रम अध्ययन गर्दा पहिलो सेमेस्टरमा ७२ हजार र अन्य सेमेस्टरमा ३६ हजार रुपियाँको दरले शुल्क तिर्नु पर्छ । तर यीबाहेक अन्य विभागको शुल्क भने करिब आधा कम रहेका छन् ।
वार्ता समितिका संयोजक अधिकारीले भन्नुभयो, “आन्दोलनकारी विद्यार्थीले उठाएको मागबारे अध्ययन गरिरहेका छौँ । सकेसम्म छिटो मिलाउने प्रयास गरिरहेका छौँ ।”