• १२ साउन २०८२, सोमबार

प्राकृतिक अस्पताल सञ्चालन

blog

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), साउन १२ गते । स्याङ्जाको गल्याङ नगरपालिका मालुङ्गा उत्तरवाहिनीमा अत्याधुनिक प्राकृतिक अस्पताल सञ्चालनमा आएको छ । सङ्घीय सरकारको विशेष अनुदान तथा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनसँगै स्याङ्जासहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका नागरिकले सहज रूपमा प्राकृतिक उपचार गर्न पाउने भएका हुन् । 

पछिल्लो समयको खानपानका कारण जटिल रोगका बिरामी बढ्न थालेको भन्दै आयुर्वेदिक विधिबाट उपचार सुरु गरिएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिनुभयो । 

सङ्घीय सरकारको दुई करोड १२ लाख विशेष अनुदानबाट निर्माण भएको सुविधा सम्पन्न भवनबाट आयुर्वेदिक उपचार सेवा सुरु गरिएको हो । पहिलो चरणमा दस शय्याबाट सेवा सञ्चालन गरिएको छ । 

औषधीविहीन चिकित्सा पद्धतिका रूपमा रहेका प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, भोजन परामर्श माध्यमबाट उपचार गरिँदै आएको अस्पतालका डा. यश चतुर्वेदीले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयसम्म विभिन्न अस्पताल गएर निको नभएका बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् ।