सुधा देव
भारदह(सप्तरी), साउन ११ गते । गरिबको सुनौलो भविष्यका लागि सप्तरीको खडक नगरपालिकाले पालिकाको ३ हजार ७ सय परिवारलाई गरिब परिवारका लागि राज्य सुविधा परिचयपत्र वितरण गरेको छ ।
पालिकाको ६ हजार ६१ परिवारलाई गरिब परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको नगरप्रमुख जय प्रकाश चौधरीले बताउनुभयो । कुनै पनि प्रकोपमा वा राज्यले दिइने सेवा सुविधामा उक्त कार्डका आधारमा प्राथमिकतामा पाउने उहाँले बताउनुभयो ।
नेपालले संयुक्त राष्ट्र संघसंग गरेको सम्झौता अनुसार दिगो विकास लक्ष्य अनुसार सन २०३० सम्ममा मुलुकबाट गरिबी शुन्य पार्ने योजना अन्तर्गत पालिकामा परिचयपत्र वितरण गरेको खडक नगरपालिकाका प्रशासन शाखा प्रमुख रमाकान्त चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, २०७८ सालमा सरकारले पालिकामा गणक पठाएर लिएर डाटा अनुसार भूमि व्यवस्थापन तथा गरिबी निवारण मन्त्रालयले पठाएको ६ हजार ६१ कार्ड मध्ये ३ हजार ७ सय वितरण गरिसकेको र साउन महिनाभित्र सबै बाँडिसक्ने उहाँले जानकारी दिनुभयो ।
अति गरिब, मध्यम तथा सामान्य गरि तीन प्रकारको रहेको कार्डमा २०८१ देखि ०८६ सम्मको मिति छ । सन २०३० मा मुलुकमा गरिबि शून्य पार्ने उद्देश्यले कार्ड वितरण गरेको उहाँले बताउनुभयो ।