जीवछ यादव
लहान, साउन १२ गते । मधेश प्रदेशमा सुख्खा खडेरीको कारण खानेपानीको समस्या विकराल रुप लिइरहेको समयमा लहान–१ र २ नम्बर वडामा रहेका सदाय बस्तीमा धारा जडानले निकै राहत भएको छ ।
लगभग दुई सय घरपरिवार रहेको सदाय बस्तीमा हरेक घरमा दलित जनकल्याण युवा क्लब लहानको पहलमा लहान नगरपालिका र वाटरएडको सहयोगमा खानेपानी तथा स्वच्छता कार्यक्रम अन्तर्गत धारा जडान गरिएको हो ।
घरघरमा धारा जडान गरिपनि खानेपानी प्रवाह नहुँदा यस बिचमा समस्या आएको स्थानीयहरुले गुनासो सुनाउँदै खानलाई पानी पुगे पनि नुहाउन र बस्तुभाउलाई खुवाउन पानीको लागि समस्या अझै पनि रहेको स्थानीय चन्देश्वर सदायले सुनाउनुभयो । ‘उकुसमुकुस भएर थोरै जगगामा बस्नु परिरहेको सदाय बस्तीमा धाराको पानी बग्ने नाला नहुँदा घर आँगनमा जडान गरिएको धाराको पानी नुहाउन लुगाधुन प्रयोग गरेको पानी निकसको लागि नाला नहुने समस्या छ,’ स्थानीय सदाय समुदायले भन्नुभयो, ‘नुहाउनको लागि जडान गरिएको दसवटा धाराहरुमध्ये सातवटा धारा बन्द रहेकोले समस्या भएकै हो ।’
लहान नगरपालिका १ र २ का दलित सदाय बस्तीमा धारा जडान गरिएपछि सरसफाइ र स्वच्छतासम्बन्धी दिइएको जनचेतना तालिमलाई व्यवहारमा नउतार्दा प्रति समूहमा रहेका सदस्यहरुले प्रति उपभोक्ताले महिनाको लाग्ने एकसय दस रुपियाँ न्यूनतम धारा शुल्क खानेपानी कार्यालयमा नबुझाउने धारा बिग्रियो भने खानेपानीमा जानकारीको लागि निवेदन समेत नदिँदा कहिलेकाहीँ समस्या हुने गरेको खानेपानी तथा स्वचछता कार्यक्रमका सहजकर्ताले बताउनुभयो । धारा बिग्रिएपछि पानी आपूर्ति गर्न सदाय बस्तीमा वन डिभिजन कार्यालय लहानको सहयोगमा टयाङ्करबाट पानीको आपूर्ति गर्नुपरेको स्थानीय जनमत पार्टीका नेता बालेश्वर यादवले बताउनुभयो ।
अहिले लहान नगरपालिकाको दक्षिणी भेगमा खानेपानीका लागि प्रयोग गरिने हातेकल समेत सुक्न थालेको छ । धारा जडान नगरिएको भए लहानको दलित तथा विपन्न समुदायमा ठूलो मानवीय सङ्कट आउने निश्चित रहेको समयमा धारा जडानले निकै राहत मिलेको लहान २ नम्बरका वडाध्यक्ष सियाराम यादवले सुनाउनुभयो । उहाँका अनुसार यस वडामा देखिएको खानेपानीको छिटपुट समस्या समाधानको लागि मिलन चोकमा केही समर्सिया बोरिङ जडान गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर याे समस्या चाँडै समाधान गरिनेछ ।
दलित विपन्न बस्तीमा जडान गरिएको धारा सुचारु राख्न साउन र भदौ दुई महिनाको लाग्ने शुल्क मिनाहा गरिएको लहान नगरप्रमुख महेशप्रसाद चौधरी घोषणा गरेर खानेपानी कार्यक्रमको लागि सहयोग गरिरहेको विकन परियोजनाको कार्यक्रममा युके जानुभएको लहान नगरपालिकाको प्रवक्ता रमेश गौतमले जानकारी दिनुभयो ।
यता खानेपानी कार्यालय लहानले खानेपानीको आपूर्तिको लागि लहान नगरपालिका १३,१४,१६ , १७ र २४ नम्बर रहेको खानेपानीको ठूलो ओभरहेड टयाङ्की सञ्चालनमा ल्याइसकेको कार्यालय प्रमुख श्रीष भण्डारीले जानकारी दिनुभयो । लहान–२३ मा रहेको ओभरहेड टयाङ्की सञ्चालनमा ल्याउन तागेता गरे पनि सरोकारवालाहरु सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।