चितवन, साउन १२ गते । उद्योग तथा वाणिज्य कार्यालय चितवनमा दर्ता भएका ३८३ वटा उद्योग एक वर्षमा बन्द भएका छन् । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार बन्द भएका उद्योगमा सबैभन्दा बढी कृषिमूलक उद्योग छन् । ती उद्योग १९९ वटा बन्द भएका छन् ।
उत्पादनमूलक ७४, सेवामूलक ७४ र पर्यटनमूलक ३६ उद्योग बन्द भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सोही अवधिमा ३३१ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा कृषिमूलक १४०, सेवामूलक ११४, उत्पादनमूलक ६२, पर्यटनमूलक १५ उद्योग थपिएको छन् ।
जिल्लामा रहेका उद्योगमध्ये दुई हजार ३९० वटा उद्योग नवीकरण भएका छन् । जसमध्ये ११८ वटाले पुँजी वृद्धि गरेका छन् भने आठ वटाले स्तर परिवर्तन गरेका छन् । वाणिज्यतर्फ ५२४ वटा व्यवसाय बन्द भएको उहाँले जानकारी दिनुभयो । वाणिज्यतर्फ ३७७ वटा व्यवसाय नयाँ दर्ता भएर सञ्चालनमा छन् । तीन हजार १११ वटा व्यवसाय नवीकरण भएको उहाँले बताउनुभयो । कुमालका अनुसार २०३ वटा व्यवसायीले पुँजी वृद्धि गरेका छन् भने ३४ वटाले उद्देश्य थप गरेका छन् ।
उच्च शिक्षाका लागि विदेश जानेको सङ्ख्या बढेसँगै उद्योग तथा व्यवसाय दर्ता गर्ने र बन्द गर्ने प्रचलन बढेको उहाँले बताउनुभयो । उद्योग बन्द गर्न पाँच वर्ष अवधि पर्खिनुपर्ने भएकाले पनि बन्द गर्ने प्रचलन बढेको उहाँले बताउनुभयो ।