गोविन्द शर्मा
बाँके, साउन १२ गते । राप्ती नदीको तिब्र कटानका कारण गाउँ नै डुबानमा पर्ने जोखिम भएका बाँकेको राप्ती सोनारी गाउँपालिका ७ खल्ला झगडिया आसपासको क्षेत्रमा स्थायी तटबन्ध निर्माण हुने भएको छ ।
जनताको तटबन्ध कार्यक्रम लमहीले खल्ला झगडिया आसपास पहिलो चरणमा ४५० मिटर स्थायी तटबन्ध निर्माणका लागि टेण्डर आव्हान भई साई माँ दुर्गा भेन्सी जेभीले काम सम्पन्न गर्ने गरि करिब ६ करोड रुपियाँमा ठेक्का स्वीकृत भएको जनाएको छ । वर्षायाम सम्पन्न भएपछि स्थायी तटबन्धको निर्माण कार्य सुरु हुने जनताको तटबन्ध कार्यक्रम लमहीका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिनुभयो ।
सुवेदीले भन्नुभयो, ‘अहिलेको वर्षायाममा आउन सक्ने बाढीबाट हुन सक्ने क्षति रोकथामका लागि आपतकालिन नदी नियन्त्रण कार्यक्रम अन्तर्गत बेम्बो पाईलिङ्गको काम गरिरहेका छौं, यसबाट थप क्षति हुन पाउँदैन ।’
ज्नता तटबन्ध कार्यक्रमले झल्ला झगडिया र जरैयामा करिब एक करोडको लागतमा बासको प्रयोग गरि कटान नियन्त्रणका लागि बेम्बो पाईलिङ्ग गरिरहेको छ । जनताको तटबन्ध कार्यक्रमले करिब डेढ दशक अघि राप्ती नदी किनार होलियामा कटान नियन्त्रणका लागि बेम्बो पाईलिङ्ग गरेको थियो ।
राप्ती नदीको तिव्र कटानका कारण राप्तीसोनारी र होलिया आसपास नदी किनारमा गरिएको अस्थायी माटोको तटबन्ध भत्केर नदी गाउँमा पस्ने जोखिम बढेको राप्ती सोनारी ७ का दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो । निरन्तरको कटानका कारण राप्ती सोनारीका देउपुरा, पिप्रहवा, झल्ला झगडिया, भवानियापुर, गेदवा, नरैनापुर ६ को सोनबर्षा, कुदरबेटवा, गङ्गापुर नरैनापुर ५ को भाजपुर, नेवाजी गाउँ र डुडुवा १ को कुदवा गाउँ सबैभन्दा बढि जोखिममा रहेका छन् ।
बाँके क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य सुर्य ढकालले राप्ती नदीको कटान नियन्त्रणका लागि पक्कि तटबन्ध एकमात्र बिकल्प भएको बताउनुभयो । कटान नियन्त्रणका लागि संसद र सरकारका बिभिन्न निकायमा निरन्तर पहलकदमी गरिरहेको ढकालको भनाइ छ ।