• १७ साउन २०८२, शनिबार

कालभैरव बलेवाको भेटी तेब्बरले बढ्यो

blog

बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) साउन १० गते ।
नेपाल सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रको रुपमा सुचिकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार मिर्नाणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठ मध्यको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन तेब्बरले वृद्धि भएको छ ।

धार्मिक पर्यटक भित्र्याउँदै आएको बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा छ वर्षपछि गुठी वयवस्थापन समिति सक्रिय भएपछि पूर्वाधार निर्माणले तीव्रता पाएसँगै यहाँ आउने दर्शनार्थीहरुको सङ्ख्यामा वृद्धि भएको छ । दर्शनार्थीहरुको सङ्ख्यामा वृद्धि भएपछि भेटी सङ्कलन दर समेत तेब्बरले वृद्धि भएको छ । समिति मार्फत पूजा चलाउन थालेको एक वर्ष भएको बताउदै भैरवस्थान मन्दिर व्गुठी यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले आम्दानी तेब्बरले वृद्धि भएको बताउनुभयो ।

मालपोत कार्यालय बागलुङद्वारा ठेक्कामा भेटी सङ्कलन गरिादै आएकोमा आर्थिक वर्ष २०८१/८२ मा गुठी व्यवस्थापन समितिले जिम्मा लिएपछि भेटी सङ्कलन तेब्बरले वृद्धि भएको हो ।

“आर्थिक वर्ष २०८०/८१ मा ठेक्का मार्फत नौ लाख आम्दानी भएकोमा समिति मार्फत पूजा चलाउदा २७ लाख आम्दानी भएको छ, ठेकेदारले नाफा कमाउदा मन्दिर अस्तव्यस्त भएकाले समिति मार्फत पूजा चलाउने र आम्दानीले भौतीक संरचना र दर्शनार्थीको सुविधा थप गर्ने हाम्रो उदेश्य छ” अध्यक्ष ढकालले भन्नुभयो “कोरोना महामारीमा ५० हजार भेटी सङ्कलन भएको मन्दिरमा अहिले २७ लाख भेटी संकलन भएको र आगमी वर्ष भेटी सङ्कलन अझै बढ्ने अपेक्षा छ ।”

पछिल्लो दुई वर्ष यता बलेवा काल भैरवको पूर्वाधारमा सत्तल, सचिवालय, प्रवेशद्वार, पदमार्ग, खानेपानी, शौचालय लगायतका पूर्वाधारमा ८० लाखभन्दा बढी रकम खर्च भइसकेको ढकालले जानकारी दिनुभयो । समिति, संघीय सरकार, गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाबाट पूर्वाधार मिर्नाणमा सहयोग भएको समितिका कोषाध्यक्ष चन्द्र केसीले जानकारी दिनुभयो । उहाँले अघिल्लो व्यवस्थापन समितिले बनाएको गुरुयोजना, हिसाब किताब नपाएको र समिति नहुँदा मन्दिरको अवस्था बिग्रिएकाले यो वर्षदेखि आय वयय सार्वजनिक तथा लेखा परीक्षण गराउँदै आएको बताउनुभयो ।

समितिको आन्तरिक रकमबाट ११ वटा व्यावसायिक सटरहरु निर्माण गरेपछि आगमी वर्षबाट मन्दिरको मासिक आद्यानी समेत भइरहेको छ । अहिले मासिक ३० हजारमा सटर भाडामा लागाइएको छ । समुन्द्री सतहदेखि एक हजार ४०० मिटरको उचाईमा रहेको भैरवस्थानको मुख्य मन्दिर भने पुरानो रहेको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरू निर्माणले गति लिएको छ भने वर्षौदेखिको ठेक्का तोडेर समितिले आम्दानी लिन थालेको छ ।

तीन सय वर्षभन्दा पुरानो मन्दिरमा पछिल्लो समय सडक सुविधा पुगेपछि धार्मिक पर्यटकमा वृद्धि भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमाका कारण पछिल्लो समय आन्तरिक पर्यटक बढेपछि सडक स्तरोन्नती, पदमार्ग, व्यावसायिक सटर, सक्तल लगायतका पूर्वाधार थपिदा मन्दिरमा पुग्ने दर्शनार्थीको चाप बढेपछि भेटी सङ्कलन समेत बढिरहेको ढकालको भनाइ छ ।

विसं १७८० सालतिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको पाइन्छ । पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइमाझ झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ । मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा बढ्दै गइरहेको छ ।