• १२ साउन २०८२, सोमबार

साहित्यिक पत्रकारिताको सर्वोच्च अभिलेख मधुपर्क

blog

मधुपर्कको कथागर्भ

नेपाली भाषा, साहित्य र संस्कृतिको उन्नयनमा सुदीर्घ इतिहास निर्माण गरिसकेको ‘मधुपर्क’ बारे कताबाट सुरु गरौँ यो आलेख ? म अन्योलमा छु । यो अन्योल चिर्दै ‘मधुपर्क’ को पूर्वरचनागर्भ अन्तर्गत यसको अस्तित्व ग्रहण गर्नुपूर्वको एउटा सन्दर्भबाट मधुपर्क चर्चा प्रारम्भ गर्नु सायद रोचक नै हुने छ । 

विसं २०२५ मा गोरखापत्र कर्पोरेसन व्यवस्थापनले प्रकाशित भइरहेका दैनिक गोरखापत्र र ‘दी राइजिङ नेपाल’ का अतिरिक्त एउटा साहित्यिक मासिक पनि प्रकाशित गर्ने निर्णय गर्‍यो । गोरखापत्रका सम्पादक गोपालप्रसाद भट्टराईले एउटा नयाँ स्तरीय साहित्यिक पत्रिका प्रकाशनको तारतम्य मिलाउने जिम्मेवारी नारायणबहादुर सिंह र उहाँका सम्पादकीय सहयोगी भैरव अर्याललाई दिनुभयो । 

भैरव अर्याल यसअघि नै प्रकाशित हुँदै आएको ‘रचना द्वैमासिक’ सँग पनि सुरुदेखि नै मियोका रूपमा संलग्न हुँदै आउनुभएको थियो । यो कुरा स्वयं त्यसका संस्थापक सम्पादक/प्रकाशक रोचक घिमिरेको “रचना पत्रिका २०१८ सालदेखि प्रकाशित हुन थालेको हो । सम्पादक र प्रकाशकमा मेरो नाम दर्ता भए पनि मेरा मित्रहरू भैरव अर्याल र रमेश विकलको पर्याप्त सहयोग त्यसबेला रचनाले प्राप्त गरेको थियो । (मधुपर्क ५०० औँ पूर्णाङ्क, माघ २०६७, पृष्ठ ५६)” भनाइले पुष्टि गर्दछ । 

आजको समयमा त निजी साधन र स्रोतमा साहित्यिक पत्रिका निकाल्नु सजिलो छैन, त्यतिबेला झन् के सजिलो हुन्थ्यो ? साहित्यिक पत्रिकाको त्यो साबिक रोगबाट रचना पनि ग्रसित नहुने कुरै भएन । त्यो कुरा भैरव अर्याललाई राम्ररी थाहा थियो । त्यसैले उहाँले सोच्नुभएछ, ‘रोचकलाई मनाएर रचनालाई गोरखापत्र कर्पोरेसनको स्वामित्वमा ल्याउन पाए गोरखापत्रले एउटा स्थापित पत्रिकाको नाम पाउने, रचना आर्थिक सङ्कटबाट मुक्त हुने ।’ 

उहाँले गोपालप्रसाद भट्टराई, नारायणबहादुर सिंह दुवैसँग सल्लाह गर्नुभएछ । गोपालप्रसाद भट्टराईले रोचक घिमिरे यस प्रस्तावमा सहमत हुनुभयो भने उहाँलाई नै कर्पोरेसनमा प्रवेश गराएर सम्पादक नियुक्त गर्नेसम्मको आश्वासन दिनुभएछ । भैरव अर्यालले रमेश विकलसँग पनि सल्लाह गरेर त्यतिबेला जनकपुर रहेका रोचक घिमिरेलाई तुरुन्तै काठमाडौँ बोलाएर उक्त प्रस्ताव राख्दा रोचक घिमिरेले अस्वीकार गर्नुभएछ । त्यसरी उहाँले नमानेपछि नारायणबहादुर सिंहकहाँ लगेर फेरि सम्झाउँदासमेत नमान्नुभएपछि नारायण माड्साबले “यसमा रोचकजीलाई कर नगर्नुस्, रचनालाई जागिरसँग साटेर आफ्नै पत्रिकाको जागिरे सम्पादक हुँदा उहाँको प्रतिष्ठा कहाँ रहन्छ” भन्नुभएपछि भैरव अर्यालको त्यो प्रयासले त्यहीँ विश्राम लिएछ । (रोचक घिमिरे, मधुपर्क ऐ...ऐ) ।

त्यसपछि ‘पूर्वीय ज्ञानभण्डारका शाश्वत स्वरहरूका साथै आधुनिक विश्वका चिन्तनमनन एवं साहित्यकलाका भावगत र शैलीगत प्रयोगहरूमा बिनाकुनै पूर्वाग्रह भ्याएसम्म धेरैलाई समावेश गरी यसलाई प्रतिमास नियमित रूपमा पाठकमा पुर्‍याउने’ अठोटसहित २०२५ साल जेठ ३० गते प्रकाशित पहिलो अङ्कदेखि अहिलेसम्म नै यो आफ्नो प्रतिबद्धताबाट पन्छिएको छैन । 

‘मधुपर्क’ का प्रारम्भिक सारथिहरू तुलसीप्रसाद ढुङ्गेलले जुराउनुभएको नाउँ ‘मधुपर्क’ जस्तै स्वादिष्ट र पोसिलो बनी नवीन साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ को पहिलो अङ्क नेपालकै विशिष्टि पत्रकार मानिने गोपालप्रसाद भट्टराईको सम्पादन र वरिष्ठ कलाकार उत्तम नेपालीको आवरण चित्रमा  सजिएर २०२५ जेठ ३० गते पाठकसमक्ष पुग्यो ।  नारायणबहादुर सिंह, दाताराम शर्मा र भैरव अर्याल सम्पादन सहयोगी र गोपालप्रसाद भट्टराईको ‘मधुपर्क’ त्यतिबेलाका नेपाली सााहित्यका महारथीहरूको आशीर्वाद र चिरायु कामना पाएर नेपाली साहित्यिक पत्रकारिताको मूलधार बन्दै अगि बढ्यो । ‘मधुपर्क’ लाई स्थापित र विशिष्ट स्थानमा स्थापित गराउन स्वर्गीय नारायणबहादुर सिंह र भैरव अर्यालको सर्वाधिक योगदान रहेको छ भन्दा अरूप्रति सायद अन्याय नहोला । 

प्रकाशनको १५ औँ वर्षसम्म यसले स्वतन्त्र सम्पादक पाउन सकेन । सुरुदेदेखि २०४१ सालसम्म ‘मधुपर्क’ को सम्पादक पनि गोरखापत्र दैनिककै सम्पादक रहने संस्थानको व्यवस्था थियो; जस अनुसार यस १५ वर्षका बिचमा यसका सम्पादकमा गोपालप्रसाद भट्टराई, नारायणबहादुर सिंह, भारतदत्त कोइराला, गोकुलप्रसाद पोखरेल र रामचन्द्र न्यौपानेको नाम रहे पनि खासमा यसको सुरुआती र पछिसम्मको पनि योजना, सम्पादन र व्यवस्थाको जगमा नारायणबहादुर सिंह नै हुनुहुन्थ्यो । गोपालप्रसाद भट्टराईले मुद्राराक्षसको प्रकोपमा पर्नुभएका श्रीप्रसाद गौतम र मुकुन्दप्रसाद पराजुलीको बचाउ गर्न राजीनामा दिनुभएपछि छोटो समयका लागि गोरखापत्रको निमित्त सम्पादक हुनुहुँदा ‘मधुपर्क’ को समेत स्वतः सम्पादक हुनुभए पनि त्यसबाहेक अरू समयमा नारायणबहादुर सिंहको भन्दामाथि सम्पादकमा गोरखापत्रकै सम्पादकको नाउँ छापिन्थ्यो । जे होस्, नारायणबहादुरलाई सुरु सुरुमा दाताराम शर्मा र भैरव अर्यालको दरिलो हातको सहयोग थियो ।

स्वतन्त्र विभागको हैसियत प्राप्त नगरुन्जेल गोरखापत्रको लेखरचना शाखा अन्तर्गत नै ‘मधुपर्क’ प्रकाशित हुने गथ्र्यो । पछिसम्म नै लेखरचना विभागका सबै काम जम्मा दुई जना सम्पादकबाट हुने गथ्र्यो । त्यतिबेला विभागका सबै काम नारायणबहादुर सिंह र एक जना सहयोगी सम्पादकले भ्याउनु पथ्र्याे । (२०३८ देखि २०४१ सालसम्म ‘मधुपर्क’ स्वतन्त्र विभाग नबनुन्जेल लेखरचना विभागमा नारायणबहादुर सिंहको सहयोगीका रूपमा यिनै पङ्क्तिका लेखक कार्यरत थियो ।) लेखरचना विभागको जिम्मामा मधुपर्क मात्र थिएन; दैनिक लेखरचना, अर्थात् फिचर पेज, शनिवाशरीय (शनिबारीय हुँदै अहिले शनिबार) परिशिष्टाङ्कका अतिरिक्त राजपरिवारका जन्मोत्सव र जयन्तीहरूमा निकाल्नैपर्ने चार/पाँच वटा ४०/५० पृष्ठका विशेषाङ्क पनि पर्दथे । त्यसमाथि सकेमा ‘मधुपर्क’ को केही वार्षिक विशेषाङ्क निकाल्नु परिहाल्थ्यो । सिङ्गै गोरखापत्र दैनिकको विभागमा जम्मा १५÷१६ जना सम्पादक रहने त्यो समयमा यो अस्वाभाविक थिएन ।

‘मधुपर्क’ स्वतन्त्र विभाग बनेपछि यसले सम्पादक, सहयोगी सम्पादक र अरू कर्मचारी पनि पायो । ‘मधुपर्क’ ले विभागको हैसियत त्यसै पाएको होइन । त्यतिबेला सम्पादक गोकुलप्रसाद पोखरेल र नारायणबहादुर सिंहबिचको द्वन्द्व यसको मूल कारण थियो । अगाडि नै उल्लेख गरिएको छ, गोरखापत्रको सम्पादक नै ‘मधुपर्क’ को सम्पादक हुने गर्दथ्यो । त्यतिबेला गोरखापत्रका सम्पादकमा गोकुलप्रसाद पोखरेल हुनुहुन्थ्यो र लेखरचना शाखाका प्रमुखमा नारायणबहादुर सिंह । मुख्य सम्पादकलाई नै दियो भने पक्कै छापिन्छ भन्ने विश्वास गर्ने सर्जकहरू उहाँकै हातमा रचना दिन्थे । उता गोकुलप्रसाद पोखरेल र नारायणबहादुर सिंहको बिचमा भने तालमेल थिएन । आफूभन्दा पछाडि राष्ट्रिय समाचार संस्थाबाट आएर राइजिङ नेपालमा प्रवेश गरी गोरखापत्रका सम्पादक हुनुभएका गोकुल पोखरेल नारायणबहादुर सिंहको दृष्टिमा आफूभन्दा कनिष्ट हुनुहुन्थ्यो । यही कुराले उहाँहरूबिच द्वन्द्व थियो सायद ।    

त्यसैले सम्पादक गोकुल पोखरेलले हामी जस्ता सहायकलाई बोलाएर “ल... यो रचना आगामी अङ्कमा राख्नू” भनेर दिनुुहुन्थ्यो । प्रधान सम्पादक गोकुल पोखरेल, कार्यकारी सम्पादक नारायणबहादुर । अनि हामी जस्ता सहयोगीले मुख्य हाकिम प्रधान सम्पादक र तालुकवाला हाकिम नारायणबहादुर सिंहमध्ये सुरु आदेश तालुकवाला हाकिमकै मान्नुपर्ने हुन्थ्यो । त्यसैले, “माड्साब, गोकुल दाइ (सम्पादक) ले यो दिनुभएको छ, पठाऊँ होइन त ?” भनेर सोध्यो “अहिले थन्क्याइदिनोस्” भन्ने निर्देशन आउँथ्यो । ‘साँढेको जुधाइ बाच्छाको मिचाइ’ भने जस्तै दुई ठुला सम्पादकको मनोमालिन्यको पेलानमा सहयोगी पर्ने गर्थे । 

अलि अलि गर्दै यो समस्या त्यतिबेलाका अध्यक्ष भारतदत्त कोइरालासम्म पनि पुग्ने नै भयो । अनि त्यो समस्या सुल्झाउने उपायका रूपमा उहाँले व्यवस्थापन समितिबाट मधुपर्कलाई पनि गोरखापत्र र राइजिङ नेपाल सरह छुट्टै विभाग बनाएर त्यसको प्रमुख वा मधुपर्कको सम्पादक नारायणबहादुर सिंहलाई बनाउने निर्णय गराउनुभयो । अब गोरखापत्रको लेखरचना शाखा र ‘मधुपर्क’ छुट्टिएपछि मलाई गोरखापत्रकै लेखरचनातिर फर्काइयो । यसरी २०४१ सालमा आएर बल्ल छुट्टै सम्पादक पाउन थालेको ‘मधुपर्क’ ले त्यसअघिका पाँच र पछिका २६ जना सम्पादकको स्याहारसुसार प्राप्त गर्‍यो तर ‘मधुपर्क’ लाई ‘मधुपर्क’ बनाउनेमा प्रारम्भिक तथा ऐतिहासिक योगदान भने सुरुका सम्पादक नारायणबहादुर सिंह, दाताराम शर्मा र भैरव अर्याल अनि पछि थोरै समयका लागि केशवराज पिँडालीको सर्वाधिक योगदान रहेको छ भन्न हिचकिचाउनु पर्दैन ।   

नेपाली भाषाशैलीको विकासमा ‘मधुपर्क’

गोरखापत्र कर्पोरेसन (पछि संस्थान) को तेस्रो प्रकाशन ‘मधुपर्क’ गोरखापत्रकै विरासत भएकाले यसको योगदानबारे चर्चा गर्दा गोरखापत्र स्वतः जोडिएर आउनु अस्वाभाविक होइन । किनभने ‘मधुपर्क’ को विरासत पनि गोरखापत्रबाटै सुरु भएको सत्यलाई अस्वीकार गर्न मिल्दैन । यही पृष्ठभूमि केलाउँदै नेपाली साहित्य, भाषा, संस्कृति र सभ्यता अनि गद्यभाषा शैलीको विकासमा यसको योगदानबारे छोटो चर्चा गर्ने प्रयत्न गरिएको छ । 

भाषिक अनुशासनको जग खडा भएर विशेष गरी नेपाली गद्य भाषा सुस्थिर, व्यवस्थित र समृद्ध बनाउन तत्कालीन एक मात्र छापा माध्यम गोरखापत्रको महत्त्वपूर्ण योगदान रह्यो । “जुन देशमा अखबार बढ्दै गएको छ, ती ती देशमा रोज बेरोज उन्नति बढ्दै गएको देखिन्छ । हुन पनि यस संसारमा सबैभन्दा मुख्य कुरा खबरै शब्द छ, पन्छीमा पनि खबरले आपसमा व्यवहार चलाएका छन्” भन्दै आफ्नो पहिलो अङ्कमा अखबारको महत्त्व र आफ्नो उपस्थितिको औचित्य सिद्ध गर्ने गोरखापत्र सुरुदेखि नै नेपाली भाषाशैलीप्रति सचेत र सतर्क थियो । तत्कालीन भाषाबाट केही मात्रामा प्रभावित भए पनि नेपाली भाषामा परिष्कार र एकरूपताको पक्षमा गोरखापत्रले जन्मकालदेखि नै जनमतको निर्माण गर्दै आयो । मधुपर्कलगायत संस्थानका पछि प्रकाशित अन्य प्रकाशनहरूले यसको अनुसरण गर्दै आए । “विद्वान्हरू आफ्नो भाषाको उन्नति गर्न लागुन्, अर्काको मुख नताकुन् । (गोरखापत्र सम्पादकीय १९६६ माघ ११) ।” भन्ने गोरखापत्रले आफ्नो प्रारम्भिक अवस्थामै पटक पटक सम्पादकीय लेखेर नेपाली भाषाको महत्त्वतर्फ विद्वान्हरूको ध्यानाकर्षण गरायो ।

गोरखापत्रका ती धारणा र सामग्रीहरूले नेपाली भाषाप्रति चासो राख्ने त्यतिबेलाका बुद्धिजीवीहरूको चेतनालाई झक्झक्याउनुका साथै यसप्रति आमपाठकमा सचेतता वृद्धि गर्ने काममा समेत रामै्र मद्दत पुर्‍यायो । ती गद्यांशहरूले तत्कालीन नेपाली गद्यशैलीको राम्रा नमुनासमेत प्रस्तुत गरेका छन् । त्यतिबेलासम्म सायद कथ्य र लेख्य भाषामा खासै भिन्नता देखा परिसकेको थिएन । सम्भवतः मुद्रण प्रविधि र मुद्राक्षरहरूको राम्रो विकास नभइसकेको अवस्थाका कारण चन्द्रविन्दु आदिको प्रयोगमा कठिनाइ थियो । हिज्जे र वर्णविन्यासको प्रयोगमा पनि एकरूपता आइसकेको थिएन । त्यस अवस्थामा पनि नेपाली भाषाशैलीको परिष्कार र परिमार्जनमा गोरखापत्रले देखाएको त्यो सचेतता नेपाली भाषाको भाषिक तथा शैलीगत विकासमा कोसेढुङ्गो मान्नु पर्छ । यही क्रममा गोरखापत्रले पछिल्लो चरणमा आएर नेपाली गद्यशैलीमा प्राचीन प्रवृत्तिहरू तोडेर नयाँ परम्परा र शैलीको सुरुवात गरेको थियो भन्दा अतिशयोक्ति नहोला ।   


गोरखापत्रको समय अर्थात् नेपाली भाषाको माध्यमिक कालमा आएर नेपाली साहित्य र गद्य शैलीमा आधुनिकताको पूर्वाभास देखिन थालेको थियो । त्यसलाई पाइन लाउनमा त्यसकालका प्रवर्तक मोतीराम भट्ट र उनका समकालीन साहित्यकारहरूका जीवनी, नाटक, उपन्यास, कथा, निबन्ध आदिले योगदान दिएका थिए । 

यसरी नेपाली सञ्चार माध्यम, त्यसमा पनि मूलतः छापा माध्यमले नेपाली गद्यको प्रारम्भिक विकासमा महत्त्वपूर्ण योगदान गरेका छन् । नेपाली सञ्चार र छापा माध्यमको मूलधार गोरखापत्र र यसका सहप्रकाशन मधुपर्क हुनुको नाताले पनि नेपाली साहित्यको भाषा, शैली र संरचना निर्माणमा यिनको योगदान रहनु स्वाभाविक थियो । यस दृष्टिबाट पनि विसं १९५८ वैशाख २४ गते समाचारपत्रका रूपमा सबैभन्दा पहिला देखा परेको ‘गोरखापत्र’ को योगदान सर्वाधिक रहेको छ भने २०२५ सालको सुरुबाट प्रकाशित हुन थालेको ‘मधुपर्क’ को योगदान पनि कम रहेको छैन । यसबारे खासै अध्ययन भने भएको देखिँदैन ।

गोरखापत्रको प्रकाशनपश्चात् शारदाकालभरि गोरखापत्र र ‘शारदा’ ले यस क्षेत्रमा संयुक्त भूमिका खेले । शारदाकालको उत्तरार्धमा ‘रूपरेखा’ र ‘रचना’ को प्रमुख भूमिका रह्यो र २०२५ सालमा ‘मधुपर्क’ दरिलोसँग यस अभियानलाई साथ दिन आयो । यसरी पछिसम्मै नेपाली भाषाको शैली र व्याकरणगत शुद्धिमा गोरखापत्र मानक मानिँदै आयो । नेपाली भाषाको माध्यमिककालीन गद्यशैलीमा भएको क्रमिक विकासमा अरूको पनि योगदान होला; सर्वाधिक महत्वपूर्ण योगदानकर्ताको शीर्षस्थ स्थानमा भने ‘गोरखापत्र’, ‘शारदा’, ‘रूपरेखा’, ‘रचना’ र ‘मधुपर्क’ नै रहेको पाइन्छ । 

गोरखापत्रका पुराना पन्नाहरू केलाउने हो भने नेपाली लेख्य–गद्यशैलीको विविधतापूर्ण विकास र भाषिक परिमार्जनको प्रयास र प्रव्रिmयाले तीव्रता लिएको देखिन्छ । यसपछि नै नेपाली भाषाले आफ्नो मानकको खोजी ग¥यो । लेख्य–गद्य भाषाले बिस्तारै शैलीगत विविधतामा प्रयोगगत क्षेत्रको व्यापकता पायो । “नेपाली साहित्यको माध्यमिक कालमा प्रकाशन प्रारम्भ भएको गोरखापत्र विभिन्न विधाको साहित्यिक प्रयोगभूमि बनेर यिनलाई अघि बढाउन प्रयत्नशील रह्यो (कृष्णचन्द्रसिंह प्रधान, गोरखापत्र र नेपाली साहित्य, २०३३ वैशाख २४) ।” यो भनाइले नेपाली साहित्य र गद्यशैलीको विकासमा गोरखापत्रको योगदान अरू छर्लङ्ङ हुन्छ । यसरी भाषिक अनुशासनको जग खडा भएर नेपाली गद्य सुस्थिर, व्यवस्थित र समृद्ध बनाउन तत्कालीन सञ्चार माध्यम विशेष गरी एक मात्र छापा माध्यम गोरखापत्र र पछि आएर गोरखापत्र संस्थानबाटै नेपाली वाङ्मयको सेवामा समर्पित अर्को प्रकाशन ‘मधुपर्क’ यसको सहयोगीका रूपमा देखा पर्‍यो । 

त्यसरी नै “नेपाली भाषाको इतिहासको गोरखापत्रको प्रकाशन (विसं १९५८) एउटा महत्त्वपूर्ण घटनाका रूपमा देखापर्छ किनभने नेपाली भाषाको आधुनिक काल यसै प्रकाशनबाट प्रारम्भ भएको मानिन्छ (डा. चूडामणि बन्धू, गोरखापत्रको इतिहास, २०६७)” भन्ने भनाइले भाषिक क्षेत्रमा गोरखापत्रको कति महत्त्व छ, थाहा हुन्छ ।      

पत्रकारितालाई भाषा तथा सूचना, विचारको सम्प्रेषणद्वारा सांस्कृतिक चेतनासँग सिधै जोड्न सकिने भएकाले गद्य भाषा–शैलीको निर्माण र परिष्कारमा गोरखापत्र र यसकै भगिनी प्रकाशन ‘मधुपर्क’ महत्त्वपूर्ण पुलको भूमिका निर्वाह गर्न सफल भएका पनि छन् । ‘मधुपर्क’ नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा आफैँ एउटा इतिहास बनिसकेको छ । यसले नेपाली भाषा, कला–साहित्य र संस्कृतिको उन्नयनमा नेतृत्वदायी योगदान पुर्‍याउँदै आएको छ । ‘मधुपर्क’ ले प्रकाशनको ५७ वर्षको सुरुमै ६५७ औँ अङ्क प्रकाशित गरेर नेपाली साहित्यिक पत्रकारिताको इतिहासमै सर्वाधिक अङ्क प्रकाशनको गौरवशाली इतिहास बनायो । अरू कतिपय सन्दर्भमा कोसेढुङ्गा नै बन्यो ।  

नेपाली साहित्यको काल विभाजनमा माध्यमिक कालदेखि नै नेपाली भाषामा नाटक, निबन्ध, कथा, उपन्यास, जीवनी आदि साहित्यिक विधाहरू लेखिन र देखिन थालेका हुन् भने यही माध्यमिक कालमा निस्कन थालेको गोरखापत्रले यो गतिलाई अरू तीव्रता दिँदै गयो । हुन त गोरखापत्र समाचार पत्रिकाका रूपमा निस्कन थालेको हो । त्यसरी “नेपालीमा विभिन्न विधाको साहित्यिक प्रयोगको यो प्राथमिक काल थियो । ‘गोरखापत्र’ यो कालको साहित्यिक प्रयोगभूमि भयो र यसलाई अगाडि बढाउन सकभर प्रयत्नशील रहेको दृष्टान्त त्यसमा नियमित किसिमले छापिएका सामग्रीहरूबाट पाइन्छ (कृष्णचन्द्रसिंह प्रधान, गोरखापत्र ७५ औँ वार्षिक विशेषाङ्क, २०३३ वैशाख २४ गते) ।” 

विसं २००५ देखि केही वर्ष गोरखापत्रमा उपनिर्देशक हुँदा भाषाविद् पुष्करशमशेर जबराले गोरखापत्रको भाषाव्याकरणलाई मानकका रूपमा ल्याउन आवश्यक सुधार गर्नुभएको उल्लेख पाइन्छ । 

“१९६५ सालमै गोरखापत्रले व्याकरण र भाषाका त्रुटि औँल्याइसकेको हो । त्यस साल माघ ११ गते ‘मातृभाषाको उन्नति’ बारे कलम चलाइसकी त्यसको सातै दिनपछि १८ गते गोरखापत्रले गद्य र पद्य रचनामा देखिएका कमजोरीतर्फ इङ्गित गरेर “......जहाँसम्म सकिन्छ दोष बचाएर लेख्न आग्रह गरेको” हो (कमलमणि दीक्षित, गोरखापत्र शताब्दी अङ्क २०५७ वैशाख २४ गते) ।” त्यसरी नै “भाषाको दृष्टिले गोर्खापत्रलाई हेर्ने हो भने मोतीराम भट्टको पालामा सुरु भएको माध्यमिककालीन गद्य भाषालाई नै यसले टिपेको देखिन्छ (शिव रेग्मी, गोरखापत्र शताब्दी अङ्क २०५७ वैशाख २४ गते) ।”

विसं १९९१ फागुनमा ‘शारदा’ मासिक ननिस्कुन्जेल गोरखापत्रले नै नेपाली साहित्यको विविध विधाका माध्यमबाट नेपाली गद्यशैलीको निर्माण–विकासमा भूमिका खेल्दै आयो । २०१०÷२०११ सालतिर ‘विशेष पत्र’ का रूपमा यो अभियानलाई निरन्तरता दिन साहित्यका विविध विधामा योगदान गर्दै आएको गोरखापत्रले २०१९ साल असार ९ गतेदेखि ‘गोरखापत्र शनिवाशरीय परिशिष्टाङ्क’ निकाल्यो र “त्रिभुवन विश्वविद्यालयले नेपाली विषयको पाठ्यक्रममा सन्दर्भ सामग्रीका रूपमा राखेको थियो । ...पछि शनिवाशरीयको स्तर खस्कनुमा २०४५ सालमा प्रकाशित भएको ‘रमाइलो शुक्रबार’ अङ्क र त्यस्तै विषय र त्यही स्तरको लेखरचना तथा कर्मचारीहरूका केही हल्का खाले लेखरचनाले गर्दा पनि हो । (शिव रेग्मी, गोरखापत्र शताब्दी अङ्क २०५७ वैशाख २४ गते) ।”

गोरखापत्रले नेपाली साहित्यको माध्यमिक काललाई अगि बढायो भने ‘शारदा’ (१९९१) ले आधुनिक साहित्यको युग प्रारम्भ गर्‍यो । ‘शारदा’ लगभग बन्द हुने समयमा ‘रूपरेखा’ (२०१७) ले प्रयोगवादी धाराको विकास गर्‍यो र ‘रचना’ (२०१८) ले परिष्कारवादी धारालाई अगि बढायो । त्यही लहरमा ‘मधुपर्क’ (२०२५) ले आधुनिक र प्रयोगवादी दुवै धारालाई साथसाथै अगि बढाएर त्यसमा समसामयिक र अस्तित्ववादी धाराको समेत प्रवेश गरायो । यसबारे गहन शोध अनुसन्धान भएको छैन । यसतर्फ विद्वान्हरूको ध्यान जाने नै छ । 

विशेषाङ्क परम्परा 

‘मधुपर्क’ को अर्को विशेषता विशिष्ट विशेषाङ्कको परम्परालाई निरन्तरता दिनुमा रह्यो । २०२९ सालमा कला विशेषाङ्कबाट प्रारम्भ भएको यसको विशेषाङ्क परम्परामा त्यसको लगत्तै पछिल्लो वर्ष २०३० साल र २०३७ सालमा प्रकाशित कथा विशेषाङ्कले समकालीन नेपाली कथाको प्रतिनिधि सङ्ग्रहकै रूपमा मानक स्थापित गरेका छन् । त्यसपछि पनि २०५०, २०५६, २०५९, २०६० र २०६५ सालमा गरी सात वटा कथा विशेषाङ्क प्रकाशित भएका देखिन्छन् भने तीमध्ये एक/एक वटा लघुकथा, लोककथा र यौनकथासङ्ग्रह थिए । विषय र विधालाई केन्द्रमा राखेर निकालिएका विशेषाङ्कका अतिरिक्त पनि ‘मधुपर्क’ ले अरू दर्जनौँ स्रष्टाकेन्द्रित विशेष अङ्कहरू प्रकाशित गर्दै आएको छ । यो ५७ वर्षको अवधिमा कथाबाहेक पनि वाङ्मयका अनेकौँ विधामा चार दर्जन जति विशेषाङ्कको प्रकाशन ‘मधुपर्क’ को महत्त्वपूर्ण विशेष योगदान हो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानको ‘समकालीन साहित्य’, साझा प्रकाशनको ‘गरिमा’, नेपाल राष्ट्र बैँकको ‘मिर्मिरे’, कृषि विकास बैँकको ‘समष्टि’ आदि संस्थागत प्रकाशनका साथै ‘रूपरेखा’, ‘रचना’, ‘उन्नयन’ आदिका उल्लेख्य विशेषाङ्क प्रकाशन भए पनि तिनका सङ्ख्या थोरै छन् । पछिल्लो कालखण्डमा ‘भृकुटी’, ‘शब्दसंयोजन’, ‘नवप्रज्ञापन’, ‘सुरभि’ जस्ता निजीस्तरका प्रकाशनबाट पनि राम्रा विशेषाङ्क निस्किएका छन् । यति भएर पनि ‘मधुपर्क’ को सङ्ख्यालाई कसैले उछिन्न सकेका छैनन्, यो नै ‘मधुपर्क’ को विशेष योगदान पनि हो । 

‘मधुपर्क’ को अर्को विशेषता हो, प्रकाशनमा निरन्तरता । हाम्रो जस्तो प्रकाशन उद्योगको अझै पनि आवश्यक विकास हुन नसकेको तथा साहित्यलाई अनुत्पादक ठानिने समाजमा कुनै पनि साहित्यिक प्रकाशनले यति लामो जीवन पाउनु कम गौरवको विषय होइन । सुरुका केही अङ्क संयुक्ताङ्कका रूपमा प्रकाशित भए पनि त्यसपछिको समयमा ‘मधुपर्क’ ले सग्लो अङ्क प्रकाशित गर्दै आएको छ । नेपाली भाषा–साहित्य र संस्कृतिको विकासमा सघाएर नयाँ राष्ट्रिय संस्कृति निर्माण गर्ने कार्यमा भूमिका खेल्दै आएको गरिमामय प्रकाशन ‘मधुपर्क’ ले यसरी नेपाली साहित्यिक पत्रकारितामा उल्लेख्य योगदान गरेको स्विकार्नु पर्छ । आआफ्ना युग निर्माण गरेका पूर्ववर्ती ‘शारदा’, ‘रूपरेखा’, ‘प्रगति’, ‘नेपाली’, ‘रत्नश्री’ आदि अब आफैँ इतिहास बनिसके । अन्य पूर्ववर्ती प्रकाशन रचना कठिनतापूर्वक यात्रा गरिरहेका छन् । उत्तरवर्ती प्रकाशनहरू केही धर्मराउँदै प्रकाशित भइरहेका छन् । केही इतिहास बनिसके । यस पृष्ठभूमिमा ‘मधुपर्क’ ले नेपाली साहित्यिक पत्रकारिताकै इतिहासमा सर्वोच्च अभिलेख बनाएको छ, गरिमा धानेको छ । प्रकाशनको ५७ औँ वर्षको इतिहासको सुरुतिरै ६५७ औँ अङ्क प्रकाशित गरेर यसले आफ्नो इतिहास रचेको छ भन्दा अतिशयोक्ति नहोला ।   

‘मधुपर्क’ मा चार दशकसम्म प्रकाशित कथा, नियात्रा र हास्यव्यङ्ग्य निबन्धहरूबाट छानेर ‘मधुपर्क प्रतिनिधि कथा’, ‘मधुपर्क प्रतिनिधि हास्यव्यङ्ग्य’ र ‘मधुपर्क प्रतिनिधि नियात्रा’ जस्ता महत्वपूर्ण कृतिहरू प्रकाशित भएका छन् । यो पनि ‘मधुपर्क’ सँग जोडिएको अर्को गौरव हो । नेपाली पत्रकारिताकै इतिहासमा सर्वाधिक अङ्क प्रकाशित गर्न सफल ‘मधुपर्क’ मासिकको ५०० औँ बृहत् विशेषाङ्क २०६७ सालमा प्रकाशन भएको छ । यी सबै कार्यले मधुपर्कलाई नेपाली साहित्यिक पत्रकारिताको शीर्षभागमा स्थापित गरेका छन् । २०८१ जेठ ३० गते ‘मधुपर्क’ ले ५७ औँ वार्षिकोत्सव मनाइसकेको छ ।   

केही स्रोत 

  • गोरखापत्र ७५ औँ वार्षिकोत्सवाङ्क, २०३३ वैशाख २४ गते ।
  • गोरखापत्र शताब्दी अङ्क, २०५७ जेठ ।
  • मधुपर्क ५०० औँ पूर्णाङ्क, २०६७ माघ ।
  • मधुपर्क स्वर्ण वर्ष प्रवेश अङ्क २०७४ जेठ ।
  • विजय चालिसे, परिशीलन २०७७, बी.एन. पुस्तक संसार प्रालि । 

लेखक गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष हुनुहुन्छ । 

प्रस्तुत आलेख ‘साहित्यिक पत्रकारिताको सर्वोच्च अभिलेख मधुपर्क ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।