• ९ साउन २०८२, शुक्रबार

मणिमण्डपलाई पवित्र विवाह स्थल बनाइने

blog

जनकपुरधाम उपमहानगरपालिका–१३ मा निर्माण गरिएको सीता पुष्पवाटिका (मणिमण्डप) को उद्घाटन समारोहमा उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, साउन ८ गते  । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले ऐतिहासिक तथा धार्मिक दृष्टिले अतुलनीय महत्व बोकेको जनकपुरधामको सीता पुष्पवाटिका (मणिमण्डप) लाई हिन्दु धर्मावलम्बीका लागि पवित्र विवाह स्थलका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । 

सङ्घीय सहरी विकास मन्त्रालयको सहयोगमा जनकपुरधाम उपमहानगरपालिका–१३ मा निर्माण गरिएको सीता पुष्पवाटिका (मणिमण्डप) बुधबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  उपप्रधानमन्त्री सिंहले त्रेतायुगमा भगवान् राम र जगतजननी सीताको विवाहका लागि भगवान् विश्वकर्माले मणिजडित मण्डप निर्माण गरेकै कारण यस स्थलको नाम मणिमण्डप रहन पुगेको जनविश्वास रहेको उल्लेख गर्दै यहाँको समुचित विकासका लागि मन्त्रालयले विभिन्न खालका संरचना निर्माण गरेको बताउनुभयो । 

उहाँले यस स्थललाई अधिकतम सदुपयोगमा ल्याउन तिनै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यस ऐतिहासिक स्थललाई प्रचारप्रसार गरी विश्वमै पहिचान दिलाउन हामी सबै दत्तचित्त भएर लाग्नु पर्छ ।”

उपप्रधानमन्त्री सिंहले यहाँको सौन्दर्य वृद्धिका लागि बाँकी रहेका काम पूरा गर्ने र तयार भएका संरचनाको प्रवर्धन र संवर्धनका लागि स्थानीयवासीले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यव्रmममा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले यस ऐतिहासिक स्थललाई विवाह स्थलका रूपमा प्रचारप्रसार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यो स्थलको प्रचारप्रसार भए जनकपुरधाममा पर्यटक आगमन बढ्ने र यसले देशको अर्थतन्त्रमा समेत मद्दत पुुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको पूर्वाधार निमार्णका लागि सङ्घ सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादव, नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य आनन्द ढुङ्गानासहितकाले मणिमण्डप भगवान् राम–सीताको वैवाहिक स्थल रहेको भन्दै यसको प्रचारप्रसार गरी यसको महत्वबारे विश्वलाई जानकारी गराउनुपर्ने बताउनुभयो । 

सीता पुष्पवाटिका (मणिमण्डप) आयोेजना अन्तर्गत यस क्षेत्रमा सुविधासम्पन्न पार्टी प्यालेस भवनसहित दुई वटा धर्मशाला, दुई वटा पभेलियन निर्माण गरिएको छ । प्यालेस भवनमा ७० जना अटाउने हलसहित १६ वटा शयनकक्ष, भान्सा, खाना खाने हल, सङ्ग्रहालयलगायतका आवश्यक संरचना तयार गरिएको छ । 

त्यसै गरी दुई वटा सुविधासम्पन्न धर्मशाला रहेको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका निमित्त प्रमुख विनोद यादवले जानकारी दिनुभयो । उहाँले सीता पुष्पवाटिका (मणिमण्डप) आयोेजना अन्तर्गतका संरचना निर्माणमा हालसम्म १८ करोड ५३ लाख २१ हजार रुपियाँ खर्च भइसकेको जानकारी दिनुभयो ।

यसअघि उपप्रधानमन्त्री  सिंहले  बुधबार नै नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा पत्रकारसँग कुरा गर्दै मधेशमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन प्रमुख कारण रहेकाले चुरे संरक्षणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री सिंहले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताउँदै भन्नुभयो, “एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन । हिलो छ्यापाछ्याप गर्नुभन्दा पार्टीभित्रका कमीकमजोरी र त्रुटि सच्याउनु पर्छ । अस्वस्थ प्रतिस्पर्धाले कसैलाई राम्रो गर्दैन ।” नेपाली कांग्रेसका नेतासमेत रहेका सिंहले पार्टीको सङ्गठन सुदृढीकरणमा सबैले सहकार्य र समन्वय गरी लाग्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस कमजोर भए प्राप्त उपलब्धिसमेत गुम्ने खतरा रहेको भन्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न पार्टी बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।