काठमाडौँ, साउन ८ गते । भूकम्प गएको दस वर्ष पूरा हुँदासमेत अझै सम्पदा पुनर्निर्माण सकिएको छैन । राज्यसँग पर्याप्त बजेट नहुँदा दरबार, मठमन्दिर, गुम्बा, सत्तल, पाटीपौवालगायत संरचनाका पुनर्निर्माण समयमै पूरा नभएका हुन् । २०७२ वैशाख १२ गते भूकम्प जाँदा कुल एक हजार एक सय ३५ सम्पदामा क्षति भएको थियो ।
पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङका अनुसार भूकम्प प्रभावित ३१ जिल्लाका १०५ मठमन्दिर, केही पाटीपौवा, सत्तल तथा २१५ गुम्बा निर्माण गर्न करिब चार अर्ब रुपियाँ आवश्यक छ ।
उहाँले चालु आर्थिक वर्ष विभागले १० वटा मात्रै संरचना बनाउने लक्ष्य लिएको बताउनुभयो । “भूकम्प गएको दस वर्ष पूरा भइसक्यो । अझै पुनर्निर्माणको निवेदन आउन छाडेको छैन । भूकम्पले चर्किएर भत्किएको भन्ने भएपछि निवेदन लिँदैनौ भन्न सकिएको छैन,” उहाँले भन्नुभयो । राज्यसँग पर्याप्त बजेट नहुँदा सबै सम्पदा पुनर्निर्माण गर्न नसकिएको उहाँको भनाइ छ ।
अहिले पुनर्निर्माण गर्नुपर्ने सम्पदाको तथ्याङ्क मात्रै सङ्कलन भएकाले प्राविधिकले स्थलगत रूपमा अवलोकन गरेपछि यकिन बजेट भन्न सकिने उहाँको भनाइ छ । ऐतिहासिक तथा पुरातत्व संरचना बनाउन ऐतिहासिक मर्म नमर्ने गरी पुनर्निर्माण गर्नुपर्ने भएकाले महँगो पर्ने र बजेट धेरै लाग्ने गरेको उहाँको भनाइ छ ।
गुम्बा पनि जिम्मामा
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लाका गुम्बा पुनर्निर्माण गर्न पनि विभागलाई जिम्मा दिएको महानिर्देशक प्रधानाङले जानकारी दिनुभयो । प्राधिकरणले पुनर्निर्माण गर्न नसक्ने भनेपछि विभागले पुनर्निर्माण गरेर गुम्बा हस्तान्तरण गर्ने काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । “पहिले गुम्बा पुनर्निर्माण प्राधिकरणले गर्ने समझदारी भएको थियो । त्यसमा हामीले ध्यान दिएनौँ । अहिले प्राधिकरण विघटन भएपछि विभागले पुनर्निर्माण गर्नुपर्ने भएको छ,” उहाँले भन्नुभयो ।
भूकम्प प्रभावित ३१ जिल्लाका २१५ गुम्बामा क्षति भएको छ । ती सबै गुम्बाको अध्ययन गरेर पुनर्निर्माण गर्ने योजना बनाइने उहाँको भनाइ छ । प्रायः गुम्बा भूकम्प प्रभावित पहाडी र हिमाली जिल्लामा रहेको विभागले जनाएको छ ।
सात अर्बको पुनर्निर्माण
भूकम्प गएको दस वर्षमा विभागले झन्डै सात अर्ब रुपिँयाबराबरको सम्पदा पुनर्निर्माण गरिसकेको महानिर्देशक प्रधानाङले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२/७३ सालदेखि गत आर्थिक वर्षसम्म ६ अर्ब ९५ करोड ७८ लाख सात हजार रुपियाँको पुनर्निर्माण भएको उहाँले बताउनुभयो । जसबाट कुल ८१५ संरचनाको पुनर्निर्माण भएको हो । भूकम्पले क्षति पु¥याएका अधिकांश संरचना भारत, चीनलगायत देशले पुनर्निर्माण गरिदिएर हस्तान्तरण गरेकाले यकिन बजेट निकाल्न नसकिएको उहाँको भनाइ छ ।