• २२ मङ्सिर २०८२, सोमबार

अण्डाको मूल्य हालसम्मकै उच्च

blog

चितवन, मङ्सिर २२ गते । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् ।

पछिल्ला वर्षहरुमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य पाएका हुन् ।

देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ ।

 त्यसअनुसार ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) रु. ५८०, ठूलो अण्डा रु. ५६५ र मिडियम रु. ५५० कायम गरिएको छ ।यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट रु. ५६० पुगेको थियो । क्रमशः मूल्य घटेर रु. ४०० मा झरेको थियो ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु. २० ले बढेको हो । उहाँका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । 

भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको  खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रिन नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय सीमा नाका कडाइ गर्न सकियो भने नेपाली कृषकले मूल्य पाउने देखियो ।” 

सरकारी निकायले सीमा क्षेत्रमा कडाइ गरेर नेपाली किसान बचाउनुपर्ने उहाँको भनाइ छ । सङ्घका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमा समेत अण्डाको मूल्य बढेको छ । 

 भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा भित्र्याउने प्रयाससमेत कम भएको उहाँले बताउनुभयो । अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु. १६ दशमलव ५७ पर्न आउँछ । अहिलेको दरमा अण्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाएको उहाँले बताउनुभयो । 

पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष एवं सङ्घको अण्डाको बजारीकरण अभियानमा लागि रहनुभएका राजेन्द्र लामिछाने जाडो महिनामा अण्डाको खपत बढ्ने बताउनुहुन्छ । 

उहाँको भनाइमा जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण पनि माग बढेको हो । अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ ।

अण्डाको मूल्य नपाएपछि साना किसान विस्थापित भएका छन् भने बैङ्किङ् ऋण लिएर किसानहरुले ठूलो सङ्ख्यामा कुखुरा पाल्दा माग धान्न सकेको छ ।रासस