• ७ साउन २०८२, बुधबार

दाङमा ८० प्रतिशतमात्रै रोपाइँ

blog

दंगीशरण ३ हेकुली स्थित खेटर्वा खेतमा रोपिएको धान । तस्बिर : सन्तोष दहित

सन्तोष दहित 
घोराही, साउन ७ गते ।
दाङमा सिँचाइ पुगेका अधिकांश स्थानमा रोपाइँ सकिएको छ । देउखुरी क्षेत्रको अधिकांश र अन्य ठाउँको समेत गरी जिल्लाभरमा ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

दाङमा रहेको ७४ हजार तीन सय ३६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये धान खेती हुने क्षेत्रफल ३७ हजार दुई सय २५ हेक्टर हो । हालसम्म २९ हजार सात सय ८० हेक्टरमा रोपाइँ सकिएको सरकारी रेकर्ड छ । कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा धेरै घोराहीमा आठ हजार ९७ हेक्टरमा धान रोपाइँ हुनेमा ६ हजार चार सय ७८ हेक्टरमा रोपाइँ सकिएको छ ।

त्यसैगरी, ६ हजार सात सय ९५ हेक्टर धान खेती हुने तुलसीपुरमा पाँच हजार ९६, दुई हजार एक सय ५० हेक्टर धान खेती हुने बबईमा एक हजार पाँच सय पाँच, एक हजार एक सय ४३ हेक्टर क्षेत्रफलमा धान खेती हुने बंगलाचुलीमा नौ सय ९४, तीन हजार चार सय १२ हेक्टरमा धान खेती हुने दंगीशरणमा दुई हजार नौ सय, तीन हजार दुई सय ८० हेक्टर धान खेती हुने गढवामा तीन हजार दुई सय १४, तीन हजार दुई सय ५० हेक्टर धान खेती हुने लमहीमा तीन हजार एक सय ८५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको ज्ञान केन्द्रले जनाएको छ ।

त्यस्तै, तीन हजार एक सय तीन हेक्टर क्षेत्रफलमा रोपाइँ हुने राजपुरमा दुई हजार सात सय ९३, तीन हजार दुई सय ४५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने राप्तीमा तीन हजार दुई सय १३, दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने शान्तिनगरमा दुई हजार दुई सय ५५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।