• ७ साउन २०८२, बुधबार

मनोहरामा ‘राजपुत्रिका’ को नाच

blog

काठमाडौँ, साउन ७ गते । नेपालमा वैशाखयता तीन वटा नयाँ प्रजातिको चरा फेला परेका छन् । पछिल्लो समय गत असार ६ गते भक्तपुरको मनोहरा फाँटमा नयाँ चरा भेटिएसँगै वैशाखयता फेला परेका चराको सङ्ख्या तीन वटा पुगेको हो । यो चरा नयाँ भएको पुष्टि मङ्गलबार ‘नेपाल बर्ड रेकर्ड कमिटी’ ले गरेको छ । योसँगै नेपालमा चरा प्रजातिको सङ्ख्या ९०२ पुगेको कमिटीका अध्यक्ष डा. तुलसी सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार समुद्र सतहबाट एक हजार ३१९ मिटर उचाइमा रहेको मध्यपुर थिमिस्थित मनोहरा फाँटमा ‘साइबेरियाली राजपुत्रिका’ फेला परेको हो । साइबेरियन स्यान्ड प्लोभर अर्थात् साइबेरियन राजपुत्रिका नामको चरा भक्तपुरमा भेटिएको नेपाल पन्छीविद् सङ्घका कार्यकारी निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिनुभयो । नेपालका चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेसहितको चरा अवलोकन टोलीले असार ६ गते दिउँसो उक्त चरा पहिलो पटक देख्नुभएको थियो । प्रकृतिसँग रमाउने र फोटो खिच्ने सोख राख्ने चराप्रेमीले एकसाथ साइबेरियन राजपुत्रिकालाई मनोहरा फाँटमा नाच्दै, रमाउँदै गरेको फेला पारेका थिए । 

पाण्डेले भन्नुभयो, “त्यो दिन पनि हामीले नौलो चरा देखेपछि फोटो खिच्यौँ, त्यो साँच्चिकै नेपालका लागि नयाँ चरा बनेर थपियो ।” उहाँका अनुसार एक हप्ताअघि घुम्न जाँदा पनि त्यो जस्तै चरा देखिएको थियो । पछि दाँजेर हेर्दा फरक पाइयो । पहिलेको तिब्बतबाट आएको चरा थियो । पछिको साइबेरियाबाट आएको चरा थियो । निधारमा कालो धर्साले दुई चरालाई छुट्याएको थियो । सूचना प्रविधि (आइटी) क्षेत्रमा काम गर्ने पाण्डेले आफ्नोतर्फबाट अध्ययन गरेर पुष्टि गर्न नेपाल पन्छीविद् सङ्घमा विवरणसहित चराको तस्बिर पठाउनुभएको थियो । सङ्घका अध्यक्ष तुलसी सुवेदीले भन्नुभयो, “हामीले प्राप्त विवरणको अध्ययन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्सँग रायसुझाव सङ्कलन गरी नेपालका लागि नयाँ चरा अभिलेख भएको निष्कर्षमा पुग्यौँ ।” 

उक्त चराको नेपाली नाम साइबेरियाली राजपुत्रिका राखिएको जानकारी उहाँले दिनुभयो । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घको रेड लिस्ट अनुसार साइबेरियन राजपुत्रिका लोपोन्मुख प्रजाति अन्तर्गत पर्छ । यो चरा रुसको साइबेरियामा पाइन्छ । हजारौँ माइलको यात्रा तय गरेर नेपालसम्म आइपुग्ने गर्छ । नेपालसँगै यो चरा बसाइँसराइको क्रममा चीन, फिजी, हङकङ, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, पपुवा न्युगिनी, फिलिपिन्स, ताइबान, टिमोरलेस्ट, अस्ट्रेलिया, न्युजिल्यान्डसम्म पनि पुग्ने गरेको वरिष्ठ चराविद् लक्ष्मण पौड्यालले जानकारी दिनुभयो ।