• ७ साउन २०८२, बुधबार

‘जुगमाथिको ‘दस्ताबेज’

blog

नेपालको पत्रकारितालाई आमसञ्चारको सांसारिक विकासभन्दा निरपेक्ष रूपमा हेरिनु सान्दर्भिक हुँदैन । पत्रकारिताको अभ्यास र संस्थागत आकारलाई पनि विश्व राजनीतिक प्रणाली, रूपान्तरण तथा विकासभन्दा पर राखेर बनाइने दृष्टिकोण अपूर्ण हुन्छ । राजनीतिक प्रणालीले त अझ पत्रकारिताको व्यावसायिक सीमा र प्रयोगमा प्रत्यक्ष प्रभाव राख्दछ । नेपाली पत्रकारिताको गौरवपूर्ण विम्ब गोरखापत्र, नेपाली इतिहासको समेत जीवन्त ऐना हो, यो हाम्रो समाज रूपान्तरण बुझाउने समग्र दस्ताबेज हो भन्दा पनि अतिशयोक्ति नहोला । 

नेपाली पत्रकारिताको इतिहास गोरखापत्रलाई अलग राखेर पूरा हुँदैन किनकि यो प्रारम्भ हो । जुन राजनीतिक परिवेश, पृष्ठभूमिमा यसको सुरुवात भयो, त्यसलाई देखाएर कहिलेकाहीँ गोरखापत्रको गरिमालाई साँघुरो पार्ने प्रयत्नसमेत हुने गरेका छन् । ‘नागरिकले शिक्षा–सूचना पाउँदा जान्ने हुन्छन्, जागरुक हुन्छन् र त्यसले शासनलाई चुनौती हुन्छ’ भन्ने राणाकालीन शासनकालमै विसं १९५८ मा गोरखापत्रको प्रकाशन सुरु भयो । तत्कालीन अवस्थामा राणा शासनका कमीकमजोरी लुकाउन र श्री ३ हरूका सकारात्मक विषय जनतामा लगेर शासनपद्धति नागरिकमैत्री र जवाफदेही छ भन्ने देखाउने मनसायका साथ सुधारवादी राणा शासकका रूपमा रहेका श्री ३ देवशमशेरले गोरखापत्रको प्रकाशन सुरु गरेको इतिहासबाट पुष्टि हुन्छ । गोरखापत्र प्रकाशन प्रभावका आयाम राणाकालीन नियत र अन्तर्निहित स्वार्थसँग मात्रै सीमित नरहेकाले कुण्ठित राणा दृष्टिबाहेकका विषय उत्तिकै अध्ययन र उजागर प्रभावी छन् । 

गोरखापत्रको प्रकाशन सुरुवातताका नेपालको शासनपद्धति र सामाजिक संरचनाबारे जानकारी राख्नुपर्ने एउटा पक्ष हो । अर्को महत्वपूर्ण पक्ष, समकालीन विश्व राजनीति, युद्धकेन्द्रित एवं अधिनायकत्वलक्षित ध्रुवीकरण र एसियाली राष्ट्रको सामर्थ्य एवं विकासबारेको अध्ययनले मिडिया, परिवर्तन र त्यसमा गोरखापत्रको स्थानबारेको बुझाइलाई फराकिलो बनाउँछ । गोरखापत्रको ऐतिहासिक पृष्ठभूमि तथा दृष्टिकोण व्यापकताको  उजागर आवश्यक छ । 

नेपालमा प्राज्ञिक अनुसन्धानको अवस्था सन्तोषजनक छैन । त्यसैमा मिडिया अनुसन्धान त नगण्य नै छ । मिडियामाथिको अध्ययन, अनुसन्धानले समाजका अन्य पक्षबारेको ज्ञानलाई समेत बृहत् बनाउँछ । गोरखापत्रका हरेक अङ्क, शब्द र प्रस्तुति नयाँ पुस्ता र समाजका लागि अध्ययनका सामग्री हुन् । राज्यको वैधतासहित सवा सय वर्षको इतिहास बोकेको संस्थामाथि अनुसन्धानका असीमित विषय छन् । गोरखापत्र केवल गोरखापत्र मात्रै नभएकाले पनि एउटै पुस्तक वा अनुसन्धानबाट यसबारे पर्याप्त विषय आउँछन् भन्ने होइन । यो पुस्तकमार्फत गोरखापत्र र संस्थानका बहुआयामबारे सामग्री प्रकाशन गरेर जीवन्त साक्षी दस्ताबेजमाथि ‘युगसाक्षी’ नामक दस्ताबेज तयार गर्न खोजेका छौँ । 

आमसञ्चार माध्यम र प्रविधिमा भएको विकासले पत्रकारिताको सीमा र स्वरूपमा व्यापकता ल्याएको छ । सूचना प्रविधि कृत्रिम बौद्धिकतासम्मको अवस्थामा आइपुग्दा स्वाभाविक रूपमा सञ्चारका पुराना अभ्यासमा चुनौती थपिएको छ तर बदलिएको परिस्थिति पत्रकारिताको पहुँच र प्रभाव बढाउने अवसर पनि हो । परम्परागत अभ्यासलाई युग सुहाउँदो बनाउन प्राविधिक रूपान्तरण निःसर्त छ नै, नकारात्मकता केन्द्रित हुन थालेको पत्रकारितालाई गुणस्तरीय र रचनात्मक बनाउनु अहिलेको आवश्यकता हो । 

गोरखापत्रको प्रकाशन सुरु भएको १२५ वर्ष पुगेको यो बेला नेपाली पत्रकारिता इतिहासले एक जुग पूरा गरेको छ । अब गोरखापत्रलगायतका अग्रणी मिडिया हाउसले सूचना प्रवाह गर्ने चलनचल्तीको जिम्मेवारीसँगसँगै पत्रकारिताबारे प्राज्ञिक बहस पनि गर्नु पर्दछ । आजको समाजले पत्रकारितामा खोजेको विश्वास र जिम्मेवारी बोधलाई परिपूर्तिका लागि यस्ता बहसमार्फत निश्चय नै सहयोग पुग्नेछ । यस्तै अन्तर्यका साथ अगाडि बढ्न खोजेका छौँ । 

शत–रजत वरिपरिका सत्प्रयास 

पत्रकारितामा गोरखापत्र संस्थान र यसका प्रकाशनको ओजपूर्ण इतिहास र वैधता छ । साख र गरिमाले निःसन्देह यसलाई युग संस्थाका रूपमा स्थापित गरेको छ । संस्थानका प्रकाशनको विविधता र ती सबै प्रकाशनले बोकेको विशिष्टता नेपाली समाजकै सम्पत्ति हो । गोरखापत्र दैनिकसँगै ‘दी राइजिङ नेपाल’, ‘मधुपर्क’, ‘युवामञ्च’, ‘मुना’, https://gorkhapatraonline.com/ र https://risingnepaldaily.com/ ले विषय एवं पाठकका भिन्न भिन्न माग र आवश्यकतालाई सम्बोधन गरेका छन् । प्रकाशनमा रहेको विविधताका हिसाबले नेपाल र एसियास्तरमै यति ठुलो संस्थागत क्षमता भएको ‘मिडिया हाउस’ धेरै कम छन् । 

गोरखापत्रको १२५ औँ तथा संस्थानको ६३ औँ वार्षिकोत्सव मनाउँदै गर्दा संस्थानको पृष्ठभूमि, अविच्छिन्न योगदानको चर्चा स्वाभाविक रूपमा हुनुपर्दछ । संस्थानको अवस्था र अबको बाटोका विषयमा उठ्ने प्रश्नसमेत असान्दर्भिक होइनन् । उत्तरदायित्वका हिसाबले संस्थानको विद्यमान अवस्थासँगै भइरहेको प्रयासबारे उल्लेख गर्नु हाम्रो कर्तव्य हो । त्यसैले एक जुगको एक पत्रिका १२५ औँ (संस्थानको ६३ औँ) वर्ष प्रवेशको यो सन्दर्भमा संस्थानको अवस्थाबारेको चासोलाई समेत आत्मसात् गर्दै यस पेरिफेरीमा गरिएका तथा भइरहेका केही प्रयासबारे यही पुस्तक र आलेखमार्फत सङ्क्षेपीकरण गर्नु उपयुक्त हुने विश्वास छ । 

समाचारमा नागरिक पहिलो : गोरखापत्रका प्रकाशनलाई सरकारी मुखपत्रका रूपमा लिने र बुझिने भाष्य थियो र छ । यसका दुई वटा कारण छन् । पहिलो, स्वायत्त संस्था भए पनि नियन्त्रित संरचनागत अभ्यास । दोस्रो, सरकारको पैरवीसहित प्रकाशन हुने समाचारका विषयवस्तु । विशेष गरी गोरखापत्र दैनिक, ‘दी राइजिङ नेपाल’, gorkhapatraonline.com, risingnepaldaily.com । अझ अनलाइनको सरकारी मुखपत्रको पहिचानलाई उच्च व्यावसायिकता परिणत गर्न सम्पादकीय सामग्रीमा ‘पब्लिक भ्वाइस फर्स्ट’ को नीति अपनाएका छौँ । संस्थानका प्रकाशनलाई नागरिकका आवाज बनाउने प्रयत्नसहित समाचार सामग्रीलाई स्थान दिएका छौँ । 


हामी सम्पूर्ण रूपमा अपेक्षाकृत हुन सकेका छौँ भन्ने दाबी होइन तर संस्थानका प्रकाशनका पछिल्ला विषयवस्तुको स्वतन्त्र र तुलनात्मक अध्ययन गरिए नागरिक आवाज बन्ने प्रयत्न गरेको तथ्यले पुष्टि हुनेछ । प्राप्त प्रतिक्रिया तथा बजारको औसत स्वीकारोक्तिले पनि ‘पब्लिक भ्वाइस फर्स्ट’ भन्ने नीतिमा जान सकेको कुराका प्रति सन्तोष गर्ने छुट छ । भावी दिनमा थप खरो र परिष्कृत हुँदै जाने योजना सफल हुन सके गोरखापत्र संस्थानका प्रकाशनप्रतिको परम्परागत धारणालाई चिर्न सकिने अपेक्षा लिएका छौँ । यसबाहेक शैली पुस्तिकाको निर्माण र प्रयोगले भाषागत एकरूपता, स्पष्टता तथा प्रकाशनहरूको लेआउटमा गरिएको परिवर्तनले थप प्रतिस्पर्धी हुन सहयोग पुगेको छ । नाफामा संस्थान, आम्दानी वृद्धि : सीमित बजार, बढ्दो प्रतिस्पर्धा, सञ्चारका वैकल्पिक माध्यमको तीव्र विकास, आर्थिक सङ्कुचनलगायतका कारणले अहिले नेपालको विज्ञापन बजार सङ्कटग्रस्त छ । कोरोना महामारीपछि नेपाली विज्ञापन बजार आधाभन्दा बढीले खुम्चिएको विभिन्न अध्ययनले देखाएको छ । त्यसैमा छापा माध्यमले पाउने विज्ञापनमा चिन्ताजनक ह्रास आएको छ । यही कारणले केही मिडिया बन्द नै भएका छन् भने केही आर्थिक चुनौतीको सामना गरिरहेका छन् । अन्य सञ्चार माध्यममा जस्तै स्वाभाविक रूपमा गोरखापत्र संस्थानका प्रकाशनको मूल आम्दानीको स्रोत विज्ञापन नै हो । सरकारी सञ्चारगृह भएकाले सरकारकै नियमित बजेट प्रणालीमार्फत गोरखापत्र संस्थान सञ्चालित भएको भन्ने बुझाइ आमरूपमा छ तर कुल आम्दानी र खर्चको धेरै थोरै अंश त्यो पनि कार्यक्रममा आधारित (नयाँ नेपाल र डिजिटल अर्काइभ) अनुदान मात्रै नेपाल सरकारबाट संस्थानलाई प्राप्त हुन्छ । यसै कारण संस्थान आत्मनिर्भर हुनुको विकल्प छैन, जुन अत्यन्तै सकारात्मक हो । 

बजार अवस्था प्रतिकूल रहेकै परिस्थितिमा पनि गोरखापत्र संस्थानको पछिल्ला तीन वर्षको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । प्रकाशनका सामग्रीमा बढेको विश्वास तथा परिस्थिति अनुसारको बजार रणनीति लिँदा हामीले यो सफलता हासिल गरेका छौँ । बजार अर्थात् विज्ञापनका सम्भाव्य स्रोतसँग सीधा सम्पर्क स्थापित गर्ने हाम्रो रणनीति प्रभावकारी देखिएको छ । प्रतिस्पर्धी बजारमा ‘विज्ञापनदाताले गोरखापत्र खोज्ने होइन, गोरखापत्रले विज्ञापनदाता खोज्नुपर्छ’ भन्ने मान्यता साथ अगाडि बढेका छौँ । 

विज्ञापन आम्दानीमा देखिएको सुधारसँगै संस्थान पछिल्ला तीन वर्ष नाफामा छ । नेपाल सरकार अर्थ मन्त्रालयद्वारा तयार गरिने संस्थान समीक्षा रिपोर्टले संस्थानलाई नाफामा देखाएको छ भने सदनमा समेत उक्त विषय प्रस्तुत भएको छ । तिनै वर्षको नाफासमेत तुलनात्मक रूपमा वृद्धि हुनु हाम्रा लागि थप सुखद पक्ष हो । संस्थानको आर्थिक सबलीकरणका लागि प्रकाशनको गुणस्तर सुधार, बजारीकरण तथा निकायगत साझेदारीलाई प्राथमिकताका साथ निरन्तरता दिएका छौँ । यता, वितरणलाई पनि व्यवस्थित बनाउने प्रयास जारी छ । संस्थानको आम्दानीको स्रोत प्रकाशनको बिक्रीवितरण पनि हो । ग्राहक सङ्ख्या वृद्धि र वितरणलाई व्यवस्थित बनाउने कार्य भएको छ । नेपालमै पहिलो पटक बहुवर्षीय ग्राहक योजना संस्थानले सञ्चालन गरेको छ । यस्तै व्यापार र वितरणका सम्बन्धमा नीतिगत रूपमा थालिएको सुधारले पनि संस्थानको विज्ञापन र वितरण बजार समयानुकूल प्रवर्धन हुने विश्वास छ । 

प्रशासनिक रूपान्तरण : सञ्चारगृहका लागि सम्पादकीय उत्पादनको विश्वसनीयता सबैभन्दा ठुलो पुँजी हो । सञ्चारगृहमा पत्रकारिताको प्रत्यक्ष अभ्यास गर्ने सम्पादकीय कर्मसँगै प्रशासनिक कार्य वा संरचना अपरिहार्य छ । जसरी विश्वसनीयता आर्जन गर्न सम्पादकीय सामग्री महत्वपूर्ण छ, त्यस्तै सम्पादकीय कार्यलाई प्रभावकारी बनाउन व्यवस्थापकीय कार्यसम्पादन नभई हुँदैन । सम्पादकीय उत्पादन र प्रशासनिक कार्यसम्पादनको समुचित संयोजनले नै ‘मिडिया हाउस’ प्रभावकारी बन्दछ । गोरखापत्र संस्थानका सन्दर्भमा पुरानो र ठुलो प्रशासनिक आकार भएको संस्था नेपालमा अब थोरै मात्र बाँकी छन् । 

संस्थानको विशिष्ट कार्यप्रकृतिलाई ख्याल गर्दै प्रशासनिक कार्यसम्पादनलाई व्यवस्थित एवं चुस्त बनाउन प्रयत्न गरेका छौँ । पुरानो सोच र शैलीबाट निर्देशित संस्थालाई एकै पटक सम्पूर्ण रूपान्तरण गर्न सम्भव छैन । सूचना प्रविधिको पूर्वाधार निर्माण गरेर त्यसमार्फत कार्यसम्पादन गर्ने गरी अगाडि बढ्ने प्रयत्न गरिएको छ । नेपाल सरकारको डिजिटल नेपाल अन्तर्गत ‘पेपर लेस’ को अवधारणा अनुसार एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) लागु गरिएको छ । यसले संस्थानको कार्यसम्पादनलाई प्रविधिमैत्री एवं मितव्ययी बनाएको छ । 

संस्थानको सङ्गठन संरचनामा पुनरवलोकनसहित O & M सर्भे गरी प्रतिवेदन अन्तिम चरणमा छ । संस्थान सञ्चालक समितिबाट पास भई प्रक्रियागत औपचारिकता पाउन बाँकी यो प्रतिवेदनमा संस्थानको अहिलेको संरचनामा व्यापक हेरफेर गरिएको छ । बदलिएको Media Landscape लाई आत्मसात् गरी त्यही अनुसारको संरचना निर्माण गरिएको छ । 

हाल रहेका कर्मचारीको वृत्ति विकासमा असर नपर्ने गरी दरबन्दी सङ्ख्यामा कटौती गरिएको छ । उपरोक्त सङ्गठन संरचना लागु गरी संस्थालाई समयानुकूल चुस्तदुरुस्त बनाउने प्रयत्न जारी छ । कर्मचारीको प्रोत्साहनमा अधिकतम ध्यान दिइएको छ भने कार्यसम्पादनलाई छरितो र स्तरीय बनाउन आवश्यकता र मागमा आधारित क्षमता विकासका कार्यक्रम सञ्चालन गरिएको छ । कानुनको अधीनमा रहेर सेवा सुविधा तथा अवसरमा लचकतासमेत अपनाइएको छ । 


नीतिगत/कानुनी प्रयत्न : गोरखापत्र संस्थानको शिरमा गोरखापत्र संस्थान ऐन छ । ऐनकै नीतिगत नियन्त्रणमा संस्थान सञ्चालित छ । २०१९ सालमा निर्मित ऐन बेला बेलामा संशोधन भएको भए पनि समयसापेक्ष बनाउन यसको विस्थापन वा परिमार्जन अति आवश्यक छ । यसका लागि तालुक मन्त्रालयको संयोजन र सहजीकरणमा संस्थानबाटै अवधारणागत सुझाव/मसौदा तयार गरिएको छ । जसमा यसको दीर्घकालीन भविष्य र थप व्यवसायीकरणका सम्बन्धमा केही संरचनागत तथा नीतिगत विषय उठान गरिएको छ । 

यस्तै संस्थानको विनियमावलीलाई सापेक्ष बनाउन मसौदा निर्माण गरी स्वीकृतिको प्रक्रियामा छ । सङ्गठित संस्थाका रूपमा रहेको संस्थानको कर्मचारी सङ्गठनलाई प्रभावकारी बनाउन विनियमावलीमार्फत सम्बोधन गरिएको छ भने संस्थालाई समयानुकूल बनाउने प्रयत्न पनि गरिएको छ । सञ्चारगृहका रूपमा रहेको संस्थानको विशिष्ट प्रकृतिसँगै कर्मचारीको सर्वोत्तम हितलाई आत्मसात् गरी विनियम निर्माण गरिएको छ । 

यस्तै संस्थानमा रहेका बिक्री तथा वितरण निर्देशिकालाई थप सान्दर्भिक बनाउन संशोधनको कार्य अन्तिम चरणमा छ । बजार तथा वितरणका नयाँ आयामलाई निर्देशिकामा व्यवस्था गरी संस्थानका प्रकाशनको बिक्री एवं व्यापारलाई व्यवस्थित र थप प्रतिस्पर्धी बनाउन संशोधन महत्वपूर्ण हुनेछ । डिजिटल अर्काइभलाई गति दिन कार्यविधि निर्माण गरी अगाडि बढाइएको छ । नयाँ नेपाल भाषा अन्तर्गत भाषा थप गर्ने तथा भाषा प्रकाशनको सम्पादकीय सामग्रीमा योगदान गर्ने व्यक्ति छनोटलाई आधारयुक्त बनाउन मापदण्डसहितको कार्यविधि निर्माण एवं भाषा आयोग, सञ्चार मन्त्रालय, राष्ट्रिय अभिलेखालयका प्रनिनिधिसहितको संस्थागत संरचनाको अभ्यास गरिएको छ । मातृभाषाको संरक्षणका लागि महत्वपूर्ण गोरखापत्रको नयाँ नेपालमा प्रकाशन हुने भाषा सङ्ख्या ४५ पुगेको छ । संस्थानको साझेदारी विकास हुने, संस्थागत प्रभावकारिता बढ्ने गरी अन्य नीतिगत तथा कानुनी सुधारको प्रयास भइरहेको छ । 

पूर्वाधार विकास : संस्थानसँग रहेको भौतिक सम्पत्तिको संरक्षण र परिचालन एउटा महत्वपूर्ण पाटो छ भने अति आवश्यक केही संरचना निर्माण पनि उत्तिकै जरुरी छ । केन्द्रीय कार्यालय बाहेक संस्थानसँग कोहलपुर, विराटनगरमा भौतिक संरचना छ । यी संरचनाको संरक्षणसहित व्यावसायिक लाभ लिने गरी योजना निर्माण आवश्यक छ । जसका लागि केही प्रयास भएको छ । न्युरोड जस्तो ‘प्राइम’ स्थानमा संस्थानको केन्द्रीय कार्यालय भए पनि भूकम्पले क्षतिग्रस्त भवनमा जोखिमपूर्ण रूपमा कार्य गर्नुपरेको छ । भवन पुनर्निर्माणका लागि पटक पटक भएका हाम्रा प्रयास सफल हुन सकेका छैनन् । व्यावसायिक प्रयोजनमा लगाएर संस्थानको दीर्घकालीन आम्दानीको स्रोतका रूपमा विकास गर्न सकिने गरी भवन निर्माणका लागि गरिएको मेहनतले नतिजा पाउने विश्वास भने कायमै छ । 


विसं १९६७ माघ १३ गते सोमबारको गोरखापत्र ।

संस्थानमा भएको पूर्वाधार प्रयोग गरी कार्यसम्पादनलाई सहज बनाउने गरी केही संरचना निर्माण गरिएको छ । प्रकाशनहरूका समाचार कक्षलाई अत्याधुनिक बनाउँदै एकीकृत समाचार कक्षको अवधारणासहित ‘स्मार्ट न्युज रुम’ निर्माण गरिएको छ । यस्तै डिजिटल अर्काइभलाई नतिजामुखी बनाउन संस्थानमै अत्याधुनिक ल्याब स्थापना गरी त्यहीँबाट डिजिटाइनेसन कार्य भइरहेको छ । ल्याब स्थापनापश्चात् डिजिटल अर्काइभका लागि अन्य निकायमाथिको संस्थानको निर्भरता हटेको छ । पुस्तकालयको स्तरोन्नति गरी संस्थानमा भएका स्रोतको संरक्षण गरिएको छ भने त्रिभुवन विश्वविद्यालयसँगको साझेदारीमा डिजिटल लाइब्रेरी निर्माण गर्ने कार्ययोजनामा छ । अन्तर्वार्ता तथा मल्टिमिडिया सामग्री उत्पादन सहजताका लागि स्टुडियो निर्माण गरी सञ्चालनमा ल्याइएको छ । कार्यस्थल व्यवस्थित बनाउन अन्य भौतिक संरचनाको विस्तार र विकास गरिएको छ । डिजिटल युगको डिजिटल संस्थानमा बनाउने लक्ष्यका साथ सर्भर प्रणालीलाई व्यवस्थित बनाइएको छ भने डिजिटल (आइटी) पूर्वाधार विकासमा अधिक ध्यान दिइएको छ । 

मोबाइल एप्सको सुधार गरी संस्थानले डिजिटल प्लेटफर्ममा आफ्नो पहुँच विस्तार गरेको छ । सामाजिक सञ्जालमा सामग्री उपलब्ध गराउने कार्यबाट हाम्रो पहुँचलाई समयानुकूल बनाइएको छ । डिजिटलमा पाठकको पहुँच वृद्धि गर्न ‘हाम्रो पात्रो र नेपाली पात्रो’ का माध्यमबाट पनि हेर्न र पढ्न सकिने व्यवस्था गरिएको छ । आवश्यकता अनुसार मल्टिमिडिया सामग्री तयार गर्ने गरिएको छ । 

बहुभाषिक सामग्री प्रकाशन, इन्टरएक्टिभ फिचरहरू र मल्टिमिडिया सामग्रीको प्रयोगले गोरखापत्रलाई डिजिटल मिडियामा अग्रणी बनाएको छ । छापा माध्यम र डिजिटल सामग्रीबिचको तादात्म्य बढाउन संयुक्त अन्तर्वार्ता लिने र भिडियोको क्युआर कोड छापामा प्रकाशन गर्न थालिएको छ । क्युआर कोडमार्फत भुक्तानीको व्यवस्थाले ग्राहकलाई धेरै सजिलो बनाएको छ ।

वित्तीय अनुशासन र आधुनिक लेखामान प्रणाली : संस्थानमा वित्तीय अनुशासन पालना गर्ने अधिक प्रयास गरिएको छ । खरिददेखि भुक्तानीसम्मको प्रक्रियालाई व्यवस्थित गरिएको छ । खरिद गुरुयोजना–योजना निर्माण र आवश्यकताका आधारमा मात्रै खरिद गर्ने परिपाटी सुरु गरिएको छ । लेखा परीक्षणले विगतमा देखाएका कैफियतलाई समेत ध्यानमा राख्दै संस्थानको आर्थिक विनियमावली तथा प्रचलित अन्य कानुनको अधीनमा रहेर भुक्तानी गर्ने गरिएको छ । संस्थानमै बन्ने विभिन्न उपसमिति तथा कार्यदललाई दिइने अतिरिक्त सुविधा कटौती गरिएको छ । यस्तै अतिरिक्त कार्य गरेबापतको सुविधालाई व्यवस्थित पारिएको छ । स्वाभाविक अर्थात् नियमित जस्तो लाग्ने यी ससाना प्रयासले संस्थानमा आर्थिक अनुशासन कायम गर्न ठुलो मद्दत पुगेको छ । 


गोरखापत्र संस्थानमा रहेको अत्याधुनिक स्टुडियोमा डिजिटल अर्काइभिङ गरिँदै ।

लामो समयदेखि हुन नसकेको लेखा परीक्षण सम्पन्न भएको छ । अत्याधुनिक मानिने लेखामान प्रणाली NFRS अनुसार लेखा परीक्षण गर्न थालिएको छ । लेखा प्रणाली व्यवस्थित हुन नसकेको नेपालकै पुरानो संस्थानमा यसप्रकारको विश्व मापदण्डको लेखा प्रणाली लागु गर्ने कुरालाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छौँ । यस्तै ऋण, ब्याज, करसहितका बक्यौता रकम भुक्तानी चुक्ता गरिएको छ भने अवकाश भएर जाने कर्मचारीलाई एकै पटक समयमा उपदान रकम पाउने सुनिश्चित गरिएको छ । यसै गरी लामो समयदेखि निरन्तर नभई अलपत्र अवस्थामा रहेको कर्मचारी कल्याण कोषलाई व्यवस्थित गर्ने प्रयास गरिएको छ । 

डिजिटल अर्काइभ तथा सङ्ग्रहालय : संस्थानका पुराना प्रकाशन आफैँमा महत्वपूर्ण सम्पत्ति हुन् । तिनको संरक्षण आजका दिनको महत्वपूर्ण जिम्मेवारी हो । भविष्यको पुस्तालाई अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण हाम्रा प्रकाशनहरूको डिजिटाइजेसनलाई तीव्र पारिएको छ । सञ्चार मन्त्रालयको सहयोगमा करिब एक दशकअगाडि नै डिजिटल अर्काइभ गर्ने योजना सुरु भएको भए पनि उल्लेखयोग्य प्रगति थिएन । अहिले आवधिक कार्ययोजनासहित आफ्नै ल्याब निर्माण गरेर डिजिटल अर्काइभको कामलाई तीव्र पारिएको छ । 

संस्थानका पुराना प्रकाशन तथा फोटोको डिजिटल अर्काइभ गरी सर्भरका माध्यमले नागरिक पहुँचमा लैजाने कार्य भइरहेको छ । हालसम्म ९२ वर्षभन्दा बढीको गोरखापत्र, ३८ वर्षको ‘दी राइजिङ नेपाल’ तथा ४६ वर्षको ‘मधुपर्क’ को डिजिटल कपी निर्माण सम्पन्न भइसकेको छ । बाँकी प्रकाशनलाई डिजिटाइज गर्ने र सार्वजनिक पहुँचमा लैजान सर्भर प्रणाली निर्माण गर्ने कार्य अहिले अन्तिम चरणमा छ । केही समयमै गोरखापत्र संस्थानका ऐतिहासिक पुराना प्रकाशनका हरेक अङ्क सबैको पहुँचमा हुनेछन् । यसले गोरखापत्रका प्रकाशनको संरक्षण त हुने नै छ, नयाँ पुस्तामा हाम्रो इतिहास हस्तान्तरणमा सहयोग पुग्नेछ । यसबिचमा संस्थानमा रहेका पुराना रिलहरूको धुलाइ कार्य गरी फोटो प्रदर्शनी र फोटो पुस्तक प्रकाशन गरिएको छ । 

संस्थानमा रहेका पुराना सामग्रीको संरक्षणसहित सङ्ग्रहालय निर्माण हुने क्रममा छ । उक्त सङ्ग्रहालयमा गोरखापत्र संस्थानका प्रकाशनले प्रयोग गरेका पुराना उपकरण, नेपाली मिडिया क्षेत्रमा प्रयोग भएका सामग्री तथा अवलोकनयोग्य अन्य सञ्चार सामग्री राख्ने तयारी छ । गोरखापत्र संस्थानका प्रकाशनको सन्दर्भसहित समाज र मिडिया विकासक्रमबारे अवलोकनका लागि सङ्ग्रहालयलाई महत्वपूर्ण गन्तव्य बनाउने हाम्रो प्रयास छ । 

साझेदारीमा विस्तार : संस्थानको साझेदारीलाई विस्तार गर्दै यसप्रति अपनत्व सिर्जना गर्ने प्रयास यस अवधिमा गरेका छौँ । मुलुक सङ्घात्मक गणतन्त्रलाई संस्थागत विकास गर्ने क्रममा रहेका बेला राज्यको मिडियाको जिम्मेवार भूमिका गोरखापत्र संस्थानले आफ्ना प्रकाशनमार्फत गरिरहेको छ । यस क्रममा हाम्रा प्रकाशन सामग्रीको सुधारका साथै त्यसमा विविधता ल्याउने कोसिस गरिएको छ । राज्यका तीन तहको शासकीय शक्तिको अभ्यासलाई शिरोपर गर्दै तीन तहकै सरकारको गोरखापत्र संस्थान बनाउने गरी साझेदारी तथा समन्वय गरिरहेका छौँ । प्रकाशन सामग्रीमा सबै तह र प्रदेशका विषयलाई समाचारीय मूल्य र पत्रकारिताको सिद्धान्तमा आधारित रहेर प्रकाशन गर्ने गरेका छौँ भने अन्य प्रत्यक्ष व्यावसायिक तथा संस्थागत क्रियाकलापमार्फत साझेदारी विस्तार गरिएको छ । संस्थानको व्यावसायिक प्रवर्धन, व्यवस्थापकीय सुधार, क्षमता विकास, पहुँच विस्तार तथा प्रकाशित सामग्रीको प्रभावकारिताका लागि विभिन्न  निकायसँगको विधिसम्मत साझेदारीको सुरुवात गरिएको छ । 


अब थप रूपान्तरण जरुरी 

पत्रकारिताको विश्व परिवेश फेरिँदै गएको छ । हिजो सूचना र सञ्चारका लागि भनिएका पत्रकारिताका माध्यम अब कस्तो हुने ? कुन स्वरूपमा अगाडि बढ्ने भन्ने प्रश्न आफैँमा जबरजस्त छ । यस्तै सरकारी सञ्चार माध्यम रहन हुने या नहुनेमा पनि ठुलो बहस छ । यस्तो अवस्थामा गोरखापत्र संस्थानलाई कस्तो बनाउने भन्ने प्रश्न अहम् छ । मिडियाको बदलिएको आयामबिच यसको ‘लिगेसी’ जोगाएर समयानुकूल रूपान्तरण गर्नेतर्फ संवेदनशील हुनुपर्ने बेला भएको छ । 

सरकारी सञ्चार माध्यम र संस्थानको परम्परागत परिचयलाई राज्यको सञ्चारगृहमा रूपान्तरण गर्न सके यसको व्यावसायिक वैधतामा प्रश्न उठ्ने ठाउँ रहने थिएन । त्यसका लागि नीतिगत व्यवस्था तदनुसारको बनाउन राजनीतिक इच्छाशक्ति अपरिहार्य छ । यसको मतलब यो स्वतन्त्र वा स्वायत्त छैन भन्ने होइन तर नियन्त्रणमुखी सोच र अभ्यासबाट अछुतो नरहेको कुरा विभिन्न कालखण्डले पुष्टि गरेकै विषय हुन् । 

सन्दर्भ यस कारणले पनि महत्वपूर्ण छ कि लामो इतिहास र विरासत भएका ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’ लाई समायोजन गरी PSB बनाइएको छ । PSB फगत मिडिया सञ्चालन र व्यवस्थापनको एक विधि मात्रै होइन, यो सुदृढ लोकतान्त्रिक व्यवस्थाको सूचक पनि हो । यही व्यवस्थाभित्र मिडिया सञ्चालनको दोहोरो मानकलाई हटाउँदै गोरखापत्र संस्थानका प्रकाशनलाई सम्पूर्ण रूपमा राज्यका प्रकाशन हुने व्यवस्थाबारे सोच्नुपर्ने समय आएको छ । राज्यको दृष्टिकोण र नागरिकका आवाज बोल्ने सञ्चार माध्यमका रूपमा विश्वास आर्जन गर्ने बेला भएको छ ।  सूचनाका साधन धेरै भए तर विश्वसनीय, सही सूचनाको अभावले समाज ग्रसित रहेका बेला गोरखापत्र संस्थानका प्रकाशनको समयानुकूल रूपान्तरण आजको निःसर्त आवश्यकता हो । सम्पूर्ण रूपमा राज्यको वा सार्वजनिक मिडिया भएको कानुनी आधार, दिगो आर्थिक स्रोतको सुनिश्चितताले गोरखापत्र संस्थान र यसका प्रकाशनलाई स्वतन्त्र, व्यावसायिक एवं दिगो भविष्ययुक्त बनाउने देखिन्छ । 

लेखक गोरखापत्र संस्थानको महाप्रबन्धक हुनुहुन्छ । 

प्रस्तुत आलेख ‘जुगमाथिको ‘दस्ताबेज’ ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।

Author
लालबहादुर ऐरी

उहाँ गोरखापत्र संस्थानका महाप्रबन्धक हुनुहुन्छ ।

लेखक बाट थप