गोरखापत्र प्रकाशन शुभारम्भको १२५ औँ वर्षमा यात्रा गरिरहेको छ । गोरखापत्र जस्तो लामो र अविच्छिन्न इतिहास बनाएको सार्वजनिक संस्था सायद कमै होलान् । सार्वजनिक संस्था सुरु र बन्द हुने क्रम हाम्रो परम्परा जस्तै बनेको छ । १२५ वर्षको विरासत बोकेको गोरखापत्र संस्थानले इतिहासको निरन्तरतालाई मात्रै पनि धानेको छैन, यसका विधागत प्रकाशन र तिनको समाजमा विशिष्ट योगदान र छुट्टै पहिचान छ ।
नेपालको पत्रकारितालाई आमसञ्चारको सांसारिक विकासभन्दा निरपेक्ष रूपमा हेरिनु सान्दर्भिक हुँदैन । पत्रकारिताको अभ्यास र संस्थागत आकारलाई पनि विश्व राजनीतिक प्रणाली, रूपान्तरण तथा विकासभन्दा पर राखेर बनाइने दृष्टिकोण अपूर्ण हुन्छ ।