• ६ साउन २०८२, मङ्गलबार

एक वर्षमा दस करोडभन्दा बढीको अवैध सामान बरामद

blog

चोरी पैठारी गरी भारतबाट ल्याउँदै गर्दा सशस्त्र प्रहरीले बरामद गरेको अवैध सामान । फाइल तस्बिर

सिराज खान
नेपालगन्ज, साउन ६ गते ।
भारतसँग जोडिएको बाँकेमा सशस्त्र प्रहरीले एक वर्षको अवधीमा भारतबाट भन्सार राजस्व छलेर भित्र्याइएको दस करोड रुपियाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले आर्थिक वर्ष २०८१–२०८२ मा दस करोड रुपियाँभन्दा बढीको अवैध सामान बरामद गरेको सो गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८१–०८२ को अन्तिमसम्ममा भारतबाट चोरी तस्करी गरेर ल्याइएको दस करोड १६ लाख ४५ हजार ४६८ रुपियाँ बराबरको अवैध सामान बरामद गरिएको छ ।

सोही क्रममा अवैध सामान ओसार्ने ४४ जना व्यक्ति, तीन वटा गाडी, ३८ वटा मोटरसाइकल, पाँच वटा अटो रिक्सालाई पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।   

राजस्व छली गरी, चोरी पैठारी गरी भारतबाट नेपालमा ल्याइएका विभिन्न सामान बरामद गरेर भन्सार, राजस्व अनुसन्धान, स्थानीय तह र पशु प्लान्ट क्वारेन्टाईन कार्यालयहरुमा बुझाएको उहाँले जनाउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका अनुसार आर्थिक वर्ष २०८१–०८२ को अन्तिमसम्ममा सशस्त्र प्रहरीले नौ करोड ४१ लाख ३४ हजार ३४४ रुपियाँ बराबरको भन्सार छली गरेर ल्याइएको अवैध सामान, छ लाख ८८ हजार ७३० रुपियाँ बराबरको अवैध काठ, ५८ लाख दस हजार २६९ रुपियाँ मूल्य बराबरको बोइलर कुखुरा, माछा, दुध, अण्डा र चल्ला तथा दस लाख १२ हजार १२५ रुपियाँ नगद बरामद गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक खनालले अवैध सामान र नगदलाई नेपालगन्ज भन्सार र कोहलपुरमा रहेको राजस्व अनुसन्धानमा बुझाइएको जनाउँदै अवैध काठलाई डिभिजन वन कार्यालयमा र बोइलर कुखुरा, माछा मासु र अण्डालाई पशु क्वारेन्टाइन कार्यालयमा बुझाइएको बताउनुभयो ।

खुला सीमानाका कारण भारतबाट दैनिकजसो विभिन्न प्रकारका अवैध सामानहरु भित्रिने गरेको जनाउँदै मुख्य नाकामा प्रहरीको कडाई र साइड नाकाहरुमा गरिएको कडा निगरानीका कारण दैनिकजसो अवैध सामान बरामद हुँदै आएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरीले जनाएको छ ।

सो गणका प्रमुख गणपति शसस्त्र प्रहरी उपरीक्षक खनालले नाकामा रहेको सबैजसो बिओपीहरुमा अत्यधिक कडाई गरिएकोले ठुलो परिमाणमा अवैध सामान पक्राउ गर्न सफल भएको बताउनुभयो ।