देवराम यादव
सप्तरी, साउन ६ गते । लागुऔषध कारोबारमा संलग्न रहेको आरापमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले राजविराज नगरपालिका–७ घर भएका ५३ वर्षीय नारायणबहादुर कार्कीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले कार्कीको घरमा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषधसहित नगद रकमसमेत बरामद गरिएको छ ।
कार्कीको घरमा जस्ताले छाएको टहराभित्र लुकाई राखिएको अवस्थामा स्पास्मो प्रोक्सिभन प्लस ३८२ क्याप्सुल, निट्राजेपाम ट्याब्लेट १४९ थान, निट्राभेट–१० ट्याब्लेट १५४ थान, मोबाइल फोन १३ थान, नेपाली रुपियाँ दुई लाख ५० हजार ५१०, भारतीय रुपियाँ ६ हजार ३३० र गाँजाको ७९ वटा पुडिया (कुल तौल ३११ ग्राम) बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
यही साउन २ गते पक्राउ परेका कार्कीलाई लागुऔषधसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार प्रस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।