सुर्खेत समाचारदाता
सुर्खेत, साउन ६ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत बर्सेनि डेङ्गु सङ्क्रमणका कारण पिरोलिँदै आएको छ । गत वर्ष सुर्खेतमा एक हजार ८३३ जना डेङ्गु सङ्क्रमित भएकामध्ये चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा डेङ्गु सङ्क्रमित एक हजार ८३३ जनामा सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिकाभित्रका एक हजार ४१६ जना सङ्क्रमित रहेका छन् । त्यसपछि गुर्भाकोट नगरपालिकामा १४३ जना, पञ्चपुरी नगरपालिकामा १३५ जना, लेकबेँसी नगरपालिकामा ३८ जना, भेरीगङ्गा नगरपालिकामा २९ जना, बराहताल गाउँपालिकामा १७ जना, चौकुने गाउँपालिकामा ११ जना, चिङ्गाड गाउँपालिकामा नौ जना र सबैभन्दा कम सिम्ता गाउँपालिकामा छ जना सङ्क्रमित फेला परेका थिए । तीमध्ये चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेङ्गु फोकल पर्सन उदय बिसीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७७/७८ मा ६३९ जना सङ्क्रमित फेला परेकोमा आव २०७८/७९ मा बढेर एक हजार ३२२ पुगेको थियो । यस्तै आव २०७९/८० मा एक हजार ४८४ जना फेला परेका थिए भने २०८०/८१ मा घटेर ५७१ जनामा झरेको कार्यालयले जनाएको छ । परीक्षणको दायरा बढ्दै जाँदा डेङ्गु सङ्क्रमणका बिरामी पनि बढ्दै गएको पाइएको उहाँले बताउनुभयो । डेङ्गु सङ्क्रमण बढ्दै जान थालेपछि सरकारले साउन महिना, डेङ्गु सचेतना महिना घोषणा गरी डेङ्गु रोकथाम र नियन्त्रणका उपाय सार्वजनिक गरेको छ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले डेङ्गुको औषधी र खोप नबनेको हुँदा व्यक्तिगत तथा सामाजिक सरसफाइ नै रोकथामको मुख्य उपाय रहेको बताउनुभयो । उहाँले खोज र नष्ट गर्ने विधि नै उपयुक्त भएकाले पानी जमेका स्थलको पानी फाल्ने, व्यक्तिगत तथा सामाजिक सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।
वर्षायाममा पानी बढी पर्ने र जम्मा हुने क्रम पनि बढ्ने हुँदा साउनदेखि असोजसम्म सङ्क्रमणको जोखिम निकै बढ्ने गर्दछ । तसर्थ पानी जम्न नदिने, लामखुट्टेको लार्भा नष्ट गर्ने विधि यो अवधिमा पनि निरन्तर जारी राख्न सके डेङ्गु सङ्क्रमणको रोकथाम सहज हुने उहाँको भनाइ छ ।