• ६ साउन २०८२, मङ्गलबार

थारू समुदायमा ‘सावन डोला’ को रौनक

blog

सावनको डोलामा रमाउँदै महिला । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, साउन ६ गते । साउन महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशका रानाथारू र कठरिया थारू समुदायमा ‘सावनको डोला’ (सावनियाँ डोला) को रौनक सुरु भएको छ । 

दुवै समुदायको बसोबास रहेका गाउँमा पूजाआजासहित विधिपूर्वक डोला राखेसँगै यसको रौनक सुरु भएको हो । रानाथारूले सावन (साउन) की डोला र कठरिया थारूले सवनियाँ डोला भन्ने गरे पनि खेल्ने र रमाउने तरिका भने मिल्दोजुल्दो छ । कैलाली, कञ्चनपुरमा बस्ने रानाथारू बस्तीमा श्रावण कृष्णपक्ष प्रतिपदाको दिन सावनकी डोला राखिएका छन् । काठको चार वटा खम्बा गाडेर त्यसको बिचमा काठकै बलियो डन्डी राखी डोला तयार पारिएको छ । डन्डीमा बलियो डोरी बाँध्ने र त्यसमा काठको फ्ल्याक राखेर गाउँका महिला सामूहिक रूपमा डोला (पिङ) खेल्ने चलन यो समुदायमा रहेको छ । 

रानाथारू समुदायमा साउन महिनामा परम्परादेखि नै डोला राख्ने र खेलेर रमाउने चलन रहेको नेपाल आदिवासी जनजाति महासङ्घ कञ्चनपुरका सचिव साहेब रानाले जानकारी दिनुभयो । उहाँका अनुसार डोलालाई सजाएर महिलाले लोकभाकामा लोकगीत गाउने र डोलामा झुल्दै (खेल्दै) रमाउने चलन रहेको छ । 

डोला खेल्ने महिलामा उत्साह थप्नका लागि पुरुषले ठुलो आवाजमा गीत गाएर रमाउने चलन छ । सावनको डोला खेल्ने र रमाउने क्रम श्रावण शुक्लपक्ष तृतीयासम्म चल्छ । तृतीयाको दिन दिदीबहिनी, दाजुभाइ र भतिजाको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै तिज व्रत बस्ने गरेको पूर्वप्रदेश सभा सदस्य मालामती रानाथारू बताउनुहुन्छ । तिजमा महिलाले डोलामा राखिएको डोरी काटेर सेलाएपछि सावनको डोलाको उत्सव समापन हुने गरेको उहाँको भनाइ छ । तिजमा सिमही, गुलगुला, पपरालगायतको परिकार खाने चलन छ । 

यसै गरी कैलालीमा बसोबास रहेको कठरिया थारू बस्तीमा पनि सावनियाँ डोला राखिएको छ । विभिन्न गाउँमा विधि, रीतिपूर्वक डोला राखेर सजाइएको स्थानीय अर्जुन कठरियाले जानकारी दिनुभयो । उहाँका अनुसार कठरिया थारू समुदायमा एक पाख अर्थात् १५ दिनसम्म सावनियाँ डोला खेल्ने र रमाउने चलन छ । साउन १३ गतेसम्म गाउँमा सावनियाँ डोला खेलिने जनाइएको छ ।