गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ६ गते । रसुवामा आएको बाढीको क्षतिबाट विभिन्न बिमा कम्पनीमा २९ करोड रुपियाँनजिक बिमा दाबी परेको छ । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपियाँ बराबर रहेको छ । गत असार २३ गते रसुवामा अविरल वर्षा तथा बाढीपहिरोले ठुलो क्षति पु¥याएको थियो । बाढीले घर, गाडी, पसललगायत अन्य धेरै भौतिक संरचनामा क्षति पुगेको थियो ।
नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न नौ निर्जीवन बिमा कम्पनीमा उक्त रकम बराबरको कुल ६३ वटा दाबी परेको हो ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।
प्राधिकरणका अनुसार दाबी पर्नेमा सर्वाधिक शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपियाँ बराबरका १० वटा रहेका छन् । यस्तै नेको इन्स्योरेन्समा पाँच करोड १२ लाख रुपियाँ बराबरका तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपियाँ बराबरका सात वटा दाबी परेका छन् ।
नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार रुपियाँ बराबरका १२ वटा, सानिमा जिआइसी इन्स्योरेन्समा ७७ लाख रुपियाँ बराबरका छ वटा, आइजिआई प्रुडेन्सियलमा ७५ लाख ५० हजार रुपियाँ बराबरका नौ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
युनाइटेड अजोड इन्स्योरेन्समा ६८ लाख बराबरका तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख बराबरका छ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख बराबरका सात वटा बिमा दाबी परेका छन् ।
प्राधिकरणका अनुसार बाढीले निजी तथा सार्वजनिक मोटरमा ठुलो सङ्ख्यामा क्षति पु¥याएको छ । सार्वजनिक मोटर बिमा अन्तर्गत कुल ३२
वटाको दुई करोड ३१ लाख ५० हजार रुपियाँ दाबी परेको छ भने मोटर बिमा निजीतर्फ ११ वटाको एक करोड १७ लाख ५० हजार रुपियाँ बराबरको दाबी परेको छ ।
यता रकमका आधारमा भने सामुद्रिक बिमा अन्तर्गत १५ करोड ७० लाख १० हजार रुपियाँ बराबरका छ वटा दाबी परेका छन् । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा पाँच करोड ५५ लाख रुपियाँ बराबरका चार वटा र सम्पत्ति बिमा अन्तर्गत चार करोड १८ लाख ५० हजार रुपियाँ बराबरका १० वटा दाबी परेका छन् ।