• १३ साउन २०८१, आइतबार

इखेनीका नागरिकहरुको निःशुल्क स्वास्थ्य जाँच

blog

इखेनीका महिलाको स्वास्थ्य परीक्षण गर्दै विशेषज्ञ चिकित्सक । तस्विरः नविन सुवेदी

नविन सुवेदी

सुर्खेत, असार ६ गते । सुर्खेतको बराहताल गाउँपालिका ६ को इखेनीमा अल्ट्रा साउण्डसहितको निःशुल्क स्वास्थ परीक्षण शिविर सम्पन्न भएको छ । गरिबी, अशिक्षा र बेरोजगारी समस्याबाट ग्रसित इखेनीका नागरिक अस्वस्थ खानपानका कारण स्वास्थ्य समस्यामा परेको थाहा पाएपछि सुर्खेत महिला जेसिजले स्वास्थ्य शिविरको आयोजना गरेको हो । 

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बराहताल गाउँपालिकाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको हो । शिविरमा जँचाउन आएका इखेनीका नागरिकका प्राय समस्या उस्ताउस्तै थिए । धेरैजसो महिला पेट दुख्ने समस्या लिएर आएका थिए भने, पुरुषमा हाडजोर्नी दुख्ने, आँखा र छालाको समस्या देखिएको छ । बालबालिकामा कुपोषण, छालाजन्य समस्या देखिएका थिए । 

उपचारमा संलग्न कर्णाली प्रदेश अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर ललितजङ्ग शाहीका अनुसार अस्वस्थ व्यक्तिगत खानपानका कारण महिलामा सेतोपानी बग्ने, तल्लो पेट दुख्ने लगायतका समस्या देखापरेको बताउनुभयो । शाहीले भन्नुभयो ‘अल्ट्रासाउण्डको सुविधा भएपछि जाँचका लागि गर्भवती महिलाले पनि सेवा लिनुभयो । ‘सामान्य रुपमा हामीले उहाँ हरुको स्कृनिङ्ग स्क्रिनिङ ग¥यौं’ उहाँले भन्नुभयो ‘उहाँहरुको पाठेघरमा पानीको मात्रा घटेको, कसैको च्यातिएको तथा गर्भवती हुने समय भएको तर बच्चा उल्टो परेका महिलालाई प्रदेश अस्पतालमा आउन सल्लाह दिएका छौं ।’ यस्तै, पाठेघर खसेका २ जनालार्ई समेत प्रदेश अस्पताल आउन सल्लाह दएको शाहीको भनाइ छ । धेरैजसो महिलाको पाठेघरमा समस्या देखिनुको कारण कम उमेरमा धेरै बच्चा जन्माउनु रहेको डा. शाहीको भनाइ छ । 

जाँचकाक्रममा महिलाले तल्लो पेट दुख्ने, पाठेघर खसेको महसुस हुनेगरेको समस्या राखेको बताउँदै शाहीले भन्नुभयो ‘हामी उहाँहरुले राख्नुभएका समस्याअनुसार जाँच्दाखेरी वास्तविकतामा भने त्यस्तो पाएनौ ।’ सानो उमेरमा विवाह गरी धेरै बच्चा जन्माउनु, खानपिन तथा सरसफाइमा ध्यान नदिनुजस्ता कारणले पाठेघरको मांसपेशी कमजोर भई त्यस्तो समस्या देखिएको शाहीको भनाइ छ । 

पिछडिएका तथा विपन्न वर्गका महिलालाई लक्षित गरी जेसिजको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन शिविर आयोजना गरिएको सुर्खेत महिला जेसिज–२०२२ की अध्यक्ष मनीषा कौशलले जानकारी दिनुभयो । अध्यक्ष कौशलले भन्नुभयो, ‘यहाँका महिला एकदमै पिछडिएका छन् । महिलालाई आफ्नो शरीरमा कुन रोग छ भन्ने पनि थाहा छैन भन्ने सुनेर हामीले शिविरको आयोजना गरेको हौं ।’ उहाँले भन्नुभयो ‘विशेषगरी महिलामा पाठेघरको समस्या देखापरेको छ । यहाँ हुने सामान्य उपचारले ठीक नभएका बिरामीलाई थप उपचारको व्यवस्था मिलाउने योजनामा छौं ।’ 

संस्थासँग आफ्नै आर्थिक स्रोत नभए पनि उपचारमा सहयोग गर्ने कौशलले प्रतिबद्धता जनाउनुभयो । अल्ट्रासाउण्डसहितको स्वास्थ्यशिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ललितजङ्ग शाही, बालरोग विशेषज्ञ डा. नवराज केसी, डा. इन्द्र थापाले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा बराहताल वडा ५, ६, ७ र ८ का करिब एकसय २० महिला र ८० जना पुरुषले स्वास्थ्यजाँच गराउनुभयो ।