राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), साउन ४ गते । स्याङ्जामा आर्थिक वर्ष २०८१-०८२ मा नयाँ थपिने भन्दा खारेज हुने व्यावसायिक फार्मको सङ्ख्या धेरै छ । यो अवधीमा चार सय ६० व्यावसायिक फार्म खारेज भएका हुन् भने तीन सय १९ वटा नयाँ फार्म थपिएका हुन् ।
खारेज हुनेमा उद्योगतर्फ दुई सय ६३ र वाणिज्य तर्फका एक सय ९७ गरी ४६० र एक सय ७७ उद्योग र वाणिज्य तर्फका १ सय ४२ गरी ३ सय १९ थपिएका हुन् ।
पछिल्लो समय व्यापार व्यवसाय आएको मन्दीसँगै व्यावसायिक फार्महरु खारेजी गर्ने क्रम बढ्दै गएको छ । खारेजी भएका व्यावसायिक फार्महरुमा कृषि तथा पशुपालन, खाजा घर, रेस्टुरेन्ट, कुटानी पिसानीका उद्योग र फेन्सी पसल रहेको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाले जनाएको छ ।
कार्यालयका अनुसार दुई सय ६३ फर्म खारेज हुँदा १ हजार बढीले रोजगारी गुमाए भने एक सय ७७ फार्म थपिँदा ७ सय बढीलाई रोजगारी सृजना भएको छ । गएको आर्थिक वर्ष नयाँ दर्ता हुनेको तुलनामा खारेज हुने फर्मको सङ्ख्यामा वृद्धि हुँदा करिब ३ सय जनाले रोजगारीबाट हात धुनु परेको छ ।
वाणिज्य तर्फका एक सय ९७ फर्म खारेज र एक सय ४२ व्यावसायिक फर्म नयाँ दर्ता हुँदा झण्डै ४० जना जनशक्ति बेरोजगार बन्नु परेको उद्योग कार्यालयले जनाएको छ । कार्यालयले व्यावसायिक तालिमसँगै अनुदानका कार्यक्रम सञ्चालन गर्दा समेत फर्म खारेजीसँगै बेरोजगार हुनेको सङ्ख्यामा वृद्धि भएकोमा कार्यालयले चिन्ता जनाएको छ ।
पछिल्लो तथ्याङ्कलाई केलाउँदा अनुदान लिन फार्म सञ्चालन गर्ने र अनुदान लिएपछि फार्म बन्द गर्ने प्रचलन मौलाउँदै गएको बताइएको छ । जिल्लामा झण्डै १३ हजार व्यावसायिक फार्महरू सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उद्योग तर्फ सात हजार र वाणिज्य तर्फका करिब छ हजार व्यावसायिक फार्ममा करिब ३५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
यस अवधिमा कार्यालयले राजश्व सङ्कलनमा भने वृद्धि गरेको छ । गएको आर्थिक वर्षमा विभिन्न शिर्षकमा ५५ लाख ५५ हजार सात सय ७० रुपियाँ राजश्व सङ्कलन गरेको कार्यालयले अघिल्लो आर्थिक वर्षमा करिब ३३ लाख मात्रै राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।