• १३ वैशाख २०८१, बिहिबार

कविता सङ्ग्रह ‘पानीका रेखा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ६  गते । मानसाग्निको ‘पानीका रेखा’ कविता सङ्ग्रहमा एकाउन्नवटा कविता समावेश छन् । कविता सङ्ग्रहले विभेद, असमानता र अन्यायका स्वरलाई उजागर गरेको छ । कविभित्र समाज परिवर्तन र विद्रोहको आगो जबसम्म हुर्हुर बल्दैन, त्यो काव्यमा परिणत हुँदैन । ऊ लाचार छ लड्न सक्दैन ।

ऊ बिथोलिएको छ, उसले आफ्नो लडाइँको योजना आफैँ बनाउँछ र कलम, मसी र कागज उसका औजार बन्छन् । यसमा भलै कविका आवाज पुग्नुपर्नेको कानमा नपुग्ला तर पुग्नुपर्ने हृदयमा भने त्यो अवश्य पुग्छ । 

मानसाग्निका ‘पानीका रेखा’ पनि यस्तै विभेद, असमानता र अन्यायको भुङ्ग्रोमा पिल्सिएर निस्किएका कविताको सङ्ग्रह हो । कविको आफ्नै चेत, विम्ब र भन्ने शैली होलान् तर ती चेत, विम्ब र शैलीले कविलाई कविताको कुञ्जमा ल्याएको छ । कविता पढ्दै गर्दा पाठकले विद्रोह र परिवर्तनका बारेमा भावहरू व्यक्त गर्न सक्छन् । 

कविले सामाजिक र वैचारिक रूपमा के के भोग्नु परिरहेको छ भन्ने सन्दर्भलाई उजागर गरेका छन् । कवितामा कविको विचार प्रस्ट छ । ‘पानीका रेखा’ मा चैतन्य मार्ग, मृत्युबोध, नेताप्रतिको असन्तुष्टि, चेतनाको विद्रोह, देश, सामाजिक अवस्था, प्रेम प्रकृति र सपनाजस्ता अहम् विषय समेटिएका छन् ।

कविभित्र परिवर्तनको सोच तीव्र छ । कविले समाज प्रकृतिलाई बुझेका छन् । कविता सङ्ग्रहमा शास्त्रीय दर्शन हुँदै समाजका कुरूप पाटोको कटाक्ष गरिएको छ । समतामूलक समाजको परिकल्पना कविले गरेका छन् । मानव र प्रकृतिबीचको सन्तुलनलाई उनले गहन ढङ्गबाट केलाउन खोजेका छन् ।

कवि आत्मचिन्तनमार्फत सोको खोजीमा होमिएका छन् । जीवन जिउने कला खोज्न उनी तल्लीन देखिन्छन् । मानसाग्निका नेपाली र हिन्दी भाषामा लेखिएका कविताको सङ्ग्रह यसअघि नै प्रकाशित भइसकेका छन् ।