सचिन पोख्रेल
इटहरी, साउन २ गते । कोशी प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयमा चिकित्सक परिचालनसम्बन्धी निर्णय विवादित बनेको छ । कानुनी प्रक्रिया मिचेर सवारीचालक अनुमतिपत्र वितरण गर्दै आएका यातायात कार्यालयले नयाँ चिकित्सक परिचालन गरेपछि विवाद चुलिएको हो ।
प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको निर्देशनमा झापाको बिर्तामोड, सुनसरीको इटहरी र मोरङको विराटनगरस्थित यातायात कार्यालयमा निःशुल्क सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिने गरिएको थियो ।
चिकित्सकको सम्झौता अवधि नटुङ्गिँदै प्रतिसेवाग्राही तीन सय रुपियाँ शुल्क लिने गरी नयाँ चिकित्सक खटाएपछि विवाद बढेको छ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाउन तथा नवीकरणका लागि आवश्यक स्वास्थ्य परीक्षणमा खटिने चिकित्सक नियुक्तिमा कानुनी प्रक्रिया उल्लङ्घन भएको आरोप हाल कार्यालयमा कार्यरत चिकित्सकले लगाइरहेका छन् ।
डा. मनिषकुमार यादवले निःशुल्क सेवाग्राहीको काम गर्ने गरी आफूले कार्यालयसँग गरेको सम्झौता २०८२ सालको भदौ मसान्तसम्म कायम रहेको बताउनुभयो । उहाँले कार्यालयले दुई महिनाअघि नै मौखिक रूपमा सेवा रोक्ने आदेश दिएको गुनासो गर्नुभएको छ । डा. यादव भन्नुहुन्छ, “सम्झौता सकिन बाँकी छ तर अपमानजनक तरिकाले हटाएर नयाँ चिकित्सकलाई खटाइएको छ ।”
कार्यालयले साउन १ गतेदेखि निःशुल्क स्वास्थ्य परीक्षण सेवा बन्द गर्दै सेवाग्राहीसँग प्रतिव्यक्ति तीन सय रुपियाँ असुल्न थालेपछि सेवाग्राहीले आक्रोश व्यक्त गरेका छन् । निःशुल्क सेवा दिँदै आएकोमा मन्त्रालयबाट आएका नयाँ चिकित्सकले पुरानो चिकित्सकले निःशुल्क सेवा दिएको अवस्था र उहाँको सम्झौता अवधि हुँदाहुँदै रकम लिन थाले पनि सेवाग्राहीले विरोध जनाएका हुन् । धरान–११ बाट लाइसेन्स नवीकरण गर्न आउनुभएका किरण राइले सेवाग्राहीलाई सुलभ र सरल ढङ्गबाट सेवा दिनुपर्नेमा कार्यालयले सेवाग्राहीलाई थप आर्थिक शोषण गर्ने गरी ल्याएको नयाँ कदमप्रति आपत्ति जनाउनुभएको छ । राईले गुनासो गर्दै भन्नुभयो, “पहिले त निःशुल्क सेवा पाइन्थ्यो, अहिले आएर पैसा तिर्नु परेको छ ।”
कार्यालय प्रमुख सतीश सत्यालले मन्त्रालयको निर्देशन अनुसार मात्र नयाँ चिकित्सक खटाइएको बताउनुभयो । सम्झौता खारेज गर्ने आधार नभए पनि मन्त्रालयको निर्णय अनुसार नयाँ चिकित्सकले प्रतिसेवाग्राही तीन सय रुपियाँ लिएर काम थालेको उहाँले स्वीकार गर्नुभयो । विवाद चर्किएसँगै बिर्तामोड यातायात व्यवस्था कार्यालयले स्वास्थ्य परीक्षण सेवा स्थगित गरेको सूचना जारी गरेको छ । कार्यालयमा कार्यरत चिकित्सक डा. नारायण सिंह ताजपुरियाले सेवा रोकिएको जानकारी पाएको बताउनुभयो । कार्यालयले सूचना जारी गर्दै आज स्वास्थ्य सेवासम्बन्धी सम्पूर्ण सेवा बन्द रहेको जानकारी आफूले पाएको उहाँको भनाइ छ ।