पोखरा समाचारदाता
पोखरा, साउन २ गते । उच्च अदालत पोखराले आर्थिक वर्ष २०८२/८३ मा ७८ प्रतिशतका दरले मुद्दा फस्र्योट गरेको छ । उच्च अदालतको तथ्याङ्क अनुसार मुद्दा फस्र्योटको दर यस वर्ष वृद्धि भएको पाइएको हो ।
एक अन्तर्क्रिया कार्यक्रममा गत आवमा फैसला हुन बाँकी रहेका कुल तीन हजार ४२० मुद्दामध्ये दुई हजार ६७० मुद्दा फस्र्योट भएको अदालतका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो । सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजना अन्तर्गत मुद्दा फस्र्योटमा तीव्रता दिइएको उहाँले बताउनुभयो ।
फस्र्योट हुन बाँकी ७५० मध्ये गत आवमा १८ महिना नाघेका १२ मुद्दा रहेकामा त्यस्ता मुद्दाको सङ्ख्या शून्यमा झरेको रजिस्ट्रार अधिकारीले बताउनुभयो । बर्सेनि पुराना मुद्दाको सङ्ख्या घट्दै आएको उहाँको भनाइ छ । अदालतमा आव २०७७/७८ मा १२१, २०७८/७९ मा ६३ र २०७९/८० मा १७ मुद्दा १८ महिना नाघेका थिए । फस्र्योट हुन बाँकी ७५० मुद्दामध्ये सरल प्रकृतिका ५३४, सामान्य प्रकृतिका १८६ र विशेष प्रकृतिका ३० मुद्दा रहेको रजिस्ट्रार अधिकारीले बताउनुभयो ।
अन्तर्क्रियाका क्रममा सर्वोच्च अदालतको ६५ प्रतिशत मुद्दा फस्र्योटको लक्ष्य तोके पनि त्योभन्दा बढी ७८.०७ प्रतिशत मुद्दा फस्र्योट भएको उहाँको भनाइ छ । रजिस्ट्रार अधिकारीले भन्नुभयो, “यस वर्ष अनुमानित लक्ष्यभन्दा बढी प्रतिशतले मुद्दाको फस्र्योट भएको छ ।” पुराना एक हजार ५९०, नयाँ दर्ता हुने अनुमान गरिएका दुई हजार १९३ मुद्दा फस्र्योट गर्ने लक्ष्य लिइएकोमा दुई हजार ६७० मुद्दा फस्र्योट भएको उच्च अदालतले जनाएको छ ।
उच्च अदालत पोखरामा एक हजार ८३० नयाँ मुद्दा दर्ता भएपछि मुद्दाको अनुमानित सङ्ख्या तीन हजार ७८३ बाट घटेर जम्मा तीन हजार ४२० मा आएको थियो । उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर वागचन्दले छरितो र चुस्त कार्यसम्पादनका कारण मुद्दा फस्र्योटमा उल्लेख्य सुधार आएको बताउनुभयो । उहाँले न्यायालयप्रति जनआस्था र विश्वास वृद्धि गर्ने गरी अदालतले काम गरिरहेको उल्लेख गर्नुभयो । सीमित स्रोतसाधन भएर पनि न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै न्यायमा सबैको पहुँच अभिवृद्धिका लागि आफूहरू लागिपरेको मुख्य न्यायाधीश डा. वागचन्दले बताउनुभयो ।
उहाँले न्यायालयप्रतिको जनआस्था बचाइरहन प्रेसले सत्यतथ्य र यथार्थमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उच्च अदालतले मुद्दाका मिसिलको विद्युतीय अभिलेख राख्ने कामलाई पनि अगाडि बढाएको छ । चालु आवमा दुई हजार ८७० मिसिलको विद्युतीय अभिलेख तयार पारिएको जनाइएको छ ।