• २ साउन २०८२, शुक्रबार

गरियो मानव जातिको उन्नतिको कामना

blog

रामकृष्ण बोहरा

बागलुङ, साउन २ गते । पश्चिम बागलुङको ताराखोला गाउँपालिकामा मगर समुदायको बसोबास बाक्लो छ । यहाँको मगर समुदायले असारको काम सकेर मानव जातिको उन्नतिको कामना गर्दै असारे वा साउनेसङ्क्रान्ति पर्व धुमधामले मनाउने परापूर्वकालदेखिको परम्परा अझै जीवित छ । 

ताराखोला गाउँपालिका–४ र ५ का मगरहरूले आफ्नो बस्ती बसाइको मूल थलो तारागाउँमा प्रत्येक वर्ष ‘असारे पर्व’ मनाउँदै आएको ताराखोलाका झकबहादुर घर्ती बताउनुहुन्छ । घर्तीले भन्नुभयो “वर्षायामको कृषिकर्म सकेर ‘असारे पर्व’ मनाइन्छ । यस पर्वमा मुखियाको घरमा जमरा राखेपछि अन्य घरमा पनि जमरा राख्ने प्रचलन छ ।” 

परापूर्वकालमा बालबालिकाको मृत्यु हुने गरेकाले धामीझाँक्रीलाई देखाउँदा ढुङ्गामा देवताको बास भएको र त्यस ढुङ्गामा राँगाको बलि दिई पूजा गरेपछि बालबालिकाको मृत्यु हुन छोडेको जनविश्वासका आधारमा पूजा गर्ने प्रचलन रहेको संस्कृतिकर्मी देवीलाल घर्तीले बताउनुभयो । 

हावापानीले बाली नष्ट नगर्ने विश्वासका साथ तारागाउँमा असारमै ‘असारे पर्व’ मनाउने प्रचलन छ । ‘असारे पर्व’ मनाउन एक साताअघिदेखि जमरा राख्ने गरिन्छ । त्यसपछि वर्षायामको खेतीकिसानी सक्ने वा काम नसकिए कामै रोकेर ताराखोला–४ र ५ का मगर परिवार भेला भएर अर्घासी मगरको मूल अधीनमा रही तारागाउँमा बुढापाकाले देवताको प्रतीक ढुङ्गामा राँगाको बलि दिएर जमरा र अक्षताले पुज्ने गर्छन् । 

तन्नेरीहरूले पिङ लगाउने गर्छन् । पिङ लगाइसकेपछि महिलाले खाजा तयार गर्छन् । बुढापाकाले पिङमा जमरा र अक्षता चढाउँछन् । मुलीले पिङ खेलेपछि मात्र अन्यले पिङ खेल्छन् । खाजा खाँदै बुढापाका र तरुनीतन्नेरी स्थानीय झ्याउरे, असारे गीतमा नाचगान गरेर रमाइलो गर्छन् । बलि दिएको राँगाको मासु देवतालाई चढाउने र सामूहिक भोजन गरेपछि ‘असारे पर्व’ विधिवत् रूपमा सम्पन्न हुने संस्कृतिकर्मी घर्तीको भनाइ छ । 

‘असारे पर्व’ सम्पन्न भए पनि त्यसको संवर्धन, विकास र संस्कृति संरक्षणसंँगै खेलकुद र कलासंस्कृतिको विकास गर्ने उद्देश्यले तारागाउँको करिमेलामा असारे युवा क्लबको आयोजनामा खेलकुद र सांस्कृतिक कार्यक्रम सुरु हुन्छ ।