काठमाडौँ, असार ३१ गते । मणिराज पौडेलको जन्म २०२९ साल असोज ४ गते एक जजमानी परिवारमा भयो । साविक काठमाडौँ डाँचे तथा हाल कागेश्वरी मनोहरा नगरपालिकामा जन्मनुभएका उहाँको जीवन सङ्घर्ष सामान्यभन्दा फरक छ ।
करियरको सुरुवाती दिनमा भाँडा माँझ्न काठमाडौँका विभिन्न कार्यालयमा उहाँले निवेदन दिनुभयो । दुर्भाग्य, त्यसका लागिसमेत अयोग्य ठहरिनुहुन्थ्यो ।उहाँले श्री आदर्श माध्यमिक विद्यालय, भद्रवासबाट २०४६ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो ।
दिनहुँजसो साथीभाइबाट हुने अपमानजनक दुर्व्यवहारका कारण उहाँलाई विद्यालय जानै नपरोस् जस्तो पनि लाग्थ्यो ।
ती दिन सम्झिँदै उहाँ भन्नुहुन्छ, “विद्यालय जान अब कति दिन बाँकी छ भनेर म गन्ने गर्थें ।”
“घरको ढोकाबाट बाहिर निस्केदेखि नै मलाई अपमानले लखेटेजस्तो लाग्छ । राति घरभित्र फर्केपछि मात्रै मन शान्त हुन्छ”, उहाँ आफ्नो दुःख सुनाउनुहुन्छ ।
यी विविध चुनौतीसँग नै मित्रता गाँसेर आफू सफलतातिर लम्किरहेको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “यो सौन्दर्यरूपी सहरमा मैले कुरूपतासँग नै मित्रता गाँसेँ । कुरूपताले मेरो मनसँग मित्रता गर्छ । बस यही सूत्रले मलाई यहाँसम्म पुर्याएको हो ।” हाल उहाँ अफिनको कार्यकारी प्रमुख पदमा कार्यरत हुनुहुन्छ ।
जीवन सङ्घर्षका सम्बन्धमा गोरखापत्र अनलाइनका लागि मणिराज पौडेलसँग गरिएको भिडियो संवाद :