• १७ असार २०८१, सोमबार

मर्स्याङ्दी कोरिडोरको अवरोध हट्यो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ५ गते । स्थानीय अवरोध हटेपछि मर्स्याङ्दी  कोरिडोरको उदिपुरदेखि मध्यमर्स्याङ्दी  स्विचयार्डसम्मको प्रसारण लाइन अब एक महिनाभित्र तयार हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय विवाद समाधान गरी दोर्दी कोरिडोरका आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा ल्याउन लागेको हो ।

करिब छ किलोमिटर क्षेत्रमा तार तान्न बाँकी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार एक महिनामा दोर्दी कोरिडोरमा अब राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना र लिवर्टी इनर्जीको अपर दोर्दी ‘ए’को २५ मेगावाटसहित ६० मेगावाट विद्युत् अब प्रसारण लाइनमा आउने घिसिङले जानकारी दिनुभयो । 

लमजुङको दोर्दी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्युत् दोर्दी कोरिडोर प्रसारण लाइनमार्फत उदिपुर सबस्टेसनमा जोडिन्छ । उदिपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि दोर्दी खोलाका आयोजनाको विद्युत् वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी  विद्युतगृहको स्विचयार्डमा जोड्ने व्यवस्था गरिएको छ । दोर्दी ‘ए’को विद्युत् ल्याउन दोर्दीको कीर्तिपुरबाट उदिपुरसम्म ल्याउन भने अझै समस्या छ । गत वर्षको बाढीले बगाएका प्रसारण लाइनका दुईवटा पोल ठड्याउन अझै बाँकी छ । 

मर्स्याङ्दी  कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका चारवटा सबस्टेसनको निर्माण धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदिपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसन निर्माण भइरहेको छ । खुदी सबस्टेसन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसनको निर्माण सुरु भएको छ । भौगोलिक रूपमा विकट ठाउँमा रहेकाले धारापानी सबस्टेसनको निर्माणमा केही समय लाग्नेछ । 

नयाँ भरतपुर र उदिपुर सबस्टेसनमा क्रमशः २२०-१३२ केभी, ३२० एमभीए र २२०-१३२ केभी, १६० एमभीए तथा १३२-३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मर रहने छन् । दुवै सबस्टेसनका मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने उपकरणहरूको जडान भइरहेको छ । खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०-१३२ केभी, १६० एमभीए तथा १३२-३३ केभी, ५० एमभीए र २२०-१३२ केभी, १०० एमभीए तथा १३२-३३ केभी, ३० एमभीए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् । खुदी सबस्टेसनको मुख्य सिभिल संरचना निर्माणाधीन छन् ।  

मर्स्याङ्दी  र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी  कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ । 

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपियाँ छ ।