• १७ असार २०८१, सोमबार

दमकमा फोहोरबाटै ग्यास

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार ५ गते । झापाको दमकमा फोहोरबाट ऊर्जा (ग्यास) उत्पादनको सफल परीक्षण भएको छ । दमकको फोहोर व्यवस्थापनसहित ग्यास उत्पादनको जिम्मा पाएको नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार शुक्रबार साँझ यहाँ उत्पादन भएको ग्यास बालेर पहिलो परीक्षण गरिएको हो । दमकबाट नियमित निस्कने फोहोरबाट ग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले २० करोडभन्दा बढीको लागत परियोजनामा चार वर्षअघि काम सुरु भएको थियो ।

फोहोरबाट ऊर्जा उत्पादन कार्यक्रमअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने लक्ष्य नजिक पुगेको खतिवडाले बताउनुभयो तर उत्पादनपछि बजारीकरणको चिन्ता सुरु भएको उहाँको भनाइ छ । “ग्यास त उत्पादन सुरु भयो तर यसको बिक्रीको समस्या छ,” उहाँले भन्नुभयो । 

दमक–३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रको हाताभित्र रतुवा खोला किनारमा फाहोर प्रशोधन केन्द्रसहितको ऊर्जा उत्पादनका लागि आवश्यक संरचना स्थापना भइसकेको छ । नेक्स्टइरा इनर्जीका अध्यक्ष युवराज घिमिरेका अनुसार २०७६ साल माघ १० गते निर्माणका लागि सम्झौता भएर सोही वर्षको चैतदेखि काम सुरु भएको थियो ।

कुल २० करोड ५९ लाख रुपियाँको लागत सम्झौतामध्ये पाँच करोड ८८ लाख रुपियाँको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी रहेको छ । कम्पनी आफैँले १४ करोड ७० लाख रुपियाँ लगानी गरेको छ । परियोजनाको अवधि उत्पादन भएको मितिले २० वर्ष रहेको छ । 

कुहिएको फोहोरबाट मिथेन बायोग्यास उत्पादन हुने र उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप वा सिलिन्डरमार्फत वितरण गरिएको छ । यो परियोजनाबाट दैनिक करिब एक हजार ८४ किलोग्राम बायोग्यास उत्पादन गर्न सकिन्छ । ग्यासका साथै अहिलेको अवस्थामा दैनिक १० हजार किलोग्राम प्राङ्गारिक मल र सरदरमा सात हजार पाँच सय लिटर झोल मल उत्पादन गर्न सकिने पनि घिमिरेले जानकारी दिनुभयो । 

दमक नगरपालिकाको वातवरण तथा सरसफाइ शाखाका अनुसार दमक क्षेत्रमा दैनिकजसो १५ देखि २० टन फोहोर उत्पादन हुने गरेको छ । यसको करिब ७५ प्रतिशतमात्र सङ्कलन हुने गरेको छ । यसमा ६६.५२ प्रतिशत जैविक फोहोर रहेको छ ।