• १७ असार २०८१, सोमबार

खाली हुँदै वृद्धाश्रम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ५ गते । विगतमा भनसुनका साथ भर्ना गर्नुपर्ने पशुपतिस्थित सरकारी वृद्धाश्रममा अहिले सिट खाली छ । २३० जनाको दरबन्दी रहेको आश्रममा विगतमा तीन सय जनासम्म भर्ना भएका र अहिले ९९ जना मात्र आश्रममा छन् । तीमध्ये ६१ जना महिला छन् । अहिले १३१ जनाको सिट खाली छ । 

वृद्वाश्रम कार्यालयका प्रमुख ओमप्रसाद पाण्डेका अनुसार मुलुकमा सङ्घीयता लागू भएयता स्थानीय तहबाटै ज्येष्ठ नागरिकको घरेलु र सामाजिक समस्या समाधान गर्ने गरिएकोले पशुपतिस्थित वृद्वाश्रममा दरबन्दीअनुसार ज्येष्ठ नागरिक भर्ना नभएका हुन् । 

यो नेपालको एक मात्र सरकारी वृद्वाश्रम हो । तत्कालीन राजा सुरेन्द्रविक्रम शाहले १९३८ सालमा स्थापना गरेको यो वृद्वाश्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत छ । सोह्रखुट्टेस्थित (ओल्ड एज होम) की सुपरिन्टेन्डेन्ट प्रभा सिटौलाका अनुसार होममा पनि दरबन्दीअनुसार ज्येष्ठ नागरिक छैनन्, केही सिट खाली छ । 

ज्यापू समाज ललितपुरले निर्माण गरेको ज्येष्ठ नागरिक भवनमा पनि ज्येष्ठ नागरिक भर्ना भएका छैनन् । केही अन्य व्यवस्था मिलाउन बाँकी रहेको समाजले जनाएको छ ।जानकारका अनुसार शङ्खमूलमा सरकारले बनाएको वृद्वाश्रम भवन वृद्वाश्रमको स्वरूपमा प्रयोग नभएको दुई दशक भइसकेको छ । 

वृद्धाश्रम कार्यालय प्रमुख पाण्डेले गाउँपालिकामा उपाध्यक्षको संयोजकत्व र महानगर तथा नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा घरेलु विवाद समस्या निरूपण गर्ने न्यायिक समिति सक्रिय रहेकोले वृद्धाश्रममा ज्येष्ठ नागरिक आश्रयका लागि आउन नपरेको बताउनुभयो । 

ज्येष्ठ नागरिकलाई परिवार र समाजमा सम्मानका साथ राख्नुपर्छ भन्ने धार्मिक सनातन चेतना प्रवाहका कारण पनि वृद्धाश्रममा ज्येष्ठ नागरिक नआइपुगेको गौरीघाटस्थित सोमसरला वेद विद्याश्रमका प्रमुख योग प्रशिक्षक केशवप्रसाद अधिकारीले बताउनुभयो । उहाँले कतिपय ज्येष्ठ नागरिक योग अभ्यासका कारण पनि स्वस्थ रहेको र वृद्धाश्रममा रहनु नै पर्ने अवस्था नभएको बताउनुभयो ।