• २६ असार २०८२, बिहिबार

प्याराग्लाइडिङमा एकल उडान खुला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २६ गते । पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि बन्द भएको प्याराग्लाइडिङको सोलो (एकल) उडान पुनः खुला गरिएको छ । पाइलटले तोकिएको क्षेत्रभन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै झन्डै तीन वर्षदेखि रोकिएको एकल उडान नयाँ कार्यविधि बनाएर पुनः खुला गरिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्याराग्लाइडिङको एकल उडानमार्फत देशको पर्यटन प्रवर्धनमा विकास गर्ने उद्देश्यसहित नयाँ कार्यविधि बनाएर उडान खुला गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “२०७९ असोज ३० गते नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्ट अन्तर्गत खेलका दौरान भएको दुर्घटनापछि एकल उडान बन्द गरिएको थियो । अहिले व्यवस्थित उडान कार्यविधि अपनाएर एकल उडानका लागि खुला गरिएको हो ।” लगातार दुई दिनमा दुई दुर्घटना भएपछि प्राधिकरणले प्याराग्लाइडिङका सबैखाले उडानमा रोक लगाएको थियो ।  केही समयपछाडि व्यावसायिक (टेन्डम) उडान भने खुलाइए पनि एकल उडानका लागि ठाउँ नभएको भन्दै प्राधिकरणले उडान रोक्दै आएको थियो । करिब दुई दशकअघिदेखि सुरु भएको पोखरामा सोलो उडान निश्चित मापदण्डका आधारमा पुनः खुला गरिएको भुलले जानकारी दिनुभयो ।

प्राधिकरण तोकेको निश्चित उचाइ र दुरी (बक्स) भित्र रहेर प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) को जिम्मामा रहेको प्याराग्लाइडिङ क्षेत्रभित्रै रहने गरी संस्थाकै प्रत्यक्ष निगरानी तथा सुपरिवेक्षणमा सोलो उडान खुला गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार कार्यविधिमा तोकिएको प्याराग्लाइडिङ क्षेत्रबाहेक अन्यत्र उड्न नपाउने गरी कडाइ गरिएको छ । त्यस्तै मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) चेकजाँच गराउनुपर्ने भएको छ । हाल पाइलटको स्वास्थ्य परीक्षण पाँच वर्षमा एक पटक अनिवार्य गराए पनि उडानअघि अनिवार्य रूपमा मापसे र लापसे चेक गराउने गरिएको थिएन । अब उडानमा सहभागी हुनुअघि अनिवार्य मादक पदार्थ सेवन र लागुपदार्थ सेवन परीक्षण हुने प्राधिकरणले जनाएको छ । हाल देशभर ९० वटा प्याराग्लाइडिङ कम्पनी दर्ता रहेका छन् । जसमध्ये ६५ वटा कम्पनीले उडान सेवा दिँदै आएका छन् । उडान सेवामा रहेका कम्पनीमध्ये ५२ वटा कम्पनी पोखरामा रहेका छन् ।

पोखरामा रहेका कम्पनीमा एक अर्ब रुपियाँ हाराहारी लगानी छ । देशभर तीन सयभन्दा बढी प्याराग्लाइडिङ पाइलटले लाइसेन्स लिएकोमा विभिन्न कम्पनीमा २५८ प्यारापाइलटले काम गरिरहेका छन् ।