• ११ पुस २०८१, बिहिबार

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौं: प्रधानमन्त्री

blog

धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर: अविनाश चौधरी

धनगढी, असार ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाइने बताउनुभएको छ । 

धनगढी उमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको शनिबार विहान उद्घाटन गर्नुहुँदै उहाँले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउने बताउनु भएको हो । ‘गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग आउँदा खुशी लागेको छ’, उहाँले भन्नुभयो । ‘मन्त्रिपरिषद्बाट निर्णय गरी आवश्यक ऐन, कार्यविधि बनाएर यसलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौं ।’ कैलालीको गोदावरी नगरपालिकास्थित गेटामा सो कलेजको भौतिक संरचना बनेको छ । 

यसैगरी, सुदूरपश्चिम प्रदेशमा अहिले धेरै विकास भइसकेको र अझ धेरै गर्न बाँकी रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘पहिले केही थिएन । म एसएलसी दिइसकेपछि डडेल्धुराबाट धनगढी आउँदा केही थिएन । गौरीफन्टा नाका हुँदै मैलानी–लखनऊ–रक्सौलसम्म रेल चढेर त्यसपछि बसमा काठमाण्डौं पुगेको हुँ’, उहाँले भन्नुभयो । ‘अहिले हरेक दिन हवाईजहाज चलिरहेको छ । धनगढीबाट सिधै काठमाण्डौं पुग्न सकिन्छ ।’ 

प्रधानमन्त्री देउवाले सबैकाे सहकार्यमा मात्रै मुलुकमा विकासको काम सम्भव हुने उल्लेख गर्नुभयो । ‘कर्मचारी, प्रहरी सबैको सहयोग नहुँदासम्म केही पनि गर्न सकिन्न’, उहाँले भन्नुभयो । 

सोही अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजनाको काम चाँडै अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । यसैगरी, महाकाली कोरीडोर, खुटिया–दिपायल र सेती लोकमार्ग गरेर तीन वटै फाष्ट ट्रयाकलाई पनि प्राथमिकता दिन आग्रह गर्नु भएको छ । 

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले गौरीफन्टा नाकालाई कैलालीको मातहतमा गर्न, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो । 

सात कारोड २३ लाख ४५ हजार रुपियाँ लगानीमा धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन निर्माण गरिएको हो ।  


Author

कृतबहादुर विष्ट/अविनाश चौधरी