• ८ जेठ २०८१, मङ्गलबार

खाद्य सुरक्षामा ध्यान दिन आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ असार ४ गते ।  खाद्य सुरक्षा तथा स्वच्छताका लागि विभिन्न निकाय भए पनि उपभोक्ताले ढुक्क भएर कुनै खानेकुरा खाने अवस्था नरहेको सरोकारवालाले बताएका छन् । पानी, फलफूल, दूध, तरकारी, माछा, मासुलगायत वस्तु निर्धक्क भएर खाने अवस्था नरहेकाले त्यसका लागि थप काम गर्नुपर्ने उनीहरुले बताएका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले कुनै पनि खानेकुरा ढुक्क भएर खाने अवस्था नरहेकाले त्यसको अनुगमन तथा कारबाहीलाई कडाइका साथ कार्यान्वयनमा ल्याउनुपर्ने सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६ को कार्यान्वयन र कार्ययोजना विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार आयोजना गरेको गोष्ठीमा उहाँले पानी, दूध, फलफूल, तरकारी, माछा, मासुको सुरक्षा तथा स्वच्छतामा विशेष ध्यान दिन निर्देशन दिनुभएको हो । पानी, तेल, दूध, तरकारी, माछा, मासु, फलफूलको निरन्तर निगरानी र अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो । 

खाद्यविज्ञ डा. जीवनप्रभा लामाले खाद्य स्वच्छताका लागि प्राधिकरण गठन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ कुन वस्तुको जाँच वा अनुगमन कसले गर्ने सुनिश्चित छैन । एउटै वस्तुको विभिन्न निकायबाट जाँच भइरहेका हुन्छन् र त्यसको नतिजा पनि फरकफरक आइरहेको हुनाले वस्तुअनुसार कसले जाँच वा अनुगमन गर्ने त्यो छुट्याइदिनुपर्छ ।” 

राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६ कार्यान्वयनमा आइसकेको तर त्यसको ऐन संसद्मा विचाराधीन रहेका कारण यस क्षेत्रमा गर्नुपर्ने कार्य नभइरहेको विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीले बताउनुभयो । 

संविधानमा रहेका मौलिक हकको कार्यान्वयनका लागि उपभोक्तालाई स्तरयुक्त खाद्यवस्तुको उपलब्धता सुनिश्चित गर्न आवश्यक भएको चर्चा गर्दै उहाँले राज्यको नीति कार्यान्वयन गर्ने सुनिश्चितताका लागि सरकारका तीनै तहमा खाद्य स्वच्छता तथा गुणस्तर नियमन कार्य गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले यसरी खाद्य स्वच्छता तथा गुणस्तरका समस्याका कारण जनमानसमा पर्ने नकारात्मक असरले राष्ट्रिय अर्थतन्त्र र व्यापारमा प्रभाव पर्ने हुँदा खाद्य स्वच्छताको महत्वलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६ को हालको अवस्थाबारेमा विभागका प्रवक्ता मोहनकृष्ण महर्जन र नेपालको खाद्य नीतिमा अन्तर्राष्ट्रिय खाद्य स्वच्छताको प्रभावबारे खाद्यविज्ञ डा. देवभक्त शाक्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।